यस्तो हुँदैछ पाँच भीभीआइपीहरुको दसैँ टिका



काठमाडौं । देशका अतिविशिष्ट पदाधिकारीहरुले दसैँमा टिकाको आ–आफ्नो तयारी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रधानन्यायधीश चालेन्द्रशम्शेर जबराको दसैँ टिका तयारी आ–आफ्नो छ ।

दसैँ लगतै चीनका राष्ट्रपति सि जिन पिङको भ्रमण हुने भएकाले अतिविशिष्टहरु त्यसको तयारीमा समेत व्यस्त छन् । 

सर्वसाधारणलाई टिका लगाइदिंदै राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले यो दसैँमा सर्वसधारणलाई टिका लगाइदिने भएकी छिन् । उनले मंगलबार अपरान्ह २ः३० देखि ३ः३० बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने छिन् । त्यसअघि १ बजेदेखि २ बजेसम्म उनले अन्य विशिष्ट पदाधिकारीलाई टिका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आफ्नै निवासमा दसैँ मनाउँदै उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दसैँ उपराष्ट्रपति भवनमा मनाउँदैछन् । दसैँका लागि उनका बुवा मनसुर पुन मंगलबार विहान काठमाडौं आइपुग्नेछन् ।

उपराष्ट्रपति पुनले आफ्ना बुवाबाट टिका थाप्नेछन् । उनले पारिवारिक रुपमा टिका लगाएर दसैँ मनाउने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टिका नलगाइदिने

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । उनले आफ्ना बुवा मोहनप्रसाद ओलीबाट टिका थाप्ने छन् ।

दसैँको अवसरमा सोमबार गृहजिल्ला झापा पुग्ने प्रधानमन्त्री ओलीले बुवालाई साथमै लिएर साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना पारिवारिक सदस्य र सचिवालय सदस्यहरुलाई मात्रै टिका लगाइदिने छन् । उनले स्वास्थ्यलाई ख्याल राखेर सर्वसाधारणलाई टिका नलगाइदिने भएका हुन् ।

प्रधानन्यायधीश जबराको पारिवारिक टिका

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले दशै टिका काठमाडौंमै लगाउने छन् । उनले आफ्दा दाजुबाट टिका लगाउने छन् । प्रधानन्यायधीशको सरकारी निवासमा टिका लगाउने या आफ्नो नीजि निवासमा भन्ने टुंगो नलागिसकेको उनको सचिवालयले जनाएको छ ।

यसअघिका प्रधानन्याधीशहरुले अन्य न्यायधीश र कर्मचारीहरुलाई टिका लगाइदिने चलन भए पनि अहिले हटाइएको छ । ‘अहिले न्यायधीश र कर्मचारीहरुलाई प्रधानन्यायधीशले शुभकामना दिने चलन छ । त्यो कार्यक्रम भइसकेको छ,’ सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेले भने ।

सरकारी निवासमै टिका लगाउनेछन् राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले काठमाडौंमै पारिवारिक रुपमा टिका लगाएर दसैँ मनाउने छन् । यसअघि प्राय विदाको समयमा गृह जिल्ला पर्वत गइराख्ने तिमिल्सीना यसपटक गएका छैनन् ।

‘राष्ट्रपतिबाट टिका थाप्नु हुन्छ । निवासमै पारिवारिक रुपमा टिका लगाउनु हुन्छ’ उनको प्रेस संयोजक अशोक पौडेलले भने ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV