सशस्त्र प्रहरी बलको संरचना अब देशैभर « Nagarik Khabar

सशस्त्र प्रहरी बलको संरचना अब देशैभर



काठमाडौं । देश संघीयतामा गएसँगै सशस्त्र प्रहरी बल नेपालले आफ्नो संरचना परिवर्तन गरेको छ । संघीय ढाचामा आफ्नो संरचना परिवर्तन गर्दै सशस्त्र प्रहरी बल नेपालले कार्य क्षेत्र विस्तार समेत गरेको छ ।

विगतमा ५८ वटा जिल्लामा मात्र सीमित सशस्त्र प्रहरी बल नेपाल ७७ वटै जिल्लामा पुगेको छ । त्यस्तै, ८७ वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेकोमा अहिले १०७ स्थापना भएका छन् । चाँडै नै १५ बीओपी थप गर्ने लक्ष्य सशस्त्र प्रहरी बलले लिएको जनाएको छ ।

सशस्त्र प्रहरी बलको बीओपी देशको दक्षिणतर्फ मात्र केन्द्रीत छ । अब भने देशको चीन नाका क्षेत्रमा समेत बीओपी स्थापना गर्ने योजना सशस्त्र प्रहरी बलको छ । दार्चुला, हुम्ला, मुस्ताङ र संखुवासभामा चाँडै नै बीओपी स्थापना गर्ने योजना रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसो त, सशस्त्र प्रहरी बल नेपालको पाँच विकास समितिमा सीमित बाहिनीहरु अहिले काठमाडौं उपत्यकासहित गरेर आठ बाहिनी बनेको छ । प्रदेश १ मा बराह बाहिनी मुख्यालय सुनसरीमा छ । त्यस्तै, प्रदेश २ को महोत्तरीमा छिन्नमस्ता बाहिनी स्थापित छ ।

त्यसैगरी, प्रदेश ३ मा मकवानपुरमा गढीमाई बाहिनी रहेको छ । गण्डकी प्रदेशमा मुक्तिनाथ बाहिनी पोखरामा छ । बिन्धबासिनी बाहिनी कर्णाली प्रदेशको सुर्खेतमा छ । सुदूरपश्चिम प्रदेशमा वैद्यनाथ बाहिनी कैलालीमा छ । केन्द्रीय राजधानी काठमाडौंमा पशुपतिनाथ बाहिनी रहेको छ ।

सशस्त्र प्रहरी बलको ३६ वटा गण छ । त्यसैगरी ७३ गुल्म छन् । त्यसमध्ये ५६ वटा अनाश्रित गुल्म हुन भने १७ वटा आश्रित गुल्म हुन् । कतिपय गणहरु सीमा सुरक्षा कार्यालयलाई स्तरोन्नति गरेर बनेका हुन् ।

सशस्त्र प्रहरी बलको अब तालिम केन्द्र रहने छैनन् । विगतमा भन्दै आएको तालिम केन्द्रलाई शिक्षालयको रुपमा स्थापित गरिएको छ । शिक्षालय ११ वटा छन् । हिमाल आरोहणमा आपत परेकाहरुको उद्दारका लागि अब माउन्टनेरिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने लक्ष्यसमेत सशस्त्र प्रहरी बलको छ ।

सशस्त्र प्रहरी बलले सञ्चालन गरेको विद्यालय काठमाडौंमा मात्र थियो । अब सप्तरीमा पनि सशस्त्र प्रहरी बलको विद्यालय बन्ने भएको छ । विद्यालय भवन निर्माणका लागि शिलान्यास भइसकेको छ ।

वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरीलाई देशैभर स्थापित गर्न सफल भएको हो । कुशल नेतृत्वले आफ्नो संगठनलाई सशक्त रुपमा अघि बढाउन चालेको कदमले सशस्त्र प्रहरी बलको मनोबल उच्च बनेको छ ।

सशस्त्र प्रहरी बल नेपालमा हाल ३७ हजार दरवन्दी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: