विप्लव खोज्न पुगेको प्रहरीले दाजुलाई कसरी पक्राउ गर्‍यो ?


SHARES

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २१ जना नेताहरु दाङको राजपुरबाट पक्राउ परेसँगै नयाँ रहस्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र प्रदेश ५ प्रहरी कार्यालयको तर्फबाट खटिएको संयुक्त गस्ती टोलीले २१ जनालाई पक्राउ गरेको हो ।

राप्ती ब्यूरोको बैठक चलिरहेको समयमा प्रहरीले गएराती १ बजे बैठकस्थलबाट विप्लवका दाजु चन्द्रबहादुर चन्द 'बीरजंग'सहित २१ जना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा मगर 'सुवास'सहितका नेताहरु छन् ।

विप्लव दाङमै थिए ?

प्रहरीले विप्लव दाङ आएको सूचना केहीदिन अघि नै पाएको थियो । उनी दाङ आएर राप्ती कमाण्डको बैठक राख्ने सूचनाका आधारमा प्रहरीले केहीदिन देखि नै निगरानी थालेको सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने दाङको राजपुर गाउँपालिका-४ मुग्रेटाखोला नजिकै बैठक बसिरहेको समयमा प्रहरीले चारै तर्फबाट घेरा हाल्यो । विप्लवका दाजुसहित २१ जना पक्राउ गर्यो । तर विप्लव पक्राउ गर्ने प्रहरीको उद्देश्य उनका दाजुकै कारण असफल भयो ।

प्रहरीले बैठक स्थलमा विप्लव रहेको भन्दै घेरा हालेको थियो । बैठकमा विप्लव जस्तै देखिने उनका दाजु चन्द्रबहादुर चन्द 'बीरजंग' उपस्थित थिए । उनलाई पक्राउ गरेपछि प्रहरी अधिकारी केहीबेर झुक्किए ।

बैठक चलिरहेको समयमा विप्लव पनि नजिकै रहेका स्रोतको दावी छ । बैठकस्थलबाट भाग्न सफल भएका चार जनाले विप्लवलाई सूचना दिएपछि उनी भाग्न सफल भए । स्रोतका अनुसार प्रहरीले विप्लव दाङ आउने योजना दसैँको टिकाको भोलिपल्ट नै पाएको थियो ।

विप्लव खोज्न पुगेको प्रहरीको संयुक्त टोलीले बिहानसम्म घटनास्थल आसपासको क्षेत्रमा खोजी गरे पनि विप्लव भने सुरक्षित गन्तव्य तर्फ लागेका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सरकारले प्रतिबन्ध लगाएपछि ठाउँ ठाउँबाट नेकपाका झण्डै ६ सय नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।

यो पढ्नुभयो ?

यी हुन् मध्यरातमा पक्राउ परेका विप्लवका नेता-कार्यकर्ता (सूची)

विप्लव खोज्न पुगेको प्रहरीले दाजुलाई कसरी पक्राउ गर्‍यो ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV