ट्वीटरमा भट्टराई र रावलको घम्साघम्सी « Nagarik Khabar

ट्वीटरमा भट्टराई र रावलको घम्साघम्सी



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलबीच ट्वीटरमा बहस चलेको छ ।

सुरुमा रावलले भदौ ७ गते टीकापुरमा भएको सभालाई डा. भट्टराईले सम्बोधन गरेको भिडियो युट्युबमा सुनेको भन्दै त्यसउपर कडा प्रतिक्रिया जनाए । उनले उक्त ट्वीटमा कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट होलान् ! भन्दै भट्टराईप्रति कटाक्ष गरेका थिए ।

‘भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युबमा सुनें । उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार,’ रावलले ट्वीटमा लेखेका छन्, ‘कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’

रावलको उक्त ट्वीट्प्रति भट्टराईले पनि प्रतिक्रिया जनाए । उनले मार्क्सले प्रतिपादन गरेको सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष नभइ सापेक्ष भएको उल्लेख गर्दै न्याय र समानता बिनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातीको पाखण्ड ठान्ने उल्लेख गरे ।

‘मार्क्सले प्रतिपादन गरेको कम्युनिष्ट सिद्धान्तले शान्ति र सद्भाव निरपेक्ष हैन सपेक्ष हुन्छ भन्छ ! न्याय र समानता विनाको शान्ति र सद्भावको आलापलाई समाजका बर्चस्वशाली वर्ग र जातिको पाखण्ड ठान्छ !’ रावलको ट्वीट लिंक गर्दै भट्टराईले लेखेका छन्, ‘नाउँ ‘कम्युनिष्ट पार्टी’ राख्ने तर कुरा यस्तो एकलजातीय अहंकारवादी गर्ने ? अलि सुहाएन है !…’

उक्त प्रकरणमा थप टिप्पणी गर्दै डा. भट्टराईले झापा आन्दोलनको पनि स्मरण गराएका छन् । उनले रावललाई थारु भाषामा जाँज दिनु परेको भए कहाँ पुग्नुहुन्थ्यो भन्दै प्रश्न पनि गरेका छन् ।

‘मित्र भीम रावललाई प्रश्न– झापाआन्दोलन भजन गाएर भएको थियो ? थारूहरूको जमीन खोसेर उनीहरूलाई नै कमैया, कमलरी बनाउनु ‘‘कम्युनिज्म” हो ? तपाईंले थारू भाषामा जाँच दिनुपरेको भए अहिले यो ठाउँमा पुग्नुहुन्थ्यो ? थारू/मैथिली/नेवारी भाषामा लोकसेवा जाँच दिनु परे तपाईँका कति सजातीय अहिले सचिव हुँदाहुन् ?’

बहसकै क्रममा रावलले भट्टराई पुनः जबाफ फर्काएका छन् । ‘निरंकुश निर्दलीय व्यवस्था विरोधी झापा विद्रोह र बाबुरामजी संलग्न रही बनेको संविधान अन्तरगत उहाँ नै प्रम र सांसद भइसक्नु भएको व्यवस्था बीचको अन्तर दिल्लीमा शिक्षित व्यक्तिले बुझ्नु हुन्न र ?’ रावलले ट्वीट गरेका छन्, ‘थारूको जग्गा बाबुरामजीले कम्युनिष्ट रहँदा खोसेको सम्झँदै अरूलाई आरोप लगाउनु भएको हो कि ?’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: