उदयपुरमा डेंगु आतंक, कटारीमा मात्रै २९ संक्रमित « Nagarik Khabar

उदयपुरमा डेंगु आतंक, कटारीमा मात्रै २९ संक्रमित



उदयपुर । कटारी नगरपालिकामा डेंगुको भय बढेको छ । एक साताभित्र मात्र कटारी क्षेत्रमा डेंगुबाट २९ जनाभन्दा बढी प्रभावित भई बिरामी परेका छन् । डेंगुबाट प्रभावित अन्य बिरामीसमेत उपचारको लागि आउने क्रम बढ्दै गएको कटारी अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा. पवन साहकाअनुसार १५ शय्याको अस्पतालमा अहिले डेंगुका बिरामीले अस्पतालका शय्या भरिभराउ भएपछि बाँकी बिरामीलाई भूइँमा राखेर उपचार गर्न बाध्य हुन परेको छ ।

डा. साहले भने, ‘अहिलेसम्म २९ डेङ्गुका बिरामीको उपचार गरिरहेका छौँ, केही उपचारपछि घर फर्केका छन् ।’

अस्पताल आएका तीन बिरामीको अवस्था गम्भीर भएकाले एक जनालाई धरानस्थित बिपी मेमोरियल अस्पताल, एकको विराटनगर र अर्का बिरामीलाई काठमाडौँ पठाउन सिफारीस गरिएको डा. साहले जानकारी दिए । कटारी बजारमा अहिले डेंगुको व्यापक प्रभाव देखिएपछि नगरपालिकाले नगर सरसफाइ अभियान तथा लामखुट्टे हटाउने अभियान शुरु गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार डेंगुबाट बच्न नगरपालिकाले कटारी बजार र गाउँघरमा सडक खाल्डा, नालाको व्यापक सरसफाइ अभियान थालिएको छ । लामखुट्टे हटाउन ‘स्प्रे’ छर्कने कामदेखि लामखुट्टे मार्ने ग्यास बाल्ने कार्यसमेत गरिएको छ ।

स्थानीय सञ्चारमाध्यबाट र नगरपालिकाले माइकबाटसमेत आह्वान गरेर लामखुट्टेबाट सतर्क हुन नगरवासीलाई आग्रह गरिएको छ । प्रदेश नम्बर १ अन्तर्गतको स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले डेंगुको अनुगमन गरेको नगर प्रमुख श्रेष्ठले बताए । डेढ महीनाअघि कटारीमा दुई जनामा देखा परेको यो रोग अहिले फैलिँदै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीको हडिया, सुन्दपुर, बसाहा, बेल्टार र बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेश्वरी, रामपुरसहितका स्थानमासमेत अहिले केही मानिसमा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कटारीसहित अन्यत्रसमेत गरी ४५ भन्दा बढी मानिस डेंगुबाट प्रभावित भएको पनि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: