भोजपुरमा टेम्पो दुर्घटना : एकजनाको मृत्यु, चार घाइते



भोजपुर । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बुधबार दिउँसो १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो । दुर्घटना सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँसको मृत्यु भएको हो । दुर्घटनामा घाइते गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रीतु, २१ वर्षीया रीका, १२ वर्षीय अनिम र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन् । घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV