झण्डै दुई हजार पदमा सरकारी जागिरको अवसर, एसएलसी पास गरेकाले प्रतिस्पर्धा गर्न पाउने « Nagarik Khabar

झण्डै दुई हजार पदमा सरकारी जागिरको अवसर, एसएलसी पास गरेकाले प्रतिस्पर्धा गर्न पाउने



काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले झण्डै दुई हजार पदमा आवेदन खुलाएको छ ।

विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत सबै स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक भएको भन्दै उक्त संख्यामा आवेदन माग गरेको हो ।

विभागले एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदमा गरी कुल १ हजार ९ सय ८९ पदमा आवेदन माग गरेको छ । ती पदहरुमा खुल्ला प्रतिश्पर्धाद्वारा करारमा नियुक्त गरिने विभागले मंगलबार सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

विभागले एम.आई.एस. अपरेटर (राजपत्र अनंकित प्रथम श्रेणीस्तर) को पदमा ९९४ जनाको लागि आवेदन खुलाएको छ । उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर विषय लिई प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी मान्यताप्राप्त संस्थाबाट कम्तीमा ६ महिना कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै विभागले फिल्ड सहायक (राजपत्र अनंकित द्वितीय श्रेणीस्तर)मा ९९५ पदमा आवेदन आह्वान गरेको छ । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

इच्छुक नेपाली नागरिकले ती पदमा आवेदन दिन सक्नेछन् भने अठार वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै ती पदहरुमा निःशुल्क आवेदन दिन सकिने पनि जनाइएको छ ।

दुवै पदका लागि डिओएनआइडिसिआर डट जिओभी डट एनपीमा गएर कुनै एक पदको लागि कुनै एक स्थानीय तह छनोट गरी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै दुइवटै पदमा आवेदन दिन इच्छुक उम्मेदवारले छुट्टाछुट्टै दरखास्त दिनुपर्ने पनि जनाइएको छ ।

हेर्नुस् सूचना ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: