खुम्जुङ : संसारकै उचाइमा रहेको गाउँको कीर्तिमानै कीर्तिमान « Nagarik Khabar

खुम्जुङ : संसारकै उचाइमा रहेको गाउँको कीर्तिमानै कीर्तिमान



  • दीपेन्द्र राई

भोटेकोसी दोभान पार गर्नासाथ जोरसल्ले आउँछ । जोरसल्लेको नाकै ठोक्किने उकालो सकिएपछि विश्वकै सर्वाधिक उचाइमा रहेको स्याङ्बोचे विमानस्थल पुगिन्छ । स्याङ्बोचेबाट खुम्जुङ आउँछ । खुम्जुङ पर्वतारोहीको गाउँ हो ।

संसारकै उचाइमा रहेको गाउँ
सुन्दर, मनोरम खुम्जुङले जोकोहीलाई मोहनी लगाउँछ । चिसो सिरेटोमा सिउसिउ गर्दै यहाँबाट देखिने हिमशृंखला नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न जोकोहीलाई हम्मेहम्मे पर्छ । हिउँको माला लगाएर ठाँटिएको खुम्जुङ हिउँकै छायाँको बर्काे ओढेर टुसुक्क बसेको छ । हेर्दै लोभलाग्दो । खुम्जुङमै भेटिएका विदेशी पर्यटक भिक गौलेटले सुनाए, ‘मिल्ने भए चोरेर आफ्नै देश लैजाउँजस्तो ।’

हिउँको माला लगाएर, हिउँकै छायाँको बर्काे ओढेर टुसुक्क बसेजस्तो स्थानीय युवकयुवती फुर्सदिला छैनन् । स्थानीय युवकयुवती सालिन्दा कैयौंपटक विश्वको सर्वाेच्च शिखर सगरमाथा उकालिन्छन् । ओरालिन्छन् । यहाँका ३५ जनाभन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकाले अधिकांशले सगरमाथा आरोहण गर्नुलाई पानीप“धेरोजस्तै ठान्छन् ।

स्थानीयले पर्वतारोहणलाई जागिर, बैंक ब्यालेन्स वा खेतीपाती जे ठाने पनि खुम्जुङमा नगदेबाली पनि उब्जनी हुन्छ । नगदेबालीभन्दा खुम्जुङको मुख्य आयस्रोत पर्वतारोहण हो भन्दा अन्यथा ठहरिँदैन । पर्यटकको रोजाइमा परेको खुम्जुङका महिला होटल व्यवसाय र पुरुषचाहि पर्वतारोहणतिर आकर्षित छन् ।

अधिकांश स्थानीयले सगरमाथाका साथै नेपालका ८००० भन्दा माथि उचाइका हिमशिखर आरोहण गरिसकेका छन् । उनीहरूको भनाइ छ, ‘पर्वतारोहण गर्नु रहर नभएर बाध्यता हो ।’ सरकारले पर्वतारोहीलाई उचित सुविधा दिन नसकेकोमा उनीहरू दुःखेसो पोख्छन् । पर्वतारोहणले स्थानीय शेर्पा विदेशी पर्यटकको साथ लागेर अमेरिका, जापान, जर्मनी र बेलायतसम्म पुगेका छन् ।

सगरमाथा आरोहण गर्न हिडेका पर्वतारोहीको क्याराभान देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ । यो संसारकै उचाइमा रहेको गाउँ हो । यहाँको स्याङ्बोचे विमानस्थल पनि विश्वको सर्वाधिक उचाइमा रहेको विमानस्थल मानिन्छ ।

खुम्जुङ सरगरमाथा, पुमोरी, आमाडब्लमलगायतका हिमशिखरको काखमा रहेको छ । सगरमाथा आरोहण गर्न हिडेका पर्वतारोहीको क्याराभान देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ । यो संसारकै उचाइमा रहेको गाउँ हो । यहाँको स्याङ्बोचे विमानस्थल पनि विश्वको सर्वाधिक उचाइमा रहेको विमानस्थल मानिन्छ । संसारकै उचाइमा रहेको होटल एभरेष्ट भ्यु पनि खुम्जुङमै पर्छ । पाङ्बोचेको गुम्बासमेत संसारकै उचाइमा रहेको गुम्बा हो ।

शेर्पाको घर–जग्गा अन्य समुदायले किन्न नपाइने
खुम्जुङवासीले स्थानीय संस्कृति जोगाउन विविध उपाय अवलम्बन गरेका छन् । स्थानविशेषको जातीय संस्कृति जोगाइराख्ने प्रभावकारी उपाय के–के हुन सक्लान् ? संस्कृतिप्रति सचेतता र आफ्नो सालनाल गाडिएको माटोको मायाले मात्रै संस्कृति जोगिएला र ? त्यसो भए के गर्न सकिन्छ ? उल्लिखित प्रश्नको जवाफ खोज्दै हुनुहुन्छ भने खुम्जुङ पुग्नैपर्छ ।

पहाडका मानिस आफूसँग भएको जायजेथा बेचेर मधेस तथा सहरतिर बसाइँ सर्ने गर्छन् । हिजोआज पनि यो क्रम रोकिएको छैन । तर, शेर्पा समुदायको बाहुल्य रहेको हिमाली जिल्ला सोलुखुम्बुका खुम्जुङे शेर्पालाई मधेस र सहरको रमझमले तान्न सकेको छैन । उनीहरूलाई आफ्नै गाउँघर प्यारो लाग्छ । आफूसँग भएको जायजेथा बेच्नै परेमा उनीहरूले गाउँठाउँबाहिर त्यो पनि शेर्पाइतरका समुदायलाई बेचविखन गर्न पाउँदैनन् । आफ्नै समुदायकालाई बेच्नुपर्छ । यो स्थानीयले पालना गर्नुपर्ने अनिवार्य सर्तजस्तै हो ।

साबिक खुम्जुङ गाउँ विकास समिति भूपू उपाध्यक्ष ल्हाक्पा शेर्पाको भनाइ छ, ‘सर्वप्रथम खुम्जुङमा बेच्ने जग्गा छैन । दोस्रो, हामीले घर–जग्गा किनबेचमा रोक लगाएका होइनौं, बेच्न चाहनेले आफ्नै समुदायका नातागोता तथा इस्टमित्रलाई मात्रै बेचौं है भनेका हौं । त्यसो गर्दा खुम्जुङमा अन्य समुदायले स्थायी बसोबास गर्न पाउँदैनन् । खुम्जुङमा अन्य समुदायको स्थायी बसोबास नहोस् भन्नुको मतलब शेर्पा समुदायको सांस्कृतिक तथा धार्मिक अस्तित्वमा बाधा नपुगोस् भन्नु नै हो ।’

आन्तरिक तथा बाह्य पर्यटकमात्रै होइन, कामको खोजीमा खुम्जुङ पुग्ने बाक्लै भेटिन्छन् । बाहिरबाट पुगेकाको बसोवास बाक्लियो भने स्थानीय जातीय पहिचान नासिँदै जाला भन्ने उनीहरूलाई चिन्ता छ । ‘किन्ने र बेच्नेबीचको सहमतिमा जोकोहीले जहाँतहीँ घर–जग्गा किन्न र बेच्न पाउने प्रावधान रहे पनि खुम्जुङमा त्यसो गर्न पाइँदैन । हामी हाम्रो गाउँठाउँलाई सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलका रूपमा चिनाउन लागिपरेका छौं,’ उनीहरूको बुझाइ छ, ‘हाम्रो गाउँठाउँमा हाम्रै समुदायको मात्रै बसोवास होस् । त्यसो भयो भनेमात्रै सांस्कृतिक अतिक्रमण रोकिन्छ । तसर्थ, स्थानीयको सामूहिक सहमतिमा हामीले गाउँठाउँबाहिरकालाई घर–जग्गा बेच्न नचाहेका हौं ।’

‘संस्कृति जोगाउने नाममा शेर्पा समुदायका पितृहरूले बास गरेको आदिम भूमि बेच्न नचाहनु खुम्जुङे शेर्पाहरूको नैसर्गिक अधिकार हो’

खुम्जुङमा त्यस्तो अभ्यास थालिएको थुप्रै भइसकेको छ । अभ्यास कार्यान्वयनमा आएपनि घर–जग्गा बेच्छु भन्नेले बेचिरहेकै छन् । उनीहरूले आन्तरिक रूपमै किनबेच गरिरहेकै छन् । आफूहरूले बनाएको स्थानीय नीतिले उनीहरूको समाज अस्तव्यस्त भएको छैन ।

आफ्नो गाउँठाउँमा बाहिरबाट आएकाको वर्चस्व रहेमा स्थानीय विस्थापित हुने सम्भावना उत्तिकै रहन्छ । ‘संस्कृति जोगाउने नाममा शेर्पा समुदायका पितृहरूले बास गरेको आदिम भूमि बेच्न नचाहनु खुम्जुङे शेर्पाहरूको नैसर्गिक अधिकार हो,’ मानवशास्त्री डा. डम्बर चेम्जोङ भन्छन्, ‘बेच्न चाहनेले समुदायभित्रकै किन्न चाहने ग्राहक खोजिदिनु कति राम्रो परम्परा । यस्तो परम्पराले सांस्कृतिक अतिक्रमण रोकिनु त छँदैछ, आफ्नो माटोमा सिर्जेको आम्दानी गाउँमै राख्न सकिन्छ ।’

पहिचानको राजनीतिमात्रै होइन, शेर्पा समुदाय बजारको प्रभावबारे त्यत्तिकै जानकार छन् । बजारलाई कसरंी उपभोग गर्न सकिन्छ भन्ने उनीहरूले बुझेका छन् । ‘खुम्जुङ पर्यटकीय स्थल भएकाले व्यापारी तथा व्यवसायीको त्यो ठाउँमा आ“खा लाग्नु स्वाभाविकै हो । तसर्थ, बिक्रेताले भनेजति रुपैया“ हालेर घर–जग्गा किन्न जोकोही निक्लेलान् । त्यसो भयो भने वनसाङ्लोले घरसाङ्लो खेदेजस्तै नहोला भन्न सकिन्न,’ चेम्जोङको ठम्याइ छ, बाहिरबाट आएका व्यापारीबाट स्थानीय व्यापारी प्रभावित हुनु भनेकै स्थानीय अर्थतन्त्र तहसनहस हुनु हो । संस्कृति जोगाउने नाममा अन्य समुदायलाई घर–जग्गा बेच्न नदिँदा गाउँमा आर्जेको सम्पत्ति गाउँबाहिर जाँदैन ।’

खुम्जुङे शेर्पाहरूले बनाएको त्यस्तो नियम जातीय एकाधिकारवाद हो भन्ने पनि नभएका होइनन् । तर, आदिवासी जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङ भने त्यो भनाइस“स सहमत छैनन् । डा. गुरुङ भन्छन्, ‘आफ्नो संस्कृति जोगाइराख्न पाउने अधिकार सबैलाई हुन्छ । संस्कृति जोगाउने नाममा स्थानीय नीति–नियम बनाइए पनि जातीय पहिचान बचाउन खोज्दा कसरी जातीय एकाधिकारवाद हुन्छ ?’

डा. गुरुङका अनुसार मनाङको ङिसाङ उपत्यकामा पनि खुम्जुङका शेर्पाले जस्तै आफ्नो समुदाय प्रवद्र्धनका लागि एकखालको नियम बनाएका छन् । तीनगाउँले थकालीमा पनि त्यस्तोखालको परम्परा सुरुवात गरेका हुन् ।

भारतको नागाल्यान्ड, मेघालयमात्रै होइन, विश्वमा जहाँ–जहाँ आदिवासी जनजाति बसोवास गर्छन्, त्यहाँका जनजातिले जातीय पहिचान जोगाउन आफ्नो समुदायको हितअनुकूल नीति–नियम बनाएको पाइन्छ ।

‘ग्रीन भ्यालीका रूपमा चिनिएका खुम्जुङ र खुन्दे सोलुखुम्बुका अन्य गाउँभन्दा पृथक देखिन्छन् । ‘गाउँ लोभलाग्दो देखिएपछि नाम्चे हुँदै तेङ्बोचे जानुपर्ने पर्यटकको पाइला खुम्जुङतिर सोझिन्छ ।

गाउँभरिका घरको छानो हरियो

सोलुखुम्बुको खुम्जुङ र खुन्देवासीको घरको छानो हरियो रङकै हुनुपर्छ । यो अनिवार्य सर्त हो । त्यो सर्त स्थानीयले पालना गर्नैपर्छ । गर्दै पनि आएका छन् ।

स्थानीयले हरियो रङको छानो छाएपछि खुम्जुङ र खुन्दे लोभलाग्दो देखिएको छ । त्यसैले खुम्जुङले ‘ग्रीनभ्याली’ को उपमा पाएको हो । ‘ग्रीन भ्यालीका रूपमा चिनिएका खुम्जुङ र खुन्दे सोलुखुम्बुका अन्य गाउँभन्दा पृथक देखिन्छन् । ‘गाउँ लोभलाग्दो देखिएपछि नाम्चे हुँदै तेङ्बोचे जानुपर्ने पर्यटकको पाइला खुम्जुङतिर सोझिन्छ ।

खुम्जुङलाई ग्रीन भ्याली बनाउनु भनेको त्यहाँ पुगेका पर्यटकको बसाइ लम्ब्याउनु पनि होे । ‘जानियो भने घरको छानो देखाएरसमेत पर्यटक लोभ्याउन सकिँदोरहेछ,’ स्थानीय तेन्जिङ टासी शेर्पाको जिकिर थियोे, ‘अन्ततः यहाँका घरको छानो पर्यटक लोभ्याउने गतिलो माध्यम बन्यो ।’

घरको छानो हरियो भएकाले पर्यटकमात्रै होइन, चराचुरुंगीसमेत आकर्षित भएका छन् । पहिले–पहिले जंगलमा मात्रै देखिने चराचुरुंगी हिजोआज घरका छानोछानोमा चिरबिरचिरबिर गरेको सुनिन्छ । ‘चराचुरुंगीको चिरबिर सुनिरहू“ लाग्ने स्थानीय पेमा डोमा शेर्पाले सुनाइन् । शेर्पाका अनुसार कतिपय चराचुरुंगी गाउँमै बास बस्छन् । कतिपयले घर–घरमै गु“ड लगाएका छन् ।

गाउँभरिकाको घरको छानो एकै रङको बनाउने आफूले देखेको सपना गाउँलेलाई सुनाउँदा एकताका स्थानीय तेन्जिङ शेर्पा आलोचित थिए । आलोचित शेर्पाले देखेका सपना टीएमआई (द माउन्ट) नामक संस्थाले साकार पारिदिएको छ । द माउन्ट र स्थानीयको सहकार्यमा गाउँको रूप बदल्न सहज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: