संघीयताको सकस : कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै « Nagarik Khabar

संघीयताको सकस : कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै



रुकुमपूर्व । रुकुमपूर्वस्थित पुथा उत्तरगङ्गा गाउँपालिका यतिबेला कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो ।

६१ जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुईजना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् ।

गाउँपालिकाका कुनै पनि वडामा वडासचिव छैनन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका र एक जनाले वडा नं १० र ११ मा काम गर्दै आएका थिए ।

भएका एक सचिव पनि समायोजन भएर गएपछि गाउँपालिका नै वडासचिवविहीन बनेको हो । सडकको विस्तार नभइसकेको सो गाउँपालिकाको एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालयमा पुग्न एकदेखि दुई दिन लाग्ने गर्दछ ।

भएका कर्मचारी पनि समायोजन भएर गएको तर समायोजन भएर गाउँपालिकामा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए । गाउँपालिकामा कर्मचारीको खडेरी भएपछि कार्यसम्पादनमा अफ्ठ्यारो भएको उनले बताए ।

कर्मचारी नभएपछि अहिले वडा कार्यालयमा वडा सचिवको काम स्वास्थ्यचौकी ईन्चार्जमार्फत भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् । साविकका गाविसमा रहेका स्वास्थ्यचौकी ईन्चार्जले साविकका गाविसअन्तर्गत अहिले जती पनि वडा समेटिएका छन् तीनै वडा हेर्ने जिम्मा दिइएको उनले जानकारी दिइन् ।

साविकका ६ वटा गाविस मिलेर बनेको गाउँपालिकामा छ स्वास्थ्यचौकी रहेका र ६ जना स्वास्थ्यचौकी ईन्चार्जले वडा सचिवको काम गरिरहेका उपाध्यक्ष शाहीले बताइन् ।

यस्तै भुमे गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । चौवन्न जनाको दरबन्दी रहेको गाउँपालिकामा पाँचजना मात्र स्थायी कर्मचारी छन् भने १८ करार कर्मचारी छन् । ९ वडा रहेको गाउँपालिकामा वडा नं ३, ६ र ७ मा गरी जम्मा तीन वटा वडामा मात्र वडासचिव छन् ।

पर्याप्त मात्रामा कर्मचारी नहुँदा कार्यसम्पादनमा असजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए । कर्मचारी समायोजन भएर गएका तर, समायोजन भएर गाउँपालिकामा कोही पनि नआएकाले कार्यसम्पादनमा असहज भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।

त्यसैगरी सिस्ने गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । जसका कारण कार्यसम्पादनमा अफ्ठ्यारो भइरहेको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिइन् । पैतीस जनाको दरबन्दी रहेको गाउँपालिकामा ९ जना कर्मचारी स्थायी छन् भने ३ जना करार कर्मचारी छन् ।

भएका कर्मचारी समायोजन भएर गएपछि नयाँ केही मात्र आएकाले कामकाजमा समस्या भएको उनले बताइन् ।

आठ वडा रहेको गाउँपालिकामा वडा नं १, ४ र ६ नं वडा गरी जम्मा तीन वडामा मात्र वडासचिव छन् । अन्य वडामा कार्यालय सहायक र नजिकको स्वास्थ्यचौकी इन्चार्जले काम गरिरहेका प्रशासकीय अधिकृत रोकाले बताइन् ।

संघीयताले जन्माएको नेपालको कान्छो जिल्ला रुकुम (पूर्व) प्रदेश नं ५ को एक मात्र हिमाली र दुर्गम जिल्ला हो । तीन गाउँपालिकामा गरी जम्मा ३१ वडा छन् । तीमध्ये सात वडामा मात्र वडासचिव छन् । बाँकी २४ वडामा वडासचिव छैनन् । वडासचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: