विप्लवको प्रस्टोक्ति : मैले महरालाई पत्र लेखेको छैन



काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कुनै पत्र नलेखेको बताएका छन् । हिरासतमा रहेका महरालाई विप्लवको नामबाट खुला पत्र लेखिएको भनि गरिएको प्रचारको उनको सचिवालयले खण्डनसमेत गरेको छ ।

‘पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपाका महासचिव विप्लवले पत्र लेखेको भनेर आइरहेको समाचारमा सत्यता छैन,’ विप्लवको सचिवालयले भनेको छ ।

विप्लवको नामबाट महरालाई पत्र लेखिएको भनी केही दिनदेखि चर्चा भइरहेको छ । बुधबार विहान नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले समेत विप्लवले लेखेका भनिएको उक्त पत्रलाई आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । उले उक्त पोष्टमा आफ्ना धारणासमेत राखेका थिए ।

विप्लवले लेखेका भनिएको पत्र प्रकाशन गरेका केही अनलाइनहरुले उक्त पत्र काल्पनिक भएको संकेत गरेका थिए । पत्रको अन्त्यमा भ्रममा नपर्नुहोला यो भूमिगत विप्लवले लेखेका होइनन् समेत भनिएको थियो ।

तर, नेकपाका केन्द्रीय सदस्य सूर्य थापालगायतले पनि उक्त पत्र फेसबुकमा राखेर आफ्नो प्रतिक्रिया लेखेपछि विप्लवको सचिवालयले खण्डन गरेको हो ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV