सङ्घीय शिक्षा ऐन निर्माण अन्तिम चरणमा : मन्त्री पोखरेल « Nagarik Khabar

सङ्घीय शिक्षा ऐन निर्माण अन्तिम चरणमा : मन्त्री पोखरेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद गगनकुमार थापाले राखेका मौखिक प्रश्नको जवाफ दिँदै उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको जानकारी दिए । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल नै निर्णय गरी सङ्क्रमणकालीन व्यवस्थाको लागि शिक्षा विकास तथा समन्वय एकाइ गठन गरिएको उनले बताए ।

सांसद थापाले संविधानले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकारमा सूचीकृत गरेको भए पनि सङ्घीय शिक्षा ऐन नबनाइ शिक्षाको व्यवस्थापनको जिम्मेवारी एकाइलाई दिएको बताएका थिए ।

एकाई मार्फत् आधारभूत शिक्षासँग सम्बन्धित क्रियाकलाप भइरहेको सुनिन आएकाले संविधान र सङ्घीयता विपरीत मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई विभिन्न नाममा शिक्षासँग सम्बन्धित निर्देशन दिनुको कारण उनले माग गरे । सांसद थापा शिक्षा नीति बने पनि प्रधानमन्त्री र मन्त्रीबीचको विवादले सार्वजनिक नभएको हो भनी जिज्ञासा राखेका थिए ।

सांसद महेश बस्नेतले सामुदायिक विद्यालयमा पूर्वाधार भए पनि सङ्ख्या घट्दै जानु र निजीमा पूर्वाधार नभए पनि बढ्दै जानुको कारण के हो भनी प्रश्न राखे । सांसद राजेन्द्रप्रसाद लिङदेनले निःशुल्क भनिए पनि माध्यमिक तहसम्म अझै किन विभिन्न नाममा शुल्क लिइराखेको भनी जवाफ माग गरे ।

उत्तरमा मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग फरकमत भएर शिक्षा नीति नआएको भनी गरिएको प्रचार गलत रहेको दाबी गरे । शिक्षा धेरैसँग सरोकारको विषय भएकाले वृहत् छलफल गरी ऐन ल्याउन लागिएको उनले प्रष्टीकरण दिए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन गतवर्ष पारित भई प्रमाणित भएकाले त्यस अनुसार शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै लगिने मन्त्री पोखरेलले बताए ।

सांसद डिला सङ्ग्रौलाका तर्फबाट सांसद प्रमिला राईले स्नातक तहका विद्यार्थीलाई प्रशिक्षण (इन्टर्नशिप)मा पठाउने योजना २०७३ आएको स्मरण गराउँदै २०७४ मै सो योजना हराएको र २०७६ मा पुनः आएको योजना कार्यान्वयन हुने आधार के छ र कति विद्यार्थीलाई सहभागी गराइन्छ भन्ने प्रश्न राखिन् ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षामा भएको शैक्षिक जनशक्तिको अभावलाई पूर्ति गर्न कार्यविधि निर्माण गर्ने चरणमा रहेकाले त्यसपछि प्रशिक्षार्थीका रुपमा स्नातक तहका विद्यार्थीलाई खटाइने बताए ।

सांसद महेन्द्रराय यादवले सम्पूर्ण नेपाली जनता कहिलेसम्म पूर्ण साक्षर हुनेछन् भन्ने जिज्ञासा राखेका थिए । उत्तरमा मन्त्री पोखरेलले ५१ जिल्ला साक्षर घोषणा भएको जानकारी दिए । आगामी वर्षसम्म युनेस्कोले बनाएको मान्यताका आधारमा नेपाललाई साक्षर घोषणा गरिने उनको प्रतिबद्धता थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: