कलेजो स्वस्थ राख्न मद्दत पुर्‍याउने प्रमुख पाँच पेय पदार्थ « Nagarik Khabar

कलेजो स्वस्थ राख्न मद्दत पुर्‍याउने प्रमुख पाँच पेय पदार्थ



काठमाडौं । हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगमध्येको एक कलेजोका बिरामी नेपालमा बढ्न थालेका छन् । खानपानले मात्र नभएर हाम्रो वातावरणका कारण पनि कलेजोमा विभिन्न प्रकारका समस्या आउने गरेको छ । नेपालमा पछिल्लो समय फ्याट्टी लिभरको समस्या बढिरहेको चिकित्सकहरुले बताएका छन् ।

कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कलेजो ढाड भएका जनावरहरुमा मात्र पाइन्छ । कलेजोले शरीरमा भएको विषादी हटाउने, प्रोटिन बनाउने र पाचनका लागि आवश्यक जैविक रसायनको उत्पादन गर्दछ ।

कलेजो अस्वस्थ हुँदा लिभर सिरोसिस, अनावश्यक रुपमा तौल बढ्ने र जण्डिसजस्ता समस्या देखा पर्छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा झण्डै ३१ लाख मानिस कलेजो रोगका कारण ज्यान गुमाउन बाध्य भएका छन् ।

कलेजोको कार्यक्षमता बढाउन पेय पदार्थमा विशेष ध्यान पुर्‍याउनु पर्छ । हामीले कलेजो स्वस्थ राख्न मद्दत गर्ने पेय पदार्थबारे जानकारी प्रस्तुत गरेका छौँ ।

  • गाजरको जुस

गाजरमा भिटामिन ‘ए’ प्रसस्त मात्रामा पाइन्छ । भिटामिन ‘ए’ भएका खानेकुराले लिभरलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

गाजरमा फ्लाभोनोड्स र बीटा-कोरोटिन पाइन्छ । जसमा भएको एन्टि-अक्सिडेन्ट गुणले रगतलाई ताजा राख्न मद्दत गर्छ । गाजरको जुस दैनिक सेवन गर्दा कलेजोको क्षमता बृद्वि हुन्छ ।

  • हरियो सागपातको जुस

हरियो सागपात भएका तरकारी कलेजोका लागि निक्कै लाभदायक मानिन्छ । हरियो सागपातलाई पचाउन कम शक्ति खर्च गर्नुपर्ने भएकाले पनि कलेजोमा कम भार पर्छ ।

यस्ता खानेकुराबाट सिधै पोषक तत्व प्राप्त गर्न सकिन्छ । हरियो सागले पित्तलाई उत्तेजित बनाउँछ, जसले गर्दा कलेजोलाई सजिलै सफा गर्न मद्दत पुग्छ । त्यसैले हरियो सागपातको जुस खानु स्वास्थ्यका लागि फाइदाजनक छ ।

  • हर्बल चिया

तपाई सबैभन्दा राम्रो पेय पदार्थ खोज्दै हुनुहुन्छ भने हर्बल चिया उत्तम विकल्प हो । हर्बल चियामा एन्टि-अक्सिडेन्टस् को मात्रा निकै धेरै हुन्छ ।

हर्बल चियालाई क्यान्सरविरुद्धको पेय पदार्थ मानिन्छ । यसले शरीरमा बोसोको मात्रा बढ्न दिँदैन । जसले गर्दा लिभर सिरोसिसबाट सजिलै बच्न सकिन्छ ।

  • बेसार पानी

हाम्रो खानेकुरामा बेसार अनिवार्य जस्तै भएको छ । बेसारको सेवनले कलेजो स्वस्थ राख्न धेरै नै फाइदा गर्दछ ।

बेसारले कलेजोमा भएका कोषहरुलाई बिग्रनबाट बचाउने र नयाँ कोषहरुको विकास गर्न मद्दत पुर्‍याउँछ । शरीरमा हुने संक्रमणबाट बच्न बेसार अचूक औषधि हो ।

  • कागती पानी

कागती भिटामिन ‘सी’को मुख्य स्रोत हो । कागती कलेजोका लागि लाभदायक मानिन्छ । पानीसँगै ताजा कागतीको रसले कलेजोलाई सफा र स्वस्थ्य राख्छ ।

माथि उल्लेख गरिएका पेय पदार्थले कलेजोलाई प्राकृतिक रुपमा स्वस्थ र सफा राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । कलेजोलाई स्वस्थ राख्नका लागि जुस खाएर मात्र पुग्दैन ।

जुनसुकै प्रकारको मदिराको सेवन, असुरक्षित यौन सम्पर्क र लागूऔषधको कारणले पनि कलेजोमा समस्या निम्तिन्छ । त्यसैले यी कुराबाट हामी सधैं टाढा हुनुपर्छ ।

नियमित शारीरिक व्यायाम र सन्तुलित भोजनको सेवनले कलेजोलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । 

  • एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: