‘टीकाको आख्यान’ र हामी



  • अमित थेबे/बेलायत

प्रसङ्ग एक :
जनजाति आन्दोलनका पिता मानिने गोरबहादुर खपाङ्गी मगरका भाषण सुनेर आदिवासी जनजाति जति हौसिन्थे त्यति नै खस आर्य समुदायका मानिसहरू आफूप्रति गरिएको कटाक्ष सम्झेर आनन्द मान्थे ।

राष्ट्रिय जनमुक्ति पार्टीले पनि जनजाति आन्दोलनलाई राजनीतिक हिसाबले अघि बढाइरहेको थियो । सन् १९९९ मा भएको आम निर्वाचनमा पार्टीले सानदार मत ल्यायो पनि ।

विस्मात् त तब लाग्यो जब सन् २००२ मा महिला, बालबालिका र समाज कल्याणमन्त्री भएका खपाङ्गीले दरबार पसेर दसैंको रातो टीका ग्रहण गरे । टीका ग्रहणले सांस्कृतिक भन्दा राजनीतिक अर्थ बोकेर होला !

उनीबाट जनजाति अगुवा र अभियन्ताहरू धेरै चिढिए । देशद्रोह, भ्रष्टाचार, अनियमितताका अभियोग लागेका नेताहरूलेभन्दा बढी उनले बद्ख्वाँइ पाए । पार्टीले अझै त्यसको हिसाबकिताब बुझाइरहनु परेको छ ।

प्रसङ्ग दुई :
याक्थुङ कुलमा जन्मिएकी माल्भिका सुब्बा सन् २००२ को मिस नेपाल बनिन् । प्रायः नेवार समुदायबाट मात्रै विजयी भइरहने अवस्थामा पूर्वका जनजातिहरूले जित्ने सम्भावना कम थियो । सुब्बाले जित्दा समुदायले ‘गौरवबोध’ गरिरहेको थियो ।

आजको मितिसम्म पनि सबै समुदायले सुब्बालाई ‘बौद्धिक सुन्दरी’ का रूपमा हेर्ने गर्छन् । धेरै युवा युवतीहरूले उनलाई रोल मोडलका रूपमा पनि लिने गर्छन् । तर, एक पटक नेपाल साप्ताहिकले आफ्नो दसैं विशेषांकको आवरणमा सुब्बालाई रातो टीका लगाएको आवरणमा उतार्दा जनजाति आन्दोलनकर्मीहरू झस्किए । समुदायमा पनि एक किसिमको कानेखुसी भयो ।

धेरैले जनजाति अनुहारलाई हिन्दू चाडलाई ‘प्रोमोट गर्न’ औजारका रूपमा प्रयोग गरेको अर्थमा बुझे । यद्यपि, यो प्रसङ्गले सुब्बाको करियरमा खासै प्रभाव परेन । उनी मिडियाकर्मीका रूपमा अझै क्रियाशील छिन् ।

प्रसङ्ग तीन :
याक्थुङ मुन्धुम र इतिहासका अध्येता र लेखक मानिन्छन् अर्जुनबाबु माबुहाङ(माङ्भु) । दुई दशकभन्दा बढी उनले समुदायको इतिहास, सँस्कृति, मुन्धुम, राजनीतिबारे खोज अनुसन्धान गरेका छन् । प्रशस्तै लेख रचना छपाएका छन् । पुस्तकहरू निकालेका छन् । तार्किक विश्लेषण, समालोचकीय दृष्टिकोण र गम्भीर अध्ययन स्वभाव उनका विशेषताहरू हुन् ।

निकै समयदेखि उनी याक्थुङका मौलिकताबारे बोलिरहेका छन् । वकालत गरिरहेका छन् । दुई वर्षअघि स्थानीय चुनाव जितेर मेयर पनि भएका छन् । तर, यसपटकको दसैंमा उनले ‘रातो टीका’ लगाएको फोटो सार्वजनिक हुँदा मौलिकतावादीहरू झस्किए । युमा साम्यवादीहरूको चित्त अघोर दुखेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्वकुलपति वैरागी काइलाले युमा साम्यो महासभाको ‘युमा साम्यो, मुन्धुम र दर्शन’ विषयक पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा दिएको प्राज्ञिक मन्तव्यलाई लिएर किरात सत्तेहाङ पक्षधरहरूले ‘हार्दिक श्रद्धाञ्जली’सम्म दिन भ्याए ।

यतिबेला युमा पक्षधरहरू पनि ‘अगुवा’ मानिएका व्यक्तित्वले टीका ग्रहण गर्दा माङ्गेना ढलेको अनुभूत गरिरहेका छन् । संस्था स्थापनाको चरणमा मात्रै पुगेकोले होला अभियन्ताहरूको मन अमिलो भएको छ । माबुहाङले कठोर आलोचना खेप्ने क्रम जारी छ ।

माथिका दुई प्रसङ्गहरूले धर्मले सहिष्णुता कम कठोरता धेरै प्रदर्शन गरिरहेको यदाकदा महसुस गराउँदछ ।

याक्थुङ समुदायमा पछिल्लोपटक युमा साम्यो पक्षधरले साँस्कृतिक डिस्कोर्स सुरु गरेको छ । सन् १९३१ मा भएको सत्यधर्म मुचुल्कापछि दुई धारमा विभक्त भएको समुदायलाई आफ्नो मूल पहिचानमा फर्काउने उद्देश्य लिएर युमा साम्यो महासभा भन्ने संस्था स्थापना पनि भएको छ ।

सत्यहाङ्मा पन्थको नेतृत्व माङ्सेबुङ र हात्तीलेदाले गरिरहेको छ । उनीहरूको संस्था किरात धर्म तथा साहित्य उत्थान संघ केही हदसम्म सङ्गठित पनि छ । यस बीच युमा साम्यो महासभा भने संस्थापनकालमा छ । धेरै कुराहरू क्रमबद्ध भइनसकेको अवस्था छ ।

अर्काेतिर याक्थुङ चुम्लुङ सबै याक्थुङहरूको ‘साझा सामाजिक घर’ भनेर मझधारमा उभिएको छ । चुम्लुङमा अनुपात एकातिर राख्ने हो भने युमा साम्यो पक्षधर र सत्तेहाङ्मा पक्षधर दुवैको उपस्थिति छ । चुम्लुङले सम्पन्न गरेको विधिमा भने मौलिकताकै निरन्तरता छ । धर्मको महलमा ‘किरात’ उर्दी जारी गरेर पक्षधहरूलाई भने अप्ठ्यारोमा धकेलेको छ ।

चुम्लुङकर्मी, भर्खर स्थापना भएको युमा साम्यो महासभा, याक्थुङजन्य अगुवा र संस्थाहरूले चाडपर्वमा उत्पन्न भएको द्विविधाबारे बोल्न सकिरहेको छैन । दसैंलाई लादिएको, भिराइएको पर्व भनेर उग्रतामा प्रस्तुत हुने । तर, विकल्पहीन बस्नाले नयाँ पुस्ताहरू अल्मलमा छन् ।

चुम्लुङकर्मी र मौलिकतावादीकै अधिकांश सन्तानहरू मातृभाषा बोल्दैनन्, सिरिजङ्गा लिपिमा लेख्दैनन् । हिन्दूहरूका भनिएका चाडमा विकर्षण ल्याउने कुरा गरिरहँदा स्वयम् आफ्ना मौलिक चाडहरू धुमधामले मनाउने वातावरण छैन । अझ, भनौं धार्मिक र साँस्कृतिक संस्थाहरूले स्पष्ट रूपमा तय गरेको मौलिक चाडपर्वसम्बन्धी नीति छैन । अनुष्ठानदेखि लिएर जनजीवनको अभिन्न अङ्ग कसरी बनाउने भन्नेबारे कार्य योजना र कार्यक्रम छैन । मौलिक चाडपर्वतिर आकर्षित गर्ने कार्यसूची नहुँदा चारकुने चोकमा अल्मलिएका यात्रु जस्तै भएका छन् समुदाय ।

९ अक्टोबर, २०१९




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV