कवि भूपाल राईको ‘सेवान्ने जिन्दगी’ « Nagarik Khabar

कवि भूपाल राईको ‘सेवान्ने जिन्दगी’



काठमाडौं । कवि तथा गीतकार भूपाल राईको नयाँ कृति ‘सेवान्ने जिन्दगी’ हालै सार्वजनिक भएको छ ।

लामो समयदेखि गीत–कवितामा कलम चलाउँदै आएका राईको कृतिलाई काठमाडौंमा आयोजित एक समारोहमा कवि तथा चिन्तक हाङ्युग अज्ञात, लेखक एवम् स्तम्भकार उज्वल प्रसाईं, अनुसन्धाता कैलाश राई र कृतिकार भूपाल राईले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै हाङ्युग अज्ञातले कवि भूपाल राईका विचार सुनेर आफू र सिर्जनशील अराजकता आन्दोलन दीक्षित भएको बताए । ‘उहाँको विचार सुनेर म दीक्षित भएको हुँँ । हाम्रो आन्दोलन दीक्षित भएको हो,’ उनले भने, ‘नेपाली गीत र कवितामा भूपाल राईले निर्माण गर्नुभएको विचार र संरचनाको शक्तिशाली बनोट कसैसँग पनि मिल्दैन ।’

कार्यक्रममा उज्वल प्रसाईंले आमा मानिसले राज्यप्रति अपनत्वको बोध खुम्चिन थालेको र यस्तो समयमा भूपाल राईका गीत र कविता सुन्न आवश्यक रहेको बताए । ‘राष्ट्रवादको स्वर ठूलो बन्दै गइरहेको छ । यस्तो बेला भूपाल राईलाई बढीभन्दा बढी सुन्न आवश्यक छ,’ प्रसाईंले भने, ‘गैरजनजाति समुदायलाई दिमागमा ब्राह्मणवाद राखेर हुर्काइन्छन् । त्यो अमानवीय छ । आफूलाई मानवीकीकरण गर्नका लागि भूपाल राईलाई पढ्नुपर्छ ।’

यसैगरी, कैलाश राईले भूपाल राईजस्ता लेखकको लेखनको महत्वलाई आउँदो पुस्ताले अझ प्रमाणित गर्दै जाने बताइन् । ‘किराती समुदायको धरताल बुझ्ने र बुझाउने पुस्तामध्येमा भूपाल राईहरू पर्नुहुन्छ । उहाँको वाक्यहरू सामान्यजस्ता लागे पनि गीतका अन्तर्यलाई गम्भीर भएर खोतल्दा नेपाली समाजमा हामी कहाँ छौं भन्ने छर्लंगै हुन्छ,’ राईले भनिन् ।

कार्यक्रममा कवि तथा आख्यानकार राजन मुकारुङले गीति लेखनको इतिहासमा भूपाल राईहरूलाई छुटाइएकोप्रति खेद प्रकट गर्दै आफ्नो इतिहास अरूले नलेखिदिने जिकिर गरे ।

‘जसले नेपाली गीत, साहित्य र कला–संस्कृतिका लागि भिन्न धारा र प्रवाहबाट नेपाली समाजलाई कम्तीमा सम्बोधन गरौं र हाम्रा गीतमार्फत भनौं भनिरहेका छन्, उनीहरूको इतिहास कसले लेख्नेरहेछ त ?’ मुकारुङले प्रश्न गर्दै भने, ‘हामी आफैंले हाम्रो इतिहास निर्माण गर्नुपर्नेरहेछ । लेख्नुपर्नेरहेछ ।’

कार्यक्रममा गीतकार भूपाल राईले आफूले लामो समयपश्चात् गीतिसंग्रह तयार गरेको भन्दै आफ्नो अस्वस्थताको बाबजुद कृति तयार भएको बताए । ‘लेखनको मुद्दा मिल्यो भने कसैलाई दुरुत्साहित गर्ने किरातीको संस्कृति नै होइन,’ राईले भने, ‘पहिचानको मुद्दालाई लिएर एक्लै अघि बढिरहेको बेला सिर्जनशील अराजकताजस्तो आन्दोलनले आँधीबेहरी निर्माण गर्नु आफैँमा गर्वको कुरा हो ।’

पुस्तकको प्रकाशन एम सिक्स सोसाइटी, हङकङले गरेको हो भने कार्यक्रमको आयोजना चिन्डो बुक्सले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: