जलवाष्पयुक्त हावाले गरायो वर्षा, आज केही स्थानमा भारी वर्षाको सम्भावना « Nagarik Khabar

जलवाष्पयुक्त हावाले गरायो वर्षा, आज केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको जानकारी दिएको छ । महाशाखाले जलवाष्प युक्त हावा नेपाल प्रवेशको कारण पूर्वी तथा मध्यका धेरैजसो स्थानमा वर्षा भइरहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

त्यस्तै सोही अवधिमा पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै पूर्वी र मध्य पहाडी भू–भागमा पहिरो र देशका केही भागमा मेघ गर्जन र चट्टयाङ पनि पर्न सक्ने तथा नदीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा बदली भई पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले शनिबार (आज) दिउँसो देशभर सामान्य बदली रही पूर्व र मध्यका धेरै तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ ।

शनिबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर बदली रही पश्चिमका धेरै एवं पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाले जनाएको छ । आइतबार राति देशभर बदली तथा पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ ।

सोमबार दिउँसो देशभर बदली भई पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार राति देशभर सामान्य बदली रही पश्चिम, पूर्व र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: