बढे भाइरल ज्वरोका बिरामी : अस्पतालमा चाप « Nagarik Khabar

बढे भाइरल ज्वरोका बिरामी : अस्पतालमा चाप



  • काशीराम शर्मा

बाँके । बाँकेमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ ।

गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका शैय्या भरिएका छन् ।

गर्मी बढेसँगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालमा पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कनेलगायतका लक्षण देखिन थालेपछि अस्पतालमा बिरामीको भीड लाग्न थालेको छ ।

भाइरल ज्वरोका बिरामी धेरै रहेका भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए । उनका अनुसार बिरामीको चाप बढेपछि एउटै बेडमा दुई बिरामी राखेर उपचारसमेत गर्नुपरेको छ ।

‘मौसमी ज्वरोको समस्या पनि देखिएको छ, फाट्टफुट्टरूपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ,’ उनले भने, ‘अहिले औषतमा हरेक दिन भेरी अस्पतालमा ४०÷५० भाइरल ज्वरोका बिरामी आउने गरेका छन्, बिरामीको चाप धेरै भएकाले कुनै पनि वार्ड खाली छैन ।’

अस्पतालको आकस्मिककक्षमा समेत एउटै शैय्यामा दुई÷तीन बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ ।

यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएका उनले बताए । बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ ।

शैय्या खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ । जसले गर्दा आएका बिरामीलाई अन्य निजी अस्पताल पुग्ने गरेका छन् ।

यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: