रामपुरमा ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा « Nagarik Khabar

रामपुरमा ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा



पाल्पा । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ ।

रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो ।

कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तै ः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ ।

रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट संकलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए ।

उनका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ । कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ । कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र सङ्कलन गरिएको छ ।

गरीब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बंैक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउँछन् ।

‘विभिन्न भैपरी आउने घटना, विपन्न परिवारलाई राहतस्वरुप रामपुरमा कपडा बैंकको शुरुआत गरेका हौं,’ उनले भने । सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।

(प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: