यस्ता छन्, उपत्यकाका अग्ला पाँच अपार्टमेन्ट (फोटो/भिडियो) « Nagarik Khabar

यस्ता छन्, उपत्यकाका अग्ला पाँच अपार्टमेन्ट (फोटो/भिडियो)



काठमाडौं । उपत्यकामा विभिन्न डिजाइनमा खर्बौं रुपैयाँ लगानी गरेर अग्ला आवास तथा भवनहरु निर्माण भएका छन् । साना तथा ठूला गरेर उपत्यकामा १५ तलाभन्दा माथिको ५१ वटा कम्पनीको भवन छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा विभिन्न टावर र अग्ला भवन (स्काइ राइजिङ बिल्डिङ) बनाउने क्रम जारी छ । उपत्यका बाहेक चितवन र पोखरामा समेत ‘स्काइ राइजिङ बिल्डिङ’ निर्माण क्रम शुरु भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

तर, उपत्यकाभित्र धेरै अग्ला भवन तथा आवास निर्माण भएका छन् । यसमध्ये उपत्यकामा निर्माण भएका अग्ला पाँच भवन कस्ता छन् त ? भवन निर्माण विभागका अनुसार पाँच अग्ला भवन यस्तो छ:

ग्राण्डी अपार्टमेन्ट

उपत्यकाको टोखामा निर्माण भएको ग्राण्डी टावर उपत्यकाकै अग्लो अपार्टमेन्ट भवनको रुपमा रहेको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार ग्राण्डी अपार्टमेन्ट २१ तलाको छ । विभिन्न नाम दिएर ग्राण्डीको अपार्टमेन्ट तय गरिएको छ । उक्त अपार्टमेन्टको केही प्रतिशत मात्रै निर्माणको काम बाँकी रहेको मार्केटिङ प्रमुख राजिव केसीले जानकारी दिए ।

सनसिटी अपार्टमेन्ट

यस्तै, गोठाटारको सनसिटी अपार्टमेन्ट १७ तलाको छ । उपत्यकाकै अग्लो भवनमध्ये सनसिटी पनि एक हो । रिङरोड बाहिर रहेको यो भवनमा विशेषगरी उच्च आर्थिक अवस्था भएका व्यवसायीहरु बस्ने गरेका छन् । केही विदेशी समेत बस्ने गरेको सनसिटी अपार्टमेन्ट व्यवस्थापकीय पक्षले जनाएको छ ।

सिटी स्क्याप अपार्टमेन्ट

चक्रपथ भन्दा बाहिर तर, नजिकै रहेको अर्को अपार्टमेन्ट हो भने, सिटी स्क्याप । यो अपार्टमेन्ट १७ तलाको छ । उक्त अपार्टमेन्टमा चिकित्सक तथा व्यवसायी बस्ने गरेका छन् । यो ललितपुरको हातिवनमा छ ।

सेन्ट्रल पार्क अपार्टमेन्ट

काठमाडौंको विशालनगरमा सेन्ट्रल पार्क अपार्टमेन्ट छ । यो १६ सय स्क्वायर फिटदेखिको अपार्टमेन्ट हो । यो अपार्टमेन्ट भने चक्रपथभित्र छ ।

प्रेस्टिज अपार्टमेन्ट

काठमाडौंको चण्डोल र धुम्बाराहीको बीचमा प्रेस्टिज अपार्टमेन्ट छ । यो अपार्टमेन्ट १५ तलाको छ ।

अपार्टमेन्ट व्यवसायलाई पाँच वर्षअघिको भूकम्पले ठूलो क्षति पुर्याएको थियो । सहरलाई व्यवस्थित बनाउने अपार्टमेन्ट भूकम्पपछि विस्तारै उठेको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले अमापर्टमेन्टहरुमा ६० डेभलपरहरु रहेको बताए । उनका अनुसार भूकम्पको बेलामा जम्मा ६२ वटा अपार्टमेन्ट थिए । तीमध्ये जम्मा दुईवटामा रातो लागेको श्रेष्ठको भनाइ छ ।

औद्योगिक ऐन २०७३ को दफा १५ मा हाउजिङ व्यवसायलाई पूर्णरुपमा उद्योगको रुपमा परिभाषित गरिएको छ । तर, राष्ट्र बैंकको निर्देशिकामा यसलाई उत्पादनमूलक मानिएको छैन । हाउजिङबाट उद्योग, निर्माण सामग्री उत्पादन गर्ने उद्योगलाई सहयोग भइरहेको छ । उक्त ऐनलाई कार्यान्वयन गर्नेतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।

अहिले ५० लाखदेखि सवा करोड रुपैयाँसम्ममा अपार्टमेन्ट उपलब्ध छन् । ढेड करोडदेखि तीन करोडसम्म हाउजिङ उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: