अनुदान रकमबाट बनाइएको गाई फर्ममा कुखुरा पालन « Nagarik Khabar

अनुदान रकमबाट बनाइएको गाई फर्ममा कुखुरा पालन



  • सञ्जय श्रेष्ठ

काठमाडौं । रामेछाप नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष समीर कार्कीले अनुदानबाट लिएको रकमबाट बनाएको गाई फार्मको गोठमा कुखुरापालन गरेका छन् ।

वडाध्यक्ष कार्कीले महाकाली कृषि सहकारी संस्थाबाट गाई फार्मका लागि अनुदानको ३५ लाख रुपैयाँ लिई वडा नम्बर ७ को सुकाजोरको चामबोटमा गोठ बनाएका थिए । सोही गाई गोठलाई अहिले कुखुराको खोर बनाइएको छ ।

‘सहकारीबाट अनुदान लिएर बनाइएको गोठमा पाँच सात दिन ६–७ वटा गाई पालेका थिए,’ स्थानीय सुशीलल कार्कीले भने, ‘पछि गाई रोडतिर छाडिदिए ।’ वडाध्यक्ष कार्कीको गाई फर्ममा अहिले रोहित मगरले कुखुरा पालेका छन् ।

विश्व बैंकबाट प्राप्त रकम सहकारीले किसानलाई अनुदानमा दिएको हो । अनुदानमा प्राप्त रकमबाट कार्कीले गाई गोठ बनाउनेबाहेक काम नगरेको सहकारी संस्थाका अध्यक्ष प्रेमविक्रम कार्कीले बताए । सहकारी संस्थाका तत्कालीन सचिवसमेत रहेका बेला समीर कार्कीले आफ्नै नाममा अनुदानको रकम लिएका थिए । सुशीलका अनुसार सहकारी संस्थाका अध्यक्षलाई नै जानकारी नदिई अनुदानको रकम बाँडफाड गरिएको थियो । 

समीरले गोठ बनाउन पहिलो किस्ताबापत १४ लाख रुपैयाँ लिएका थिए । त्यसबापत कति रकम लिए भन्ने आफुलाई जानकारी नभएको सहकारी संस्थाका अध्यक्ष कार्कीले बताए । विश्व बैंकबाट प्राप्त रकम किसानलाई अनुदान दिने विषयमा आफुसँग कुनै छलफलै नगरी वितरण गरिएको अध्यक्ष कार्कीको भनाइ छ । अनुदानको रकमबारे कुनै पनि बैठकमा आफुलाई जानकारी नै नदिएको उनको आरोप छ ।

अनुदानको रकमबाट प्राप्त रकमबाट हुने कार्यक्रमबारे सहकारीलाई जानकारी दिनुपर्ने हुन्छ । सहकारीको अनुगमनमा काम हुनेपर्ने अध्यक्ष कार्की बताउँछन् । तर, आजसम्म गोठ निर्माण र खरिद सामग्रीबारे केही जानकारी नै नगरिएको सहकारीका अध्यक्ष प्रेमविक्रम कार्कीले बताउँछन् ।

विश्व बैंकले रामेछापका तीन वटा सहकारी संस्थालाई गाई पालनका लागि अनुदान रकम प्रदान गरेको थियो । पञ्च वर्षीय योजनामा वार्षिक ३५ लाख अनुदान दिने सम्झौता भएको संस्थाका अध्यक्ष कार्कीले जनाकारी दिए । तर, पहिलो वर्षको कार्यक्रम नै राम्रो नभएपछि बाँकी रकम रोकिएको छ ।

कुरै गर्न चाहँदैनन् वडाध्यक्ष कार्की

गाई फार्मबारे कुरा गर्न सम्पर्क गर्दा वडाध्यक्ष समीर कार्कीले यस विषयमा केही नबोल्ने प्रतिक्रिया दिए । गाई फार्म कुखुरा पाल्नुभएको भनी प्रश्न गर्दा उनले ‘जसले जानकारी दियो, उसैसँग सोध्नू’ भनी पन्छिए । ‘तपाई यस्तो सूचना कहाँबाट पाउनु हुन्छ ?’ उनले भने, ‘फिल्डमा आउनुस्, सबै सदस्य भेला गरेर बताइदिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: