बाख्रापालनमा रमाउँदै द्वन्द्वपीडित « Nagarik Khabar

बाख्रापालनमा रमाउँदै द्वन्द्वपीडित



चितवन । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् ।

आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन सुरु गरेका हुन् ।

माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन सुरु गरेका हुन् । सशस्त्र द्वन्द्वमा लागेका गोलीका छर्रा काफ्लेको खुट्टामा अझै छ भने तिवारीले बाँदरमुढे घटनामा श्रीमती, छोरा र भाउजू गुमाएका थिए ।

द्वन्द्वमा राज्य र विद्रोहीबाट पीडा खेपेका उनीहरुले समाजलाई नयाँ सन्देश दिन यो व्यवसाय सुरु गरेको बताए । करीब चार बिघा जग्गा भाडामा लिएर उनीहरुले बाख्रापालन सुरु गरेका हुन् ।

खोरमा विभिन्न जातका ११५ वटा बाख्रा छन् भने बारीमा घाँस लगाइएको छ । काफ्लेका अनुसार उन्नत जातको बयर र स्थानीय जात जमुनापारिसँगै खरी जातका बाख्रापालन गरिएको छ । बारीमा अहिले थाइल्याण्डबाट ल्याइएको सुपर नेपियर नामक घाँस लगाइएको छ । जसमा बाख्रालाई आवश्यक पर्ने पौष्टिक तत्व बढी हुने काफ्लेले जानकारी दिए ।

तिवारीका अनुसार करीब ४५ लाखको लागतमा बाख्रापालन व्यवसाय सुरु गरिएको हो । उन्नत जातका पाठापाठी उत्पादन गरी किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ यो व्यवसाय सुरु गरिएको तिवारीले बताए ।

शुभारम्भ एग्रोफर्मको नामबाट अहिले व्यावसायिक बाख्रा फार्म सञ्चालनमा रहेको छ । फार्ममा बोयरबाट शुद्ध बोयर र स्थानीय जातसँग क्रस गराएर पाठापाठी उत्पादनको काम पनि भइरहेको छ ।

फार्मले सञ्चालनको पहिलो वर्षमा नै नगरपालिकाबाट उत्कृष्ट बाख्रा फार्मको रुपमा सम्मानसमेत पाइसकेको छ । जहाँ अहिले दैनिक चार जनाले रोजगार पाएका छन् भने अब बिक्री वितरणका लागि बाख्रा तयार भएका छन् ।

दुवैजना द्वन्द्वबाट पीडित भएका कारण व्यवसाय गरेर जीवनस्तर उकास्नु पर्छ भनेर व्यवसाय सुरु गरेको काफ्लेले बताए । द्वन्द्वकालमा लागेको गोलीका छर्रा बोकी रहेकी काफ्लेले अहिले दलहरुबीचको असमझदारी देखेर दिक्क लागेपछि जीविकोपार्जनका लागि व्यवसाय सुरु गरेको गुनासो गरे । परिवार गुमाएका तिवारीले पनि मन भुलाउनका लागि काम थालेको बताए । आफूहरु दुवै यसमा रमाएको काफ्लेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: