जोखिममा बीपी राजमार्ग, अब दुई लेनको बन्ने « Nagarik Khabar

जोखिममा बीपी राजमार्ग, अब दुई लेनको बन्ने



काठमाडौं । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ ।

सडक साँधुरो हुँदा सवारी साधन आवतजावत गर्न नै कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो ।

निर्माण सम्पन्न भएको पाँच वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने काम अगाडि बढाएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए ।

वीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढ्नेछ ।

आयोजना प्रमुख भाटले खुर्कोट–सिन्धुलीगढी हुँदै चिया बगानसम्मको सडकको भने डीपीआर नगर्ने बताउँदै खुर्कोट चियाबगान सुरुङ मार्गको अध्ययन गराइने जानकारी दिए ।

खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ । उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: