केराखेतीमा थोपा सिँचाइ « Nagarik Khabar

केराखेतीमा थोपा सिँचाइ



कञ्चनपुर । व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् ।

खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पुर्याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको उनले बताए ।

‘बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हँुदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो,’ उनले भने, ‘एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि थोरै पानीले सिँचाइ गर्न सकिएको छ ।’

थोपा सिँचाइका लागि राखिएको प्लाष्टिकको ड्रममा मलसमेत राखेर सिँचाइसँगै चाहिने मात्रामा मलसमेत आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । रोपिएका केराका प्रत्येक बिरुवामा पाइपमार्फत सिँचाइका लागि पानी पुर्याउने व्यवस्था गरिएको छ ।

सो नगरपालिका क्षेत्रमा थोपा सिँचाइ प्रणालीमार्फत केराखेती यो नै पहिलो हो । थोपा सिँचाइका लागि नगरपालिको कृषि विकास शाखाको रु एक लाख ५० हजार अनुदान र किसानको एक लाख ५५ हजार ८२ गरी तीन लाख पाँच हजार ८२ लगानी गरिएको छ ।

थोपा सिँचाइ प्रविधिको प्रयोग गरी केराखेती गर्दा सिँचाइ र मलखादलाई सिस्टमबाटै दिन सकिने भएकाले पटक–पटक लाग्ने खर्चबाट किसान जोगिन गई उत्पादनमा वृद्धि हुने कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेटीले बताए ।

राना यस क्षेत्रकै व्यावसायिक केराखेतीमा सफल किसान हुन् । उनले एक बिघा खेतमा रोपिएका केरामा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् ।

अन्य चार बिघा जग्गा भाडामा लिएर केरा खेतीलाई व्यावसायिकरूपमा अँगाल्दै आएका छन् । एक बिघा जग्गामा भर्खरै केरा रोपिएकाले बोटहरु हुर्कदै गएका छन् । चार बिघा जग्गामा लगाइएको केरा बजारमा बिक्री गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: