कहाँ कहाँ बन्नेछन् विद्युतीय चार्जिङ स्टेशन ? « Nagarik Khabar

कहाँ कहाँ बन्नेछन् विद्युतीय चार्जिङ स्टेशन ?



काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न चार्जिङ स्टेशनको स्थापना तथा सञ्चालनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने सम्बन्धमा आवश्यक कार्यविधि तयार पार्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

बुधबार उर्जा मन्त्रालयमा समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनसमक्ष प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, विद्युत वितरण र त्यसको सुरक्षा सम्बन्धी विषय प्राधिकरणको जिम्मेवारी र कार्यक्षेत्रको विषय भएकाले सवारी साधनको चार्जिङसँग सम्बन्धीत विषयको नियमन व्यवस्थापन लगायतको कार्य प्राधिकरणले गर्नेछ ।

कहाँ-कहाँ हुन्छन् स्टेशन ?

सार्वजनिक स्थल, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, व्यापारिक, कमर्सियल तथा आवासीय स्थलमा चार्जिङ स्टेशन स्थापना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

उपरोक्त चार्जिङ स्टेशनका अतिरिक्त होटल वा रेस्टुरेण्ट सञ्चालकले आफ्नो परिसरमा चार्जिङ स्टेशन स्थापना गर्न पनि सक्नेछन् ।

विद्युतीय सवारी साधन उत्पादक, वितरक कम्पनीहरुले पनि निश्चित मोडल, ब्राण्डको लागि हुने गरी चार्जिङ स्टेशन स्थापना गरी सेवा दिन सक्नेछन् ।

निजी सवारी साधनको चार्जिङ प्रयोगको लागि नेपाल विद्युत प्राधिकरणका ग्रार्हस्थ वर्गका ग्राहकहरुले आफ्नो घरपरिसर, निजी स्थलमा चार्जिङ स्टेशन राख्न सक्नेछन् ।

प्रक्रिया

चार्जिङ सेवा उपलब्ध गरउान चाहने व्यक्ति वा संस्थाले नेपाल विद्युत प्राधिकरणबाट नियमानुसार लोड स्वीकृत गराई चार्जिङ स्टेशन स्थापनाको लागि स्वीकृति लिनुपर्नेछ ।

घरायसी तथा निजी चार्जिङ स्टेशन (बिन्दु)को लागि स्वीकृति लिनुपर्ने छैन । तर पूर्वस्वीकृति लोड भन्दा बढी विद्युत खपत हुने अवस्था भएमा सो बमोजिम क्षमता वृद्धिको स्वीकृति प्राधिकरणबाट लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: