दसैं र यसको सांस्कृतिक महत्त्व (भिडियोसहित)



काठमाडौं । हिन्दु धर्मग्रन्थअनुसार दशैं दुईपटक पर्दछ, शरदकालमा बडादसैं र वसन्तकालमा चैते दसैं । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथि यस पर्वको प्रमुख दिन हो भने चैते दसैं शरद ऋतुमा मनाइन्छ । यी दुवै समय वातावरणीय रुपमा मौसम परिवर्तनको समय हो । मौसममा आउने परिवर्तनका कारण यो बेला धेरै रोग व्यादी लाग्ने, अत्यन्त डर लाग्दो रोग लाग्ने र यमराजको दन्त पनि एकदम नजिक आउने धार्मिक किवंदन्ती छ ।

दसैंको नवरात्रको अवधिमा कसरी पूजा, व्रतहरु गर्ने भन्ने विधि देवीभागवतमा उल्लेख भएको बताउँछिन् संस्कृतिविद् प्रियम्वादा आचार्य काफ्ले । यो अवधिमा मानव स्वास्थ्यका लागि एकदम जोखिम हुने भएकाले यो बेला व्रत उपवास बसेर देवीको पुजाआराधना गर्नुपर्छ भन्ने उल्लेख छ ।

चैते दसैंमा पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठान गर्ने गरिन्छ ।

दसैं के हो ?

शरद ऋतुमा पर्ने बडादसैं (नवरात्र) हिन्दु धर्मवलम्वीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी (नवरात्र)सम्म शक्तिको प्रतीक दुर्गा भवानीको पूजाआराधना गरी मनाउने गर्दछन् । दशौं दिन दशमीका दिन टीका(प्रसाद ग्रहण) गरिन्छ ।

फलस्वरुप दुर्गा भवानीको पूजाअर्चना गर्ने‚ कुमारीहरुको पूजा गर्ने, दसैंका बेला ९ दिनसम्म बिहान, दिउँसो र बेलुका चण्डीपाठ गर्ने, एकछाक मात्र शुद्ध भोजन गर्ने, उपवास बस्ने, विशेष सरसफाई गर्नुपर्ने विधान रहेको संस्कृतिविद् काफ्लेको भनाइ छ । यसरी ९ दिनसम्म पूजाआराधना गरी दशौं दिनमा देवीको बिर्सजन गरेपछि आफ्ना मान्यजनबाट आशीर्वाद स्वरुप प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।

कतिपय स्थानमा पूर्णिमाको दिनसम्म नै टीका ग्रहण गर्दछ भने कतिपय स्थानमा दशमीकै दिन मात्र टीका ग्रहण गर्ने चलन छ । फरक फरक स्थानमा फरक तरिकाले टीका ग्रहण गर्ने चलन छ । यो दिनसम्म मात्र प्रसाद ग्रहण गर्नुपर्छ भन्ने सामान्य नियम छैन । शास्त्रीय नियम छैन । सामान्यतः पूजा बिर्सजन भएपछि ताजा प्रसाद ग्रहण गर्नु नै उत्तम हो । बासी टीका राखेर टाढाका आफन्तका लागि प्रसाद राखिदिने लौकिक चलन हो । तर विधानत यो छैन । सकेसम्म दशमीको दिननै प्रसाद ग्रहण गर्दा राम्रो । दसैंका लागि विशेष खानुपर्छ भन्ने छैन । सामान्य खाने स्वस्थ्व, शुद्ध पवित्र विचार राख्ने, रिसराग नराख्ने शुद्ध बस्ने आफ्नो घरको सरसफाई गर्ने आफ्नो शरीर तथा मनको सरसफाई गर्ने‚ आत्माको सरसफाई गर्ने दुर्गाको आराधना गर्ने अध्ययन गर्ने व्रत पूजा गर्ने महत्वपुर्ण समय हो, दसैं ।

फेरिँदै दसैं

धार्मिक शास्त्रमा उल्लेखित विधि विधान भन्दा विपरीत ढंगबाट दसैं मनाउन थालिएको देखिन्छ । एक–अर्कामा देखावटीपनको रुपमा दसैं मौलाएको छ । धर्मअनुसार पूजापाठ गर्ने चण्डीपाठ गर्ने विधि विधान अनुसार एकछाक मात्र शुद्ध भोजन गर्ने, उपवास बस्ने भन्दा पनि अधिक मादक पदार्थ सेवन गर्ने‚ नयाँ लुगा लगाउने, दक्षिणा आदिमा बढी जोड दिइने चलन देखिएको छ । पछिल्लो समय दक्षिणा बढी भयो चाड धान्न गाह्रो भयो भन्ने गुनासा सुन्न पाइन्छ । दसैंमा निम्ता दिइँदैन‚ आफैँ जाने वा आउने गर्छन् आशीर्वा‍द लिनका लागि । त्यसैले दक्षिणा धेरै वा यति उति दिनुपर्छ भन्ने छैन । दसैं भनेको आफ्ना नातागोता मान्यजनबीच सद्भावना बढाउने संस्कृति हो । आशीर्वाद ग्रहण गर्ने‚ आदर सत्कार गर्ने मौका हो । माया प्रेम सद्भावनाका लागि धन चाहिँदैन । प्रदर्नश गर्दैमा माया प्रेम बढ्दैन ।

नवरात्र भनेको खाने पिउने चाड होइन । यद्यपि‚ हाम्रो नेपाली परम्परा गरिबीबाट आएको हो । पहिले मानिसहरु बाह्रै महिना राम्रोसँग खान पाउँदैन थिए र बढी परिश्रम गर्नुपर्ने बाध्यता थियो । त्यसैले धेरै खाना खाने गर्दथे, र त्यो पच्थ्यो पनि । तर अहिले समय परिवर्तन भएको छ । अहिले मान्छेहरु धेरै परिश्रम गर्दैनन् । त्यसैले यो बेला धेरै मान्छेहरु विरामी हुने गर्दछन् । त्यसैले उपवासको बेला धेरै खाने, जे पनि खानेभन्दा पनि थोरै खाने र शरीरलाई स्वास्थ्य राख्नुपर्छ ।

दसैं संस्कृति

दसैं धर्म, संस्कृति र स्वास्थ्य पनि हो । ऋतु परिवर्तनको समय भएको हुँदा व्रत उपवास गर्ने र देवीको आराधना गर्ने गर्ने हामीलाई रोगव्याधी नलागोस् सबै कल्याण नै कल्याण होस् भन्नको निमित्त यो धर्मवलम्बी त्यो धर्मवलम्बी, यो जात त्यो जातभन्दा पनि सबैले पूजापाठ गर्दा हुन्छ । स्वास्थ्य त सबैलाई चाहिने चिज हो । दसैंलगत्तै अस्वस्थ्व मान्छेहरुको घुइँचो अस्पतालमा देख्न सकिन्छ । त्यसैले नवरात्रको समय उपवास गर्ने, अल्पहार गर्ने आफ्नो स्वास्थ्यको ख्याल गर्न आवश्यक छ । दसैं भनेको त्याग तपस्या समर्पण ठूला मान्यजनको सत्कार, सम्मान, कसरी झुक्ने कसरी आशीर्वाद लिने भन्ने कुरा सिकाउने पर्व हो ।

तत्कालिन समयमा राजालाई महत्वपूर्ण मानिन्थ्यो । राजा भन्नाले शासकहरु उत्तम हुन्थे । देशको राजा नभई परम्पराको शास्त्रीय राजाको कुरा गर्दैछु । नागरिकको बाँकी शिक्षादीक्षा तथा स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राजाले लिन्थे । त्यस कारण राजा पिता समान थिए । सम्पूर्ण जनताको पालान पोषणको जिम्मा लिन्थे । रामराज्यमा राम सबैका पिता थिए । त्यसैले राजासँग टिका थाप्ने आशीर्वाद ग्रहण गर्ने गर्दथे ।

मान्छे बिनाधर्म रहन सक्दैन । मान्छे भनेको पार्थिव शरीर वा भौतिक तत्वले मात्र बनेको छैन । मरेपछि मात्र त्यो मान्छेको भौतिक शरीर हो । नमर्दासम्म त्यहा अभौतिक तत्व पनि हुन्छ । त्यसैले हामीले पृथ्वीमा भएका सबै भौतिक तत्वहरु सुख सुविधा ग्रहण गरे पनि सुखी हुन सक्दैन । मानिसलाई अध्यात्म ज्ञान तत्व आवश्यक पर्छ । धर्म तत्व चाहिन्छ । जबसम्म प्राण छ तवसम्म नैसर्गिक कुरा हो र्धम भनेको चाहे जुनसुकै धर्म मानोस् । एउटा आस्था अध्यात्म तत्व चाहिन्छ । धर्म दर्शन अमृतमय ज्ञान हो । सुखको अन्तिम अवस्थामा सतचित मार्ग भनेको धर्ममार्ग हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV