अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव « Nagarik Khabar

अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव



जुम्ला । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगी वस्तुस्थितीका सम्बन्धमा अध्ययन गरिन् ।

प्रतिष्ठानको सङ्गठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिका बारेमा उनले कर्मचारीसँग जानकारी लिएकी थिइन् ।

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका जिल्लाको नेतृत्व गरेको प्रतिष्ठानमा जनशक्ति अभाव रहेको बताए ।

‘चार वरिष्ठ वैज्ञानिक दरबन्दी रहेको प्रतिष्ठानमा म पनि काजमा आएको छु,’ वैज्ञानिक चालिसेले भने, ‘१८ कर्मचारीमा मात्र नौ कार्यरत छन् ।’ जनशक्ति अभावले प्रतिष्ठानको अवस्था बिजोग रहेको उनको भनाइ थियो ।

मन्त्री केसीले प्रतिष्ठानबारे जानकारी लिँदै देखिएका समस्या समाधानका लागि संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पहल गर्ने बताइन् ।

नेपालको एक मात्र अनुसन्धान संस्थाको रुपमा गोठीचौरमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठान कर्णालीको ठूलो सम्पत्ति भएको र यसको संस्थागत विकासले मात्र यहाँका जनताको समृद्धिमा सहयोग पुग्ने मन्त्री केसीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: