सञ्चारमन्त्री बाँस्कोटाको आग्रह- असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रऔं « Nagarik Khabar

सञ्चारमन्त्री बाँस्कोटाको आग्रह- असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रऔं



काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तर्क्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गरारहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेका अन्तर्क्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए ।

उनले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताए । ‘कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो,’ उनले भने, ‘सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन् । केही समयका निम्ति उहाँ उपचारका लागि जानुभएको हो । यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन । प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन । केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो ।’

यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तर्क्रिया गर्न सक्ने निर्णय गरेको थियो । उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे । उनले भने, ‘यस्ता कुरामा कुनै तुक छैन ।’

आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरुले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे ।

‘कि त प्रविधि भित्र्याउन भएन, भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छ,’ उनले भने, ‘यस्तो वाहियात कुरा गर्ने ? प्रधानमन्त्री नेपाली नागरिक हो । नेपाली जनताको प्रतिनिधि हो । उहाँले आफ्ना मन्त्रीसँग अन्तर्क्रिया गर्नुभएको हो ।’

आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न उनले सबैलाई आग्रह गरे । गलत कुरालाई नेपाली जनताले नपत्याउने भन्दै मन्त्री बाँस्कोटाले क्षणिक सन्तुष्टिका लागि अनावश्यक र नचाहिँदा कुरा गर्नुको समेत कुनै तुक नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: