साँस्कृतिक सहर दोलखामा खड्ग जात्रा



काठमाडौं । दानवलाई देवताले परास्त गरेपछि लोकलाई कल्याण भएको विश्वासस्वरुप प्राचीनकालदेखि संचालन हुँदै आएको खड्गजात्रा साँस्कृतिक सहर दोलखामा भव्य रुपमा भएको छ ।

विजया दशमी टिकाको भोलीपल्ट देखाइने जात्रामा सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजाका साथ देवदेवीका सेनामेनाहरु जात्रामा सहभागी हुन्छन् ।

मन्दिर र मूर्तिहरुको सहरले परिचित दोलखा बजारको टोल र डबलीहरुमा हातमा खड्ग बोकेर युद्ध मैदानमा उत्रिएका सेनापती र सेनामेनाहरु नाच्दै दिनभर दोलखा बजारमा विधिपूर्वक घुम्ने गर्दछन् । युद्धमा उत्रिएका सेनापति र उसका सहयोगी झै क्रुद शैलीमा दानवहरु खोजेर बध गर्दै अघि बढेको दृष्य रोमाञ्चक दृश्य दोलखा बजारमा देखिन्छ ।

पालो अनुसार युवादेखि बृद्धिसम्म नाच्ने खड्गजात्रा प्राचीन समयमा दोलखा बजार देवदेवीको बास भएको स्लथको परिकल्पना गरिएको छ ।
मन्त्री तथा सेनापती, याकरगण बंशज र उनका भीम बली बोक्नेसमेत युद्धमा सामेल भएको रोचक दृष्य जात्राको मुख्य आकर्षण थियो ।
युद्ध अभिनय गर्दै नाच्दै जाने क्रममा चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धनाच प्रदर्शन गरिन्छ । भीमेश्वर मन्दिर परिसरमा मारेर राखेको रागामा खड्ग प्रहार गरेको अभिनय पनि गरिएको छ ।

विजय प्राप्त गर्दै अघि बढिरहेका सेना कालीको मन्दिर हुँदै त्रिपुरासुन्दरी पुग्छन् । त्यहाँ युद्धका लागि त्रिपुरा सुन्दरीसँग सहायता मागेको नृत्य प्रदर्शन गरिन्छ ।

त्रिपुरा सुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाई घण्ट, डमरु, खड्ग चारहातमा थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि देखाउने चलन छ । बटुक भैरवसहितको सेनाहरु दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वर हुादै अग्लो मण्डपमा चढ्दै चक्रराज बलीराजको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन् ।

भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिइएको राँगाको टाउको यहाँ राखिन्छ र सो टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन् भने त्यहाँ अरु सेनाहरुले पनि खड्ग प्रहार गरी शीर छेदन गरेको अभिनय जात्रामा देखाइन्छ । तर, अहिले राँगाको टाउकोको सटा कुविन्डो राख्ने गरीन्छ ।

त्यसपछि सगुनबाजा बजाउँदै विजयउत्सव मनाउने प्रचलन छ । जात्रा सकिएपछि त्रिपुरा सुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्वसाधरणलाई टिका लगाइदिने चलनले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV