दुलही किनबेच गरी चीनमा तस्करी : चार चिनियाँसहित १० जना पक्राउ « Nagarik Khabar

दुलही किनबेच गरी चीनमा तस्करी : चार चिनियाँसहित १० जना पक्राउ



काठमाडौं । नेपाली युवतीहरुलाई विवाहको बहानामा चीनमा मानव तस्करी गर्ने गिरोहको पर्दाफास भएको छ । नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन तस्करी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेपछि सो पर्दाफास भएको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनिया र छजना नेपाली पक्राउ गरेपछि विवाहको नाममा नेपाली चेली तस्करी गर्ने गिरोहको पर्दाफास भएको छ ।

नेपाली युवतीहरुलाई विवाहको बहानामा चीनमा मानव तस्करी हुन लागेको भन्ने सूचनाका आधारमा सो ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट चार जना पीडित युवतीहरुको उद्दार गरेको थियो ।

नेपालका विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनिया नागरिकसँग विवाह गरी चीन गएमा जीवन राम्रो हुने, चिनिया पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने प्रलोभन देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रायः कम उमेरका तथा मङ्गोलियन अनुहारका युवतीहरुलाई लक्षित गरिएको देखिएको सो व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए ।

पीडितलाई स्थानीय दलालहरुले आफ्नोसाथ काठमाडौं ल्याई काठमाडौंको दलाललाई जिम्मा लगाउने गरेका थिए । विभिन्न दलालहरुमार्फत आएका युवतीहरुलाई काठमाडौंको दलालले आफुसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म सामान्यतँ १०–१५ दिन सोही स्थानमा राख्ने गरेको अनुसन्धानबाट थाहा लागेको छ ।

सोही क्रममा युवतीहरुलाई मेकअप गर्न सिकाउने, भड्किलो पहिरन लगाउन उत्प्रेरित गर्ने, अन्य एजेन्टहरुमार्फत बिवाह गर्न ईच्छुक चिनिया नागरिकहरुलाई प्रत्यक्ष र भिडियो कलमार्फत भेट गराउने र चिनियाहरुले आफ्नो ईच्छानुसार युवतीहरु छान्ने गरेका थिए ।

युवतीहरुलाई बिवाह गर्ने भनिएको श्रीमानको घर, परिवारको बारेमा अत्यन्तै न्यून जानकारी गराइएको पाइएको छ । बिवाह गर्ने युवती तय भएपश्चात चीनमा रहेको दलाल मार्फत चिनिया नागरिकहरु काठमाडौंमा आएर यहाँ रहेका चिनिया दलालसँग सम्पर्क गर्ने गरेको खुलेको छ ।

चिनिया र नेपाली दलालहरुको समन्वयमा नेपाली युवती र चिनिया युवकहरुलाई भाषा अनुवादको समेत व्यवस्था गरी काठमाडौका बिभिन्न स्थानहरुमा भेटघाट गराउने गरिएको थियो । काठमाडौमा भेटपश्चात चिनिया नागरिकले आफुले छानेका युवतीहरुको यकिन गर्ने गरेका थिए ।

अभियुक्तहरुको साथबाट १२ थान मोबाईल र २१ लाख ९७ हजार ९६० रुपैयाँ, भारू ३८ हजार ८००, चिनिया युआन ३ हजार ३०० र अमेरिकि डलर १९० बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाली युवतीहरुलाई यसरी नै बिवाहको माध्यमबाट चिन र दक्षिण कोरिया पठाउने समुहका अपराधिहरुलाई २०७१ सालमा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको थियो ।

नेपाली र चिनिया दलालहरुले गाउँदेखिदेखि चीनसम्म आफ्नो संजाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गराई बिवाह गराउने गरेको पाइएको छ । संसारभर यस प्रकारको अपराधलाई मानव तस्करीको एक स्वरुपको रुपमा लिइन्छ ।

पक्राउ अभियुक्तहरू कस्ता छन् ?
१. रिना तामाङ भन्ने बिबिरानी तामाङ
ठेगाना ः सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने
भूमिका ः नेपाली दलाल र भाषा अनुवादक

२. रोज तामाङ
ठेगानाः नुवाकोट ककनी गापा ४, हाल टोखा बस्ने
भूमिकाः रिना तामाङलाई कागजपत्रहरु बनाउन तथा अन्य कार्यमा सहयोगी

३. पार्वती गुरुङ
ठेगानाः लमजुङ, बेशीशहर–३, हालः टोखा बस्ने
भूमिकाः गाँउबाट ल्याइएका युवतीहरुलाई राख्ने तथा चिनिया एजेन्टहरुसंग भेट्ने ब्यबस्था गर्ने

४. अमृता गुरुङ
ठेगानाः लमजुङ बेशीशहर
भूमिकाः गाँउबाट युवतीहरुलाई फकाएर काठमाडौं ल्याई पार्वतीलाई जिम्मा लगाउने

५. भरत तामाङ
ठेगानाः लमजुङ बेशीसहर गुम्बाचोक,
भूमिकाः गाँउबाट युवतीहरुलाई फकाएर अमृतालाई जिम्मा लगाउने

६.उषा घिमिरे
ठेगानाः लमजुङ, साविक गाँउशहर–४, हाल ललितपुर सानेपा बस्ने
भूमिकाः विभिन्न स्थानहरुबाट युवतीहरु सम्पर्क गरी चिनिया नागरिकसँग भेट गराउने

  • ZENG XIANG DONG

ठेगाना: Hubai China

भूमिका: काठमाण्डौमा काम गर्ने चिनिया दलाल

  • ZHANG DONG HUI

ठेगाना: Hubai China

भूमिका: काठमाण्डौमा काम गर्ने चिनिया दलाल

  • QUAN ZHAN PENG

ठेगाना: Hubai China

भूमिका: नेपाली युवतीसंग बिवाह गर्न आएको

  • QIN LIYANG

ठेगाना: Hubai China

भूमिका: नेपाली युवतीसंग बिवाह गर्न आएको

अभियुक्तहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको एसपी थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: