धरानमा डेंगुको महामारी झन् बढयो, संघीय र प्रदेश सरकार रमिते मात्रै ! « Nagarik Khabar

धरानमा डेंगुको महामारी झन् बढयो, संघीय र प्रदेश सरकार रमिते मात्रै !



  • भैरब आङ्ला

सुनसरी । धरान उपमहानगरपालिकामा डेंगुको महामारी भएको छ । अहिलेसम्म डेंगुका कारण तीन जनाको मृत्यु समेत भइसकेको छ ।

उपमहानगरपालिका कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार उपमहानगरभित्र ३ हजार ५०० भन्दा बढी डेंगु संक्रमित छन् । उक्त तथ्याङ्क धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलबाट मात्रै लिइएकाले संक्रमितहरु योभन्दा बढी हुने आँकलन छ । यहाँका निजी क्लिनिक र ल्याबहरुमा पनि संक्रमितहरुको उपचार हुँदै आएको छ । ती सबै गणना गर्दा संक्रमितहरु १३ हजारभन्दा बढी हुने बताइएको छ ।

धरानका बैशाखको अन्तिम साता डेंगु देखा परेको हो । अहिले प्राय घरमा डेंगु संक्रमित रहेका छन् । डेंगु फैलिनुको मुख्य कारण तीन तहका सरकारनै निकम्म भएको स्थानीयको गुनासो छ । उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख सल्लाहकार डा. केके राईले पनि जनप्रतिनिधि र राजनीतिक दलको निष्कृयताको कारण डेंगु नियन्त्रण नभएको बताए ।

मंगलबार धरान उपमहानगरपालिकाको सभाहलमा भएको भेलामा डा. राईले डेंगु नियन्त्रणका लागि जनचेतना मुख्य कुरा भएको बताउँदै धरान डेंगुको उदगम स्थल भएकाले यसलाई नियन्त्रण गर्न सर्च एण्ड डिस्ट्रोए अभियानलाई प्रभावकारी दल र जनप्रतिनिधिले गर्नुपर्नै बताए । उनले भने तीन तहको सरकारमार्फत डेंगु नियन्त्रणका लागि पहल हुनुपर्नेमा जोड दिए ।

रमिते संघीय सरकार

धरानमा डेंगुको प्रकोप फैलिएपछि पटकपटक केन्द्रीय सरकारका प्रतिनिधि र मन्त्रीहरु अनुगमनका लागि आएका छन् । तर, उनीहरुले अनुगमन गरेर फर्किनुबाहेक केही नगरेको स्थानीयको गुनासो छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक डा. गुणराज लोहनीको टोली सबैभन्दा पहिले अनुगमनमा आएका थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव पनि धरान पुगेका थिए । त्यसपछि प्रदेश नम्बर १ का मन्त्री, स्वास्थ्य निर्देशानलयका प्रतिनिधि र पछिल्लो समय स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरी, इपिडिमियोलोजीका निर्देशकलगायतको टिम धरान आइपुगेको थियो ।

उनीहरु सबैले धरानको डेंगुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उपाय र सहयोगका कुरा नगरी मान्छे भेला पार्ने र कुरा सुन्नेबाहेक केही नगरेको धरानवासीको गुनासो छ । धरानमा डेंगु संक्रमण बढ्नुको मुख्य कारण सरकारी असक्षता र नागरिकको लापर्वाहीको परिणाम भएको जानकारहरु बताउँछन् ।

तर, धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव डेंगु नियन्त्रणका लागि कुनै कसर बाँकी नराखेको दाबी गर्छन् । समुदायसम्म पुगेर विभिन्न कार्यक्रम गर्दा पनि डेंगु नियन्त्रणको प्रयास विफल भएको उनको भनाइ छ । डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले दिने भनिएको ८० लाख रुपैयाँ पनि अझै उपमहानगरपालिकामा आइनपुगेको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: