यकिन भएन त्रिचन्द्र स्थापना दिन « Nagarik Khabar

यकिन भएन त्रिचन्द्र स्थापना दिन



काठमाडौं । राजधानीको प्रसिद्ध त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति अनुसन्धानकर्ताका लागि खोजको विषय बन्नसक्ने देखिएको छ ।

क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ ।

स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरूले कुन आधारमा स्थापना मिति उल्लेख गरेका छन् भन्ने पनि प्रस्ट छैन । क्याम्पस स्थापना भएको मिति वरपरको गोरखापत्रको अंक सुरक्षित नभएकाले पनि मिति किटान गर्न सकिने अवस्था छैन ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नामकरण गरिए पनि अझै जनजिब्रोमा त्रिचन्द्र कलेज नै भन्ने गरिएको सो क्याम्पसले हरेक भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

क्याम्पसका कर्मचारीहरू ७५ औं वार्षिकोत्सवबाट मात्र स्थापना दिवस मनाउन थालिएको बताउँछन् । बिहीबार क्याम्पसले स्थापनाको १०२ औं वर्ष मनाएको छ ।

क्याम्पसका प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेले झन्डै तीन दशकदेखि भदौ ५ गतेलाई स्थापना दिवसका रूपमा मनाइँदै आएको बताउँदै भने, ‘यो मितिका बारेमा म जवाफ दिनसक्ने अवस्थामा छैन । हामीसँग लिखत छैन । कुन र के आधारमा भदौ ५ लाई स्थापना दिवस मानियो भन्ने भन्न सक्दिनँ ।’

सन् १९९६ मा जिओ सोभेनियर नामक पुस्तिकामा इतिहासकार डा. राजेश गौतमले त्रिचन्द्र कलेजको सम्पूर्ण इतिहास लेखेका छन् । त्यसमा उनले १९७५ साल भदौ १२ गते क्याम्पस स्थापना भएको उल्लेख गरेका छन् ।

उनले ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’ शीर्षक पुस्तकमा पनि सोही मिति लेखेका छन् । उनका अनुसार सन् १९१६ डिसेम्बर ३१ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले नेपालमा कलेज खोल्ने कुराको तत्कालीन बेलायती रेजिडेन्ट बेलीलाई पत्र लेखेका थिए । लामो पत्राचारपछि पटना विश्वविद्यालयअन्तर्गत रहने गरी अनुमति सन् १९१८ अगष्ट १ मा दिइएको थियो । ब्रिटिस भारत सरकारले अनुमति दिएको २८ दिनपछि १९७५ साल भदौ १२ गते अर्थात् सन् १९१८ अगस्ट २८ मा त्रिचन्द्र कलेज स्थापना भएको थियो ।

आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीको बाइलाइनमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: