नेकपा (मसाल)लाई सक्न होइन, इतिहास बचाउन आन्दोलन ! « Nagarik Khabar

नेकपा (मसाल)लाई सक्न होइन, इतिहास बचाउन आन्दोलन !



  • सागर कुँवर

बागलुङ । कुनै समयमा नेपालको कम्युनिष्ट आन्दोलनमा माओ भनेर चिनिएका नेता क. मोहनविक्रम सिंह र चाओ भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहनविक्रम र निर्मल लामाबीचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, मोहनविक्रमले निर्मल लामालाई सिआइडीको संगीन आरोप लगाए । पार्टीमा फुट आयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा प्रमुख नेतामा गनिने नेतृत्व उत्पादन गरेका क.मोहनविक्रमको नेकपा(मसाल) मा प्रायजसो फूट नै आएको देखिन्छ । तत्कालिन एकताकेन्द्रसँग गरेको एकता चार वर्षमा नै टुट्यो भने मसाल महामन्त्री भएर पार्टी हाँकेका नेता रामसिंह श्रीससहितका कैयौं नेता कार्यकर्ताहरु पनि मसालबाट बाहिरिए ।

त्यो फूट पछि नेकपा(मसाल) को पुर्नस्थापनामा दिलो ज्यान दिएर लागेका नेता डिलाराम आचार्य र गिरिधारीलाल न्यौपाने पनि त्यसको झण्डै चार वर्षमा पार्टीबाट बाहिरिए । उनीहरु त्यसरी बाहिरिनुका पछाडि उनीहरुको मात्र दोष थियो कि, पार्टी नेतृत्वको पनि दोष थियो ? त्यसको समिक्षा कहिल्यै भएन ।

बाहिरिनेहरुलाई तथानाम गालीगलौज गर्नेबाहेक अर्को कुनै समिक्षा भएको इतिहास छैन् । तथानाम गाली गरेर मात्र पनि पार्टी बन्दैन् भन्ने त इतिहासले प्रमाणित गरिसकेको छ ।

पार्टीबाट बाहिरिनेहरु सबै गलत हुन्, अवसरवादी हुन्, धोकेवाज हुन् भनेर उनीहरुलाई गाली गर्नेहरुले पनि नेकपा(मसाल) लाई एउटा गतिशिल पार्टी बनाउन सकेनन् ।

मोहनविक्रम र चित्रबहादुरको वैसाखी टेकेर कतिपय नेताले अहिले पनि आफ्नो योजना पार्टीमा अनुमोदन गराउने काम गरि नै रहेका छन् । पार्टी नेता चित्रबहादुर के.सी. उपप्रधानमन्त्री हुँदा पनि त्यस प्रकारको चालबाजी देखिएको थियो । त्यसलाई त पुरै लुकाउनले प्रयास भयो । मोहनविक्रम र चित्रबहादुर नेपालको राजनीतिमा इमान्दार छन् भन्ने कथन पनि अब छर्लङ्ग भएको छ ।

अहिले हल्ला चलिरहेको छ हाँकको विवाद । हाँकको विवादसँगै नेकपा(मसाल) फुटाउन खोजिएको छ भनेर सामाजिक सञ्जालमा निकै प्रचार छ ।

कहिल्लै पार्टीको काम नगर्ने, पार्टीको कार्यक्रमलाई सफल बनाउन प्रयास नगर्नेहरु नै अहिले पार्टी हाम्रो हो भनेर निकै नै उफ्रिरहेका छन् । त्यो भ्यागुतो उफ्राइले पनि मसालको गतिहिनतालाई खास अगाडि बढाउने सम्भावाना छैन् ।

हाँक विवादमा परेका नेता गोविन्दसिंह थापादेखि त्यसको पक्षमा लागेका कुनै नेता तथा कार्यकर्ताले पार्टी छाडेर जाने सम्भावाना छैन् । भाग, छोड भन्दैमा मैदान खाली गर्नेवाला कोही छैन् । छोडेर जालान र यहाँ हजारौं पार्टी कार्यकर्ताहरुको रगतले सिंचिएको पार्टी सम्पत्तीमा हाली मुहाली गरौंला भनेर परिस्थितिलाई अतिरञ्जित गर्नेहरुका कमी छैन् ।

राजनीतिमा लागेको दुइ दशक पनि नभएका केही कमरेडहरु गोविन्दसिंहलाई बच्चा झै सामाजिक सञ्जालमा सम्झाउँदै छन् । त्यो प्रकारको रोदनले पार्टी चल्ने भए आज मसाल धेरै अगाडि बढ्ने थियो ।

मिसन पत्रकारिताको विचारधारात्मक संघर्षमा संधै क्रान्तिकारी विचाराधारको पक्षमा सगरमाथा भएर उभिएको, निमुखा जनताको पक्षमा, राष्ट्रिताको पक्षमा कुनै विश्राम नलिएको, शहिदको सपना पुरा गर्न निरन्तर आवाज बोकेको, सर्वहारा वर्गको राजनीतिक विचारधारा प्रवाह गरिरहेको पत्रिका हाँक हो ।

संकटकालिन कालकोठरीको समयमा पनि कुनै सम्झौता नगरिकन निरन्तर परिवर्तनको पक्षमा आवाज ओकलेको, कम्युनिष्ट आन्दोलनमा देखिएका उग्रवामपन्थी भड्काव, दक्षिणपन्थी अवसरवाद, नवसंसोधनवादका विरुद्ध वैचारिक लडाई लड्दै आएको पत्रिका हाँक साप्ताहिक हो ।

चुनौतिका पहाडहरु भत्काउँदै आफ्नो मिसनमा सम्झौता नगरिकन अगाडि बढिरहेको पत्रिका हाँकलाई नेकपा(मसाल) को केन्द्रीय समितिले बन्द गर्ने जुन अप्रिय निर्णय ग¥यो, त्यो नेकपा(मसाल) को आठौं महाधिवेशनले लिएको दक्षिणपन्थी कार्यदिशाको परिणाम हो ।

हाँक साप्ताहिक प्रधान सम्पादक तथा प्रकाशक थापामाथी जुन अभियोग लगाइएको छ, त्यो कार्यकर्ताहरुलाई भ्रममा पार्न गरिएको एउटा प्रपञ्च मात्र हो, कुनै वास्तविकता होइन् ।

जुन दिनसम्म नेकपा(मसाल) ले माक्र्सवाद, लेलिनवाद र माओविचारधाराको पक्षमा आफूलाई इमान्दारिताका साथ पक्रेको थियो, त्यो बेलासम्म हाँकलाई प्रा.लि.मा लैजाने कुनै प्रकारको योजना नै थिएन ।

जब नेकपा(मसाल) ले नवसंसोधनवादी बाटो समात्दै गयो, हाँकलाई पनि नवसंसोधनवादी विचार बोकाउन भरमग्दुर प्रयास गरियो । पार्टीका उर्जावान तथा गतिशिल नेता कार्यकर्ताका लेखहरु हाँकमा छाप्नको लागि प्रतिबन्ध लगाइयो ।

केही कामरेडका लेखहरु हाँकमा पार्टी नेतृत्वले प्रतिबन्ध लगायो र हाँकलाई दक्षिणपन्थी संसोधनवादी विचार बोक्ने पत्रिकाको रुपमा विकास गर्न धेरै प्रयासहरु भए तर त्यो सम्भव भएन ।

नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको ऐतिहासिक बिरासत बोकेको हाँक पत्रिकालाई थापाले नदिएको आरोप लगाएर, थापामाथी गालीगलौज गरेर हाँक साप्ताहिकलाई समाप्त गर्नेगरी हाँक बन्द गर्ने नाटक नेकपा(मसाल) ले ग¥यो ।

मसालको यो निर्णय कुनै अस्वभाविक होइन् । आठौं महाधिवेशनले लिएको दक्षिणपन्थी कार्यदिशाको कार्यान्वयनको पहिलो अभ्यास हो ।

पार्टी जीवन सधै पार्टी, क्रान्ति, देश, जनताको पक्षमा गोविन्द संह थापाले संघर्ष गरे । उनले कहिल्यै पदको लागि मरिहत्ते गरेनन् । आफू विरामी हुँदा पनि निरन्तर पार्टी काममा लागिरहे । हाँक साप्ताहिकको उन्नती प्रगतिको लागि उनले कुनै कसर बाँकी राखेनन् ।

गोविन्द सिंहले हाँकलाई ‘क’ वर्गको पत्रिका बनाउन निरन्तर संघर्ष गरे । प्रतिक्रियावादी, अवसरवादीहरुले दिएका कैयौ दुःख कष्टहरुको सामना गर्दै हाँकलाइ अगाडि बढाइरहे ।

कुरा नबुझ्नेलाई बुझाउन सजिलो हुन्छ तर कुरा बुझेर बुझ पचाउनेहरुलाई भने जति बुझाए पनि नबुझेको नै नाटक गर्छन । अहिले पनि ठिक त्यही गरेका छन ।

कतिपय मान्छेहरु आकाश खसे झै लौ पार्टी सकिने भयो भनेर अतालिएका छन । तिनिहरुको मुखको माड बन्द हुने भएपछी आत्तिनु अस्वभाविक पनि भएन ।

एकथरी सानो जमात गोविन्दसिंह थापा (मामा) लाई तथानाम गाली गर्न ब्यस्त छन । उनीहरुको पिर यो छ कि मामाले हाँक दिएनन् ।
मामाले हाँक नदिएका नै होइनन, त्यसमा मामाको स्वामित्व नै छैन । मामाले त हाँक प्रालिमा लैजान हुन्न मात्र भनेका हुन् । हाँकलाई तीन जनाको प्रा.ली.मा लगेर जसले आफ्नो दुनो सोझाउन खोजेका थिए त्यसमा मामाको कदमले बज्रप्रहार भयो । त्यसरी बज्रप्रहार भए पछि रोइकराइ गर्नु पनि अस्वभाविक त भएन । अहिले भएको त्यहीँ हो ।

हाँकलाई प्रा.लि.मा लैजाने जुन कुरा छ, त्यो प्रा.लि.मा नियुक्ति गरिका मान्छेहरु के सधै पार्टीमा बस्छन् भन्ने कुनै ग्यारेन्टी छ ? छ्रैन् भने हाँक झन कसरी सुरक्षित हुन्छ ?

प्रालिमा बहुमत बनाएर पार्टीबाट भागे भने त्यसको जिम्मा कसले लिन्छ ? गोविन्द सिंहले त पार्टीले नै हाँक चलाओस भनेकै छन् ।

अर्कोतिर हाँकले सधैभरी क्रान्तिकारी विचारलाई साथ दिंदै आएको छ । अहिलेपनि हाँकले त्यो जिम्मेवारी निभाउनु नै पर्दछ । दक्षिणपन्थीहरुको वैधानिक पत्र बन्नु हाँकको ईतिहास माथी कै धोका हुन्थ्यो ।

त्यस अवस्थामा हाँकलाई दक्षिणपन्थीहरुको बनाउन नदिनु नै सहि हुन्थ्यो । मामाले प्रालिमा लान हुन्न भनेर जे गर्नुभयो ठिक गर्नुभयो । कुरा रह्यो पार्टी अनुशासनको । अनुशासन निरपेक्ष त हुन्न । क्रान्तिकारी विचारधाराको रक्षाको लागि कहिलेकाहीँ यस्ता परिस्थितिहरु आउँछन, त्यतिबेला हामीले मान्दै आएका नियम कानुनहरुलाई पनि तोड्नुपर्छ ।

सामन्ती व्यवस्थामा भएका नियम कानुनहरु नतोडेसम्म पूजीवादी व्यवस्था आउँदैन, पूजीवादी व्यवस्थाका नियम कानुनहरु नतोडेसम्म समाजवादी व्यवस्था पनि आउँदैन । त्यसै गरि दक्षिणपन्थीहरुको नियम कानुनहरु नतोडेसम्म क्रान्तिकारी धार बलियो त बन्दै बन्दैन ।

लेनिनले पनि भनेका छन, क्रान्तिकारी विचारधाराको रक्षाको लागि कहिलेकाहीँ नियमकानुनहरु पनि तोड्नुपर्छ । अहिले पनि भएको ठिक त्यहीँ हो । त्यही आधारमा हाँकको गौरवशाली इतिहासलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।

कतिपय साथीहरुले पार्टी फुट्छ कि भनेर पिर मानेका छन । पार्टी फुटाउने नियत त यहाँ कसैको देखिएन । नियत पार्टीमा मौकाएको दक्षिणपन्थी कार्यदिशा र व्यवहारलाई सच्चाउने देखियो । अनि केही मान्छेहरु नेतृत्वको जिउ हजुरी गरेर भए पनि नेता बन्न जो चाहन्छन उनिहरुले परिस्थितिलाई उचाल्न खोजिरहेका छन ।

वास्तविकतालाई गलत व्याख्या गरिरहेका छन । त्यसरी पार्टी अगाडि बढ्ने त कुनै सम्भावना नै छैन । पार्टीका उपल्लो तहका नेताहरु नै तल्लो तहको गालीगलौजमा उत्रिदै गए पछि के पार्टीमा भावानात्मक एकता संभव छ ? त्यो कुरा ख्याल नगरिकन डिलाराम र रामसिंहको उदाहरण पेश गरेर त हुन्न ।

विगतका कतिपय घटनालाई अहिलेको स्थितिमा जोडेर अतिरञ्जित गरेर केही मान्छेहरु आफ्नो दुनो सोझाउन व्यस्त छन । यो तरिका कामचोर प्रवृत्ति हो । कामचोरहरु सबैभन्दा बढी नेतृत्वको रक्षाको नाममा आफ्ना कुकृत्यहरु दबाउन खोजिरहेका छन ।

हाँकको सन्दर्भमा देखिएका कैयौं मान्छेहरुको नियत पनि त्यही छ । मामाले जे गरे ठिक गरेका छन् । त्यो बाटो आजको सहि बाटो हो । उनले दक्षिणपन्थीको धज्जी उडाएका छन् । दक्षिणपन्थीको धज्जी उडाइदिए पछी केही मान्छेहरु बरबराइरहेका छन्, जुन अस्वभाविक पनि होइन ।

देश विदेशमा रहेका समर्थक शुभचिन्तकले यो बुझनुहोस, यहाँ नेकपा(मसाल) लाई सक्नको लागि होइन्, पार्टी गौरवशाली इतिहासलाई बचाउँनका लागि नै संघर्ष चलेको छ । त्यसप्रकारको संघर्षमा गोविन्दसिंहलाई निस्काशन गरिएका हो ।

मामाले दक्षिणपन्थी विचारका विरुद्ध संघर्ष गरेकै कारणले कारवाहीमा परेका हुन् । पाचौं महाधिवेशनले साधरण सदस्य समेत नरहने गरि कारवाही परेका मोहनविक्रमलाई तिनै गोविन्द सिंहले साथ दिएर विचारधाराको रक्षाको लागि पार्टी फुटाएर महामन्त्री बनाएर पार्टी बनाएका थिए ।
उनै मामाको काँधमा चढेर बनाएको पार्टी महामन्त्रीले बुढेसकालमा मामाको उपचार गर्नु पर्ने र जिम्मा लिनुपर्नेमा पार्टीबाट अनिश्चितकालिन निष्काशन गर्दै गालीगलौज गर्नु कहाँको न्याय हो ? यो उपयोगितावादको राजनीतिले पार्टी राम्रो बन्छ कि झन सकिँदै जान्छ ? आम कार्यकर्ताले यो विषयमा सोच्नुपर्ने बेला भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: