भ्याट फिर्ता घट्यो « Nagarik Khabar

भ्याट फिर्ता घट्यो



काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा दुई अर्ब २२ करोड रुपैयाँ कर फिर्ता भएको छ ।

अघिल्लो आवको तुलनामा यो ५० प्रतिशत कम हो । यसरी फिर्ता गरिएको करमा मूल्य अभिवृद्धि कर (भ्याट) मात्रै समावेश छ ।

फिर्ता उठाएको कर खरिदमा तिरेको करमा मिलान नभइ बाँकी रहेको अवस्थामा फिर्ता पाउने गरी गरिएको व्यवस्था हो ।

दर्ता भएको व्यक्तिबाहेक करको भार बहन गर्नु नपर्ने कूटनीतिक नियोग र कर छुटको सुविधा प्राप्त व्यक्ति वा संस्थालाई उनीहरूले खरिद गरेको वस्तु वा सेवामा तिरेको वा तिर्नुपर्ने कर फिर्ता (भ्याट रिफन्ड) गरिन्छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आ.व. २०७४/७५ को बजेटमार्फत उपभोक्ताबाट उठाई स्वदेशी उद्योगलाई प्रोत्साहन र चोरीका मोबाइल नियन्त्रणका नाममा व्यापारीलाई फिर्ता दिइँदै आएको भ्याट फिर्ता व्यवस्था खारेज गरेका थिए ।

वनस्पति घिउ तथा तेल, चिनी, मैदा, कपडा र मोबाइल फोनसेटलगायत सामग्री बिक्रीमा उपभोक्ताबाट उठाएको रकम व्यापारीलाई फिर्ता दिने गरिएको थियो ।

आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञराज ढुंगेलले बजेटमार्फत ती वस्तुमा ‘भ्याट फिर्ता’ को व्यवस्था हटाउँदा त्यसको प्रभाव देखिएको बताए । उनले भने, ‘भ्याट फिर्ता घट्नु स्वाभाविक पनि हो। बजेटमै व्यवस्था गरेर भ्याट फिर्ता हटाएपछिको परिणाम हो यो ।’

अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमिल्सिनाले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: