ट्राफिकको ‘ह्वील लक’ लागेको मन्त्री चढ्ने गाडी : किन भएन कारवाही ? « Nagarik Khabar

ट्राफिकको ‘ह्वील लक’ लागेको मन्त्री चढ्ने गाडी : किन भएन कारवाही ?



काठमाडौं । काठमाडौंको व्यस्त सडक नयाँ बानेश्वर । सडकमा केही मिनेट गाडी रोकिँदा पूर्वमा तीनकुने र पश्चिममा माइतीघर मण्डलासम्म जाम पुग्ने गर्छ । यस्तो व्यस्त सडकमा मन्त्रीको गाडी भने सडकमै रोकिँदा ट्राफिक आवागमनमा असर पर्ने नै भयो ।

मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडी सडकमै रोकिए । गाडीमा कोही थिएनन् । सडकभन्दा पनि पैदलयात्रु हिड्ने बाटो बढी मिचेर गाडी रोकिएपछि पैदलयात्रु मारमा परेकै थियो ।

यस्तो स्थिति देखेपछि नयाँ बानेश्वर क्षेत्रमा ह्वील लक बोकेर हिडेका ट्राफिक प्रहरीले ह्वील लक लगाए । पैदल यात्रुले ट्राफिक प्रहरीको खुलेर प्रशंसा गरे । सचेत नागरिकले फोटो खिचेर नागरिकखबरलाई पनि पठाए ।

त्यसबारे जानकारी पाएपछि केहीबेरमा हाम्रो टोली गाडी रोकिएको स्थानमा पुगेको थियो । तर, सो गाडी हटाइसकेका थिए । त्यो गाडी कुन मन्त्रीले प्रयोग गर्ने गाडी रहेछ भनेर हामीले त्यहाँ रहेका ट्राफिक प्रहरीलाई पनि सोध्यौं । तर, कसैले केही बोलेनन् ।

ह्वील लक लगाइसकेको गाडीलाई चिट काटेर छाडियो या त्यसै छाडियो ? त्यसबारे पनि नयाँ बानेश्वरमा खटिएका ट्राफिक प्रहरीहरुले केही बताएनन् ।

यसबारे हामीले जानकारी लिन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेललाई ९८५११२८८२२ मा फोन गर्यौं । तर, उठेन ।

त्यसपछि, महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तलाई फोेन गर्यौं । एसएसपी पन्तले तत्काल त्यसबारे बुझेर जानकारी दिने बताए । हामीले थप जानकारीको प्रतिक्षा गर्यौं । तर, रातिसम्म पनि कुन मन्त्रीको गाडी हो ? ट्राफिक प्रहरीले किन ह्वील लक लगाएर पनि त्यत्तिकै छाडे भन्नेबारेमा कुनै जानकारी दिएनन् । त्यसबारे भोलि मात्र बताउन सकिने भने ।

त्यसपछि हामीले मन्त्रीहरुको सवारी साधनको व्यवस्था गर्ने गृह मन्त्रालयमा बुझ्ने प्रयास गर्यौं । कार्यालय बन्द भइसकेकाले सो गाडी कसले प्रयोग गर्ने रहेछ ? भन्नेबारे जानकारी दिन नसकिने जानकारी प्राप्त भयो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: