गोपनीयता भंग भएको भन्दै बेलायती राजकुमारीले दिइन मुद्दा



बेलायत । बेलायतकी अधिराजकुमारी डचेस अफ ससेक्स अर्थात् मेघन मर्केलले आफ्नो निजी पत्रगैरकानुनी रुपमा प्रकाशन गरेको आरोपमा द मेल अन सन्डे पत्रिकाविरुद्ध कानुनी लडाइँको प्रक्रिया सुरु गरेकी छन् ।

सो सम्बन्धी जानकारी बेलायतका राजकुमार ह्यारीले सार्वजनिक गरेका छन् । ह्यारी मेघनको श्रीमान हुन । प्रोपोगाण्डा फैलाउने काम गरिएकोले मेघन कानुनी कारवाहीको प्रक्रियामा जान बाध्य भएको एक वक्तव्य मार्फत ह्यारीले जनाएका हुन् ।

सो पत्रिकाले मेघनको ह्यारीसँग विवाह भएलगत्तै उनले आफ्ना बाबुलाई पठाएको पत्र गत आइतबारको अंकमा प्रकाशित गरेको थियो । राजकुमार ह्यारीले आफ्नो वक्तव्यमा भनेका छन, ‘‘मैले मेरी आमा गुमाउनुपर्यो । अहिले मेरी पत्नी पनि यस्तै शक्तिशाली बलबाट पीडित बन्नु परिरहेको छ ।’’

ह्यारी युवराज्ञी डायनाका कान्छा छोरा हुन् । बेलायती राजपरिवारमा उनकी आमा डायनापछि अहिले ह्यारीकी पत्नी मेघनको मिडियामा बढी चर्चा हुने गरेको छ । उता सो पत्रिकाका प्रवक्ताले भने पत्रिकामा छापिएको सामग्रीको दृढताका साथ प्रतिरक्षा गर्ने जनाएका छन् । मेघनको तर्फबाट मुद्दा दर्ता गर्ने शिलिङ्ग ल फर्मले पत्रिकाले गलत सामग्री छापेको जनाएको छ ।

सो मुद्दामा निजी सूचना सार्वजनिक गरेको र कपिराइट तथा डेटा प्रोटेक्सन एक्ट २०१८ को पनि उल्लंघन गरेको दाबी गरिएको छ । गएको आइतबार सो पत्रिकाले मेघनले आफ्ना बाबु थोमस मर्केललाई पठाएको हस्तलिखित पत्र प्रकाशित गरेको थियो ।

सो पत्र मेघन र ह्यारीबीच सन् २०१८ मा विवाह भए लगत्तै लेखिएको थियो । ह्यारीले वक्तव्यमा डायनाको प्रसंग उल्लेख गर्दै ठूलो डरको कुरा भनेको इतिहास दोहोरिदैछ भन्ने रहेको जनाएका छन् । डायनाको सन् १९९७ को अगस्ट महिनामा पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो । उनलाई पापाराजीहरुले हैरान गरेको खबर त्यतिबेला आउने गरेको थियो । उता पत्र सार्वजनिक गर्ने पत्रिकाले भने राजकुमार ह्यारीले ब्रिटिस प्रेसमाथि भावनात्मक आक्रमण गरेको जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV