पर्यटन विभागको काम विकेन्द्रित, सातै प्रदेशबाट सेवा प्रवाह हुने « Nagarik Khabar

पर्यटन विभागको काम विकेन्द्रित, सातै प्रदेशबाट सेवा प्रवाह हुने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले आफुले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौंबाहिर रहने सात कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको हो ।

पर्यटन विभागले पर्यटन मन्त्री योगेश भट्टराईसहित ६ प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र प्रदेश नम्बर १ बाट मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा सात कार्यालयहरुलाई अधिकार प्रत्यायोजनको हस्ताक्षर गरेको छ । पर्यटन विभागले आफुले गर्दै आएको काम झापाको काँकडभिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको वीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेको पर्यटन कार्यालयहरुले गर्ने गरी अधिकार प्रत्यायोजन गरेको छ ।

सात वटा कार्यालयहरुले, ट्राभल एजेन्सी तथा ट्रेकिङ एजेन्सी र र्‍याफ्टिङ एजेन्सीको इजाजत दिने तथा नवीकरण गर्ने, पर्यटक यातायात सेवा व्यवसायका लागि इजाजत दिने, नवीकरण गर्ने, पर्यटक स्तरीय होटल तथा होमस्टेको इजाजत दिने तथा नवीकरण गर्ने र टुर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर, रिभर गाइडलगायतको इजाजत र नवीकरणको काम गर्नेछन् ।

प्रदेश सरकार मातहत रहेर काम गर्ने यी कार्यालयहरुले आगामी असोज १ देखि सेवा दिने छ । नवगठित कार्यालयहरुले पर्यटक स्तरीय ३६१ होटल, ९२ वटा होमस्टे, ३ हजार २६२ वटा ट्राभल एजेन्सी, २ हजार ४१७ वटा ट्रेकिङ एजेन्सी, ८५ वटा र्‍याफ्टिङ एजेन्सी, २१४ रिभर गाइड, ट्रेकिङ पोर्टर गाइड १७२, पर्यटन यातायात सेवा ७९, ट्रेकिङ गाइड १२ हजार ९८१ र टुरिष्ट गाइड २ हजार ७०१ गरी २२ हजार ३६४ सेवाको अभिलेख व्यवस्थापन, नवीकरण तथा सहजीकरण गर्नुपर्नेछ ।

यसका साथै स्थानीय स्तरमा कार्यालय खुलेपछि पर्यटन सेवाका लागि नयाँ खोलिने कार्यालयहरुको व्यबस्थापन समेत यिनै कार्यालयहरुले गर्नेछन् । केन्द्रमा रहेको पर्यटन विभागले अन्तरप्रदेश कार्यालय र मन्त्रालयबीच समन्वय गराउने काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: