शून्य समयमा सांसदको प्रश्न– वृक्षरोपण वर्ष घोषण गरेर वन मास्‍ने ? « Nagarik Khabar

शून्य समयमा सांसदको प्रश्न– वृक्षरोपण वर्ष घोषण गरेर वन मास्‍ने ?



काठमाडौं । सांसदहरुले भ्रष्टाचार नियन्त्रण वन विनास तथा वन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद बिमला नेपालीले भ्रष्टाचारविरुद्ध अभियान चलाएको भन्ने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइन् ।

सांसद नेपालीले सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलियामार्फत मन्त्रीका आफन्तहरुले बार्गेनिङ गरेको गुनासो आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठूलाबडाले गरेको करोडौंको भ्रष्टाचार नदेख्ने र साना कर्मचारीलाई पक्रनेको नाममा फसाउने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिमला बिकले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणमा परी गेरुवा र ठाकुरद्वारा गाउँपालिकाका दुई जना स्थानीयको मृत्यु भएको जानकारी दिँदै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन् । मुलुकभर नै जंगली क्षेत्र वा निकुञ्ज नजिक बस्ने सर्वसाधरण जंगली जनावरको आक्रमणबाट बच्न बासस्थान छोडेर अन्यत्र जाने क्रम बढेको भन्दै उनले निकुञ्जको सिमानामा ठूलठूला पर्खाल निर्माण गरी स्थानीयको जिउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद भरतकुमार शाहले सरकारले मलखादमा यसअघि दिँदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानले पाएको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भीमसेनदास प्रधानले सरकारले यस वर्षलाई वृक्षरोपण वर्ष घोषण गरेको भए पनि त्यस विपरीत वन मास्ने काम भएको तथा राजधानी नजिकका वरपरका डाँडामा पनि भूमाफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले वनजंगल मास्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीना सुब्बाले मुलुकभर डेंगुको प्रकोप फैलिरहँदा पनि नियन्त्रणतर्फ सरकार गम्भीर बन्न नसकेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले धरानबाट देखिएको डेंगु संक्रमण अहिले ४२ जिल्लामा फैलिसक्दा पनि प्रभावकारी कदम चाल्न नसक्नु ‘सरकारको असक्षमता र लापरवाही’ भएको टिप्पणी गरिन् ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको मध्यपहाडी लोकमार्गअन्तर्गत गैहीटार विनायकखण्डअन्तर्गत कमलबजार नगरपालिका–५ कीर्तिपुर खण्डमा लामो समयदेखि सुख्खा पहिरो गइरहेको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद राजेन्द्रकुमार केसीले भने शून्य समयमा बोलेका विषयको कही कतैबाट सुनुवाइ नभएको भन्दै आफुलाई उपलब्ध गराइएको समयमा मौन ब्रत राखे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: