हतियारधारी डाकाले लुटे १० लाख, प्रतिकार गर्दा घरमूली घाइते « Nagarik Khabar

हतियारधारी डाकाले लुटे १० लाख, प्रतिकार गर्दा घरमूली घाइते



जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले १० लाख बढीको डकैती गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ/नौ जनाको संख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखौंको धनमाल लुटेर लगेका छन् ।

उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद दुई लाख ५० हजार, ६ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।

साथै डाकाको प्रतिकारमा उत्रेका घरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उनलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: