युवा ! तिम्रो खाँचो यहीँ छ « Nagarik Khabar

युवा ! तिम्रो खाँचो यहीँ छ



  • पूरण क्षेत्री

भन त युवा, तिम्रो डाक्टरी पढाइ
सकियो कि सकिएन त्यहाँ ?
यहाँ तिम्रो खाँचो छ
तिम्री आमाको गम्भीर रोग
तिमीले नै पहिचान गर्नुछ ।

भन त युवा, तिम्रो ईन्जिनियरिङ पढाइ
कहाँ पुग्यो होला त्यहाँ ?
यहाँ तिम्रो खाँचो छ
पुल, उद्योग अनि गगनचुम्बीहरुको
अत्याधुनिक डिजाइनहरु
विदेशीले होइन तिमीले नै कोर्नुछ ।

हो युवा,
तिमीले त्यहाँ
क्रान्तिकारी कृषि प्रणालीको
प्रयोगशालामा आफूलाई होम्यौ होला
अब यहाँ तिम्रो खाँचो छ
आफ्नै माटोमा यन्त्रद्वारा
अनाज फलाउनु छ तिमीले
आफ्नै पाखोमा आधुनिक
पशुफार्म बनाउनु छ तिमीले
तिमीले त्यहाँ होइन यहाँ
पसिना बगाउनुछ अब
त्यसैले, ए युवा ! तिमी फर्क ।
सूचना–प्रविधिको विकास
अरू कसैले होइन तिमीले नै गर्नु छ अब
सुनछहरीका सुन र जेल्बाङका फलाम
तिमीले नै उत्खनन् गर्नुछ ।
लुङ्ग्री, माडी र कर्णालीका
पानीबाट करोडौं युनिट विजुली
ए युवा ! अब अरुले होइन
तिमीले नै निकाल्नुपर्छ।
मजदुर पनि तिमी नै
प्राविधिक पनि तिमी नै
मालिक पनि तिमी नै
त्यसैले
यहाँ तिम्रो खाँचो छ ।
अब तिम्रो त्यहाँको डलर होइन
नेपाली आमालाई यहाँ
तिम्रो पसिना चाहिएको छ
तिम्रो विवेक चाहिएको छ
ए युवा, तिमी अब छिट्टै स्वदेश फर्क ।

०००

(कवि रोल्पा नगरपालिकाका प्रमुख हुन् । पूर्ण केसी साहित्यमा पूरण क्षेत्रीको नामले परिचित छन् ।)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: