सामाजिक सञ्जालमा ‘फादर्स डे’ : तपाईंको मुखभन्दा तपाईंलाई मुख देखाउनलायक बन्न सकूँ « Nagarik Khabar

सामाजिक सञ्जालमा ‘फादर्स डे’ : तपाईंको मुखभन्दा तपाईंलाई मुख देखाउनलायक बन्न सकूँ



  • दीपेन्द्र राई

भदौ १३, अर्थात् कुशेऔंसी ।

हिन्दु धर्मावलम्बीले भाद्र कृष्ण औंसीलाई बुवाको मुख हेर्ने चाडका रूपमा मनाउँदै आएका छन् । सामाजिक सञ्जाल ‘फादर्स डे’ मय बनेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले बुवाको सम्मान र सम्झनामा सामाजिक सञ्जाल रंग्याएका छन् ।

पितृदेवो भवः ।

हिन्दु धर्मावलम्बीले जन्मदाता बुवालाई देवतातुल्य ठान्छन् । आज बुवालाई मीठो–मसिनो खान दिने, लत्ताकपडालगायत उपहार दिँदै ‘फादर्स डे’ मनाइँदै छ । विभिन्न शीर्षकमा घरभन्दा पर रहनेले सामाजिक सञ्जालमार्फत बुवालाई सम्झेका छन् । त्यसमध्ये एक हुन्– भरतपुर महानगरपालिका चितवनकी मेयर रेणु दाहाल ।

‘ह्याप्पी फादर्स डे बुवा,’ मेयर दाहालले सामाजिक सञ्जाल फेसबुकमा एकाबिहानै लेखेकी थिइन्, ‘आज बुवाको मुख हेर्ने दिन । कामविशेषले केही टाढा छु । फेरि पनि आजको दिनमा हालका हरेकखालका चुनौती सामना गर्दै सक्षम र सशक्त नेतृत्व प्रदान गर्न थप सफलताको शुभकामना बुवा ।’

‘आज बुवाको मुख हेर्ने र आशिर्वाद लिने दिन । मैले पनि तस्बिरमै बुवालाई नमन गरें । म जहाँ पुगेकी छु, त्यसका कारण बुवामुमा र गुरुको आशिर्वाद नै हो । सानैमा बिहे गरिदिनुपर्छ भन्ने नाता–कुटुम्ब र समाजको कुरै नसुनी उहाँहरूले मेरो धेरै पढ्ने इच्छा पूर्ण गरिदिनुभयो,’ त्रिभुवन विश्वविद्यालयकी रेक्टर सुधा त्रिपाठीले ‘फादर्स डे’लाई यसरी सम्झेकी छन्, ‘मलाई दोलखाको सुनखानीबाट काठमाडौंमा पढाउन ल्याउँदा बुवा बेरोजगार हुनुहुन्थ्यो । लेखेर जीविकोपार्जन गरिरहनुभएको थियो । त्यस जमानामा बेरोजगार हुँदाहुँदै त्यसमाथि पनि छोरीलाई काठमाडौं ल्याएर पढाउने मेरा पिताजी विद्वत्केशरी जगन्नाथ शर्मा त्रिपाठी (प्राध्यापक) को आशिर्वाद हो, मेरो सम्पूर्ण जीवन र यसको उपलब्धि ।’

सबैका लागि पितामाता प्रिय, सम्मानित र राम्रा लाग्ने वरिष्ठ पत्रकार तीर्थ कोइरालाको बुझाइ छ । ‘म अपवाद होइन । अझ दिवंगतको सम्झनाले घोच्छ, पोल्छ र सताउँछ । अथाह सम्झनाहरूले घेर्छन् । हरेक दिन सम्झना आउँछ,’ वरिष्ठ पत्रकार कोइराला लेख्छन्, ‘उहाँको इमानदार, सरल, ठट्यौलो, मिजासिलो, सकारात्मक र सामाजिक व्यक्तित्व मेरालागि सधैं प्रेरणाका विषय हुन् । आज कुशेऔंसी, नेपालीको परम्पराअनुसार आफ्नो पिता, बुवा अर्थात् बावुको मुख हेर्ने विशेष दिन भएकाले मैले पनि सार्वजनिक रूपमा बुवा कोमलप्रसाद कोइरालालाई यो तस्बिरसहित स–सम्मान सम्झिएँ, फेसबुकको सञ्जालमा । संसारका बाहरूलाई सम्मानसहित ।’

सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले पनि सामाजिक सञ्जालमार्फत आफ्ना बुवालाई शुभकामना दिएकी छन् । ‘बुवाको मुख हेर्ने दिनको शुभकामना बुवा । पूर्वीय संस्कृतिको यो अनुपम चलनले आफ्ना जन्मदाताको सम्मान गर्न सिकाएको छ,’ आयुक्त तिम्सिनाको चाहना छ, ‘कसैले बुवाहरू खराब हुन सक्छन् भन्दा पत्याउन दसपटक सोच्नुपर्छ मलाई, किनकि बुवा भनेका हजुरजस्ता हुन्छन् भनेर दिमागमा तस्बिर बसेको छ । यस्ता महान् व्यक्ति हजुरलाई सधैं बुवा भन्न पाइयोस् ।’

पत्रकार गिरीश गिरीले दिवंगत बुवालाई सम्झेका छन् । ‘२०३२ साल (धनकुटा), २०३५ तिर (जापान), २०४६ (वीरगन्ज जेल), (२०५१ पत्रकार महासंघ पर्साका संस्थापक सभापतिको दोस्रो कार्यकाल सकिँदा),’ पत्रकार गिरीले दिवंगत बुवा गोपाल गिरीलाई सम्झँदै लेखेका छन्, ‘२०६० (पाँच लाख चन्दा नदिएकाले माओवादी कार्यकर्ताद्वारा हत्या हुनुभन्दा केही दिनपहिले बीपी उद्यानका लागि जग्गा जुटाउँदा वीरगन्जमै)…..सम्झिरहनेछु बुवा ।’

पत्रकार राजकुमार दिक्पालले बुवाको सम्मानमा फेसबुकबाटै सम्मानभाव प्रकट गरेका छन्– समाजसबाट मैले अनुशासन र मिहिनेत सिकें । कप्तान आसबहादुर यक्सो लिम्बू, मेरो बुवा अनि सगौरव भन्नुपर्दा माबोहाङ यक्सो वंशावलीका संरक्षक ।

‘बुवा, म त ठूलो भएँ । तर, तपार्इंले बोक्नुभएको पीर, भारी अझै उस्तै गहु्रँगो छ,’ पत्रकार राजेश राई भन्छन्, ‘भारीको नाम्लो पूरै मेरो टाउकोमा राख्न त सकेको छैन । तर, तपाईंको काँइलोले जारी राखेको छ । ह्याप्पी फादर्स डे ।’

पत्रकार तथा लेखक गणेशकुमार राईको मान्यता अलि फरक छ । ‘ममी–पापाको खास ठूला सपना छैनन्, हाम्रो सापेक्षतामा । निखुर कोदोको जाँड पकाउने, रक्सी पार्ने र छोराहरू घर फर्कंदा सँगै बसेर पिउनेखालका सामान्य सपनामात्रै छन्,’ बुवाको मुख हेर्ने दिनमै पत्रकार तथा लेखक राई फेसबुकमा लेखेका छन्, तर, उनीहरूका लागि त यो असामान्य सपना हो । एक हिसाबले महत्वाकांक्षा नै हो भन्न सकिन्छ ।’

पापाका लागि आफू बेसी नै विद्रोही छोरा भएको उनले खुलासा गरेका छन् । ‘किनभने म प्रायः ममी–पापाबीचको खटपटमा ममीको पक्षमा जहिल्यै हुन्थें । धेरैजसो मैले विद्रोह नै गरेको पनि छु । तर, त्यस्तो एउटा मोड पनि आयो कि पापालाई राज्यले निर्दाेष हुँदाहुँदै राजद्रोही बनायो । त्यसबेलाको बालमनोविज्ञानमा परेको असरले अन्ततः राज्यसँग पनि विद्रोही बन्न प्रेरित गर्यो,’ उनले थपे, ‘तर, बिचरा पापा राज्यसँग विद्रोह गर्न कहाँबाट सक्थे र ? छिमेकी प्रधान सापको षड्यन्त्रमा निमुखा पापा र दाइहरू त्यसरी सिकार बन्न पुग्थे । पापा रोमान्टिक र डिप्लोम्याटिक पनि उत्तिकै छन् । पापाको यो गुणबाट म धेरै दीक्षित छु । पापासँग यो सम्बन्ध नभएको भए वा मेरो पापा अरू नै कोही भइदिएको भए आजको म सायद नहुन सक्थें । त्यस हिसाबमा पापा धेरै कुरा हुन् । हाम्रोमा पापाको, आमाको मुख हेर्ने दिन भन्ने हुँदैन । तर, पापाबारे यो अवसरमा यति लेख्नु उचित नै हुनेछ ।’

कवि राबतले आफ्नो बुवाको बिहे यसरी भएको थियो भनेर फेसबुकमै लेखेका छन् । ‘बाले एकहल गोरु रु. (८०) जारी तिरेर आमा ल्याका रछन्,’ उनले हाकाहाकी घोषणा गरेका छन्, ‘म त्यसो गर्दिनँ बा । ढुक्क हुनू । विस यु ह्याप्पी एभ्री डे ।’

पत्रकार विजय चाम्लिङ आपादेखि डराउँथे । पत्रकार चाम्लिङका आपा डरलाग्दो, मिहिनेती, इमानदार र परिश्रमी थिए । ‘खेतमा काम गर्न जाँदा डोकोमा मल बोकेर जानुपथ्र्याे । फर्कंदा दाउरा, घाँस, स्याउला नभए ढुंगा भए पनि ल्याउनुपथ्र्याे । राति खाना पाकुन्जेल चोया काढ्नुहुन्थ्यो । दाम्ला बाट्नुहुन्थ्यो । कहिले थकौली बुन्नुहुन्थ्यो,’ उनले दिवंगत बुवालाई यसरी सम्झेका छन्, ‘बिहान पिसाब फेर्न निस्कँदा पर्खालमा रोपेको काचपात गोड्नुहुन्थ्यो । पेन्सन थापेको पैसा एकरुपे पनि नराखी आमालाई दिनुहुन्थ्यो । आमा पैसाको मालिक हुनुहुन्थ्यो । उहाँले ठीक–ठीक तरिकाले काम लाउनुहुन्थ्यो । १८ वर्षअघि आपाले हामीलाई छोडेर जानुभो । म सबै कुरा सम्झिरहेको छु । आपाप्रति सम्मान र गर्व गर्छु ।’

परियोजना कार्यान्वयन इकाइ उदयपुरका खरिदार गणेश कार्कीले आफ्ना बुवालाई आफ्नो ‘करिअर’ का लागि वरदान साबित भएकोमा गर्व गरेका छन् । ‘ह्याप्पी फादर्स डे । शब्दमा के उल्लेख गरौं । तपाईंको आफ्ना सन्तानप्रतिको माया, सद्भाव र उत्प्रेरणाका ती हरपलको क्षण सदैव सम्झिएकै हुन्छु,’ परियोजना कार्यान्वयन इकाइ उदयपुरका खरिदार कार्कीले खुसी व्यक्त गरेका छन्, ‘अहोरात्र खटेर एउटा शिखर चुम्नका लागि सही बाटोबाट हिँडाउनुभयो । यो नै हाम्रालागि वरदान हो ।’

खोटाङकी मेजना राईको पनि बुवाप्रति त्यत्तिकै आदर छ । ‘बाउ तपाईं हुनुहुन्थ्यो । हुनुहुन्छ । र रहिरहनुहुनेछ । बस यी तीन परिस्थिति सधैं रहिरहोस,’ राईले कामना गरेकी छन्, ‘तपाईंको मुखभन्दा पनि तपाईंलाई मुख देखाउनलायक सन्तान बन्ने कार्य निरन्तर चल्दै छ । यही कामना सबै सन्तानको ।’
शाखा अधिकृत कोपिला राईले पनि कवितामै बुवालाई सम्झेकी छन् । कविसमेत रहेकी शाखा अधिकृत राईले बुवालाई यसरी सम्झेकी छन्–

म जन्मिदा फर्सी काट्ने आहान भए नि
मैले कहिल्यै विभेदको पर्दा देखिनँ
र नै
आज यहाँसम्म आइपुगेकी छु
यही अर्थमा
जीवनको प्रत्येक पल
उमंगमय
उल्लासमय र
सम्झनलायक
बनाइदिनु मन लाग्छ
मेरो पा…लाई ।
बुवालाई सम्झने आजको विशेष दिनमा विशेष शुभकामना ।
कवि स्वप्निल स्मृतिले पनि आफ्ना बुवालाई कवितामै सम्झेका छन् । कवितामा कवि स्वप्निल स्मृतिको बुवा ः
मैले कविताको मुख हेरें
बुवा
भरुवा बन्दुक काँधमा राखेर जंगल गइरहेको
ढुंगा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको…
हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे !
आस्थाको ढाकाटोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्केथालमा चिप्लिएको तिम्रो माइली औंला
ओहोहो… त्यो माइली औंला !
बेलाबेला उठ्थ्यो तिम्रो नाकअघिल्तिर सिधा
र हेथ्र्याै मलाई टेँढोटेँढो आँखा ।
मेरो साथी !
दस वर्षको हुँदा हो
‘फिक्चुके ! फिक्चुके !’ भनेर तिम्रो नाम काढ्दा
उठ्यो तिम्रो दाहिने हात र बज्रियो मेरो देब्रेगालामा
त्यतिखेर हुँ ‘आमा’ भनेर रोए पनि
तिमीलाई बुवा भनी अलिअलि चिनेको ।
सुँगुरको पाठा बोकेर पेरुंगोमा
फिक्चुकेकोे पछिपछि धुर्बिसे पञ्चमी जाँदा
थाहा पाएको हुँ बजारभाउ मान्छेको
फिक्चुके सुँगुरको जगर तोला–तोला बटुल्दै झोलामा
डुल्दा तमोरखोला, मेवाखोला…
सोच्थें–
मेरो साथी बादल धुम्मिएको
सेतो–सेतो वर्षात् झुन्डिएको
खोलाको माथि…माथि…शिरतिर होला
फिक्चुके खरितेले गाईगोरुको लस्करसँगै काट्दाखेरी देउराली
विदेश भन्ने जानेको हुँ ‘सिलिगुढी, जय बङ्ला’
फिक्चुके ! तिम्रो ढाडजस्तो सडक टेकेर
म आज खै कुन्नि कुन देश आइपुगें !
तिम्रै मुखबाट पहिलोचोटि सुनेको हुँ ‘नेपाल–नेपाल’
सायद म त्यही नेपाल आइपुगें हुँ ?
उता फुल्न थालिसक्यो होला
हिँड्नेबेला मैले रोपेको बारीको डिलको नासपाती
तर, चिन्नै गाह्रो अझै मलाई
कहाँ छु म ?
यो कुन देश, कुन दिशापत्ता हो…
जहाँ रहुँ म ढुंगा हान्ने ठाउँमा छु
उता ढुंगा ढोग्दै हौला तिमी देउरालीमा
उता राँको फालेर खेद्दै हौला अनिकाल (साउने सक्रातीमा)
यहाँ म राँकेजुलुस बालेर बोलाउँदै छु बहुप्रतीक्षित उज्यालो
जब मस्तिष्कमा खुट्टा पलायो, ताकें अर्कै ध्रुव
उता एक्लो रूख भयौ तिमी हाँगा उछिट्टिएको एक्लो रूख
यता म छु, अलिकति ओभानो अलिकति चिसो
शिरबाट पलाएर फेदतिर झर्दा दहमा डुबेको हाँगा न हुँ
उता पात झर्न थाल्यो होला सिमलको
यता हाँगामा पलायो अर्काे स्वप्निल हाँगा
जसका लागि मेरो काँध भएको छ– चोमोलुङ्मा, चढ्छ र,
क्षितिजको अन्तिम फेरको तारालाई छुन्छु भन्छ
जसका लागि मेरो काख स्वप्नभूमि भएको छ र व्युँझदा
पूर्वी आकाशतिर उदाइरहेको निक्खुर जून हुन्छु भन्छ
बुवा !
आज म बुवा हुँदा पो
तिमीलाई बल्लबल्ल चिनें हौ ।

हुने र गुमाउने दुवैथरीले सामाजिक सञ्जालमा बुवालाई यसरी सम्झेका छन् । बुवासँगै हुने छोराछोरीले उल्लासमय तरिकाले बावुको मुख हेर्दै चाड मनाइरहेका छन् । परदेशमा हुनेले पनि विभिन्न तरिकाले बुवालाई सम्झिरहेका छन् । बुवा नहुनेले काठमाडौंको गोकर्णेश्वर पुगी तर्पण, सिदादान र श्राद्ध गरेका छन् । रसुवाको बेत्रावतीमा रहेको उत्तरगयालगायत मुलुकभरिका पवित्र स्थलमा आज पितृको सम्मानमा श्राद्ध गर्ने हिन्दु परम्परा छ । श्राद्ध गर्दा पितृ ऋणबाट मुक्त हुने शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: