एनसेलबारे सर्वोच्चको फैसलामा सांसदहरुको चासो (भिडियो) « Nagarik Khabar

एनसेलबारे सर्वोच्चको फैसलामा सांसदहरुको चासो (भिडियो)



काठमाडौं । एनसेलसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाबारे प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यसअघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरी भएको भन्दै सांसदहरुले फैसलाको अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । समितिमा समय मागेर बोल्दै सांसद सञ्जयकुमार गौतमले नेपाल सरकारअन्तर्गतको कर निर्धारण गरी असुलउपर गर्ने निकायले गरेको निर्णय विपरीत सर्वोच्च अदालतको फैसला आउनु आश्चर्य भएको टिप्पणी गरे ।

यस्तै अर्का सांसद देव गुरुङले सर्वोच्चको फैसलाले कतै गलत नजीर त बसाल्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । अदालतले गरेको फैसलालाई समितिमा छलफल गर्न सकिन्छ कि सकिँदैन भनी जिज्ञासासमेत राखे ।

समितिका सभापति कृष्णभक्त पोखरेलले समितिमा सांसदहरुले एनसेलको विषयमा भएको फैसलाबारे समितिमा छलफल हुनुपर्ने धारणा मनासिव भएको भन्दै छलफल हुनसक्ने प्रष्ट्याए । सार्वजनिक सरोकारको विषयमा समितिले आफ्नो दृष्टिकोण दिन सक्ने भन्दै सभापति पोखरेलले अदालतले गरेको फैसलाबारे अध्ययन हुँदा अदालत झनै बलियो हुनका साथै न्याय सम्पादन राम्रो हुने बताए ।

सर्वोच्च अदालतले भदौ ९ गते एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले निर्धारण गरेको करलाई बदर गर्दै पुनः कर निर्धारण गर्नुपर्ने फैसला गरेको छ । यस फैसलाले नेपाल सरकारले एनसेलबाट पुँजीगत लाभकर बापत पाउन सक्ने ६२ अर्ब ६३ करोड रुपैयाँ गुमेको विश्लेषण हँुदै आएको छ । यता सर्वोच्च अदालतले गरेको फैसला संसद्को कुनै पनि बैठक अथवा समितिमा छलफल नहुने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: