ललितानिवास प्रकरण, जग्गा फिर्ता प्रस्ताव मन्त्रिपरिषद्मा अझै गएन « Nagarik Khabar

ललितानिवास प्रकरण, जग्गा फिर्ता प्रस्ताव मन्त्रिपरिषद्मा अझै गएन



काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले व्यक्तिका नाममा गएको ललितानिवास परिसरको सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याउने प्रस्ताव अझै मन्त्रिपरिषद् बैठकमा लगेको छैन ।

यो जग्गा सरकारी स्वामित्वमा ल्याउन सात महिनाअघि मन्त्रिपरिषद्ले भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तर मन्त्रालयले अहिलेसम्म पनि मन्त्रिपरिषद् बैठकमा जग्गा फिर्ता ल्याउनेसम्बन्धी प्रस्ताव लगेको छैन ।

भूमि व्यवस्थाका प्रवक्ता जनक जोशीले ललितानिवासको जग्गा सरकारको स्वामित्वमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिनसकेको बताए ।

मन्त्रालय स्रोतका अनुसार उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको टेबुलमा छ । स्रोतका अनुसार उक्त प्रस्ताव तत्कालिन भूमि व्यवस्था सचिव गोपीनाथ मैनालीले तयार गरेका थिए ।

मैनालीले उक्त फाइल दुई पटकसम्म मन्त्रालयमा लगेको स्रोतको भनाइ छ । गत साता मात्र मैनालीको सरुवा भूमि व्यवस्थाबाट महालेखा नियन्त्रण कार्यालयमा भएको छ ।

आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: