प्यान कार्ड नागरिकताजस्तै हो, विवाद किन ? (भिडियो) « Nagarik Khabar

प्यान कार्ड नागरिकताजस्तै हो, विवाद किन ? (भिडियो)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थायी लेखा नम्बर (प्यान कार्ड) नागरिकताजस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आयआर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताए । उनले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले करदाता परिचयपत्र लिनुपर्ने प्रष्ट्याए ।

‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाईहरुसँग ? प्यान लिँदा पनि त्यही हो । प्यान लिएबापत कर तिर्नुपर्ने कुरा त होइन नि,’ उनले भने, ‘करदाता परिचयपत्र हो ।’

अर्थमन्त्री खतिवडाले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पारे । उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मूल्य अभिवृद्धि करको विकल्प नभएको बताए ।

उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताए । ‘राष्ट्र बैकले तिब्बततर्फबाट हुने आयातमा जति मूल्य सटही दिने भन्छ, त्यत्तिनै भन्सारमा बिगो कायम हुन्छ,’ उनले भने, ‘२५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ । ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ । दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस् ? समस्या त्यहाँ छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीति व्यवसायिक क्षेत्रका लागि मान्य नहुने चेतावनी दिए । उनले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मूल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: