...अनि नेताहरुमा इमान्दारिता हराउँछ (भिडियो कुराकानी)


SHARES

काठमाडौं । तारानारायण श्रेष्ठ २०६४ मा भएको पहिलो संविधान सभाका सदस्य हुन् । तत्कालीन माओवादीले सुरु गरेको दश बर्षे जनयुद्धबाट राजनीतिमा लागेका श्रेष्ठ रामेछापका लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

प्रस्तुत छ श्रेष्ठसँग उनको बाल्यकालकाल, राजनीतिक यात्रा र बर्तमान राजनीतिको बारेमा सञ्जय श्रेष्ठले गरेको कुराकानी: 

तपाइँको बाल्य अवस्था कसरी बित्यो ?

खेती किसानी गाउँको बसाइ, गाउँकै पढाई हुँदै बित्यो । कठजोरको नीलकण्ठेश्वारबाट सात कक्षा, खिम्तीबाट आठ कक्षाको परीक्षा दिएँ र एसएलसी गौरीशंकरबाट दिएको हुँ । र बाँकी शिक्षा बनेपाबाट लिएको हुँ । निम्नवर्गीए परिवारमा जन्मिएँ । गाउँमा पढ्दा त गाउँमै खेती किसानी गरेर अगाडी बढ्यो । खिम्तीमा पढ्दा (अध्ययन गर्दा) मामाघर बसेर पढें । गौरीशंकरमा पढ्दा गाउँकै आफन्त गुन्ज बहादुर श्रेष्ठसँग बसेर पढेको हुँ । बनेपामा दाइसँग बसेर पढे ।

राजनीतिमा प्रवेश गर्ने विचार कसरी आयो ?

मेरो गाउँ राजनीतिक रुपमा एक सशक्त ठाउँ हो । राणा शासानको बिरोधी कृष्णलाल अधिकारी र कांग्रेसका महामन्त्री पद्मशंकर अधिकारी रहेको गाउँ हो । म सानैदेखि मामाको घर गइरहन्थें । मेरो मामाको छोरा पहिलेदेखि नै कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । उहाँको प्रभाव र स्कुलिङले नै मलाई राजनीतिमा लाग्न प्रेरणा दिएको हो । मैले तीन बर्ष बनेपामा पढाएको पनि हो । बनेपा राजनीतिको सचेत थालो हो । मेरो दाई अदालतमा काम गर्नुहुन्थ्यो । त्यहाँ वकिल र राजनीतिक कर्मीहरुसँग पनि भेट हुन्थ्यो । त्यही बेला मेरो आमा बिरामी हुनुभयो । आमालाई क्यान्सर भएको रहेछ । त्यसपछि उपचार संभव नहुने भएपछि म आमालाई कुरेर घरमा नै बस्न थालें । त्यही समयमा जनयुद्ध सुरु भयो । साथीहरुले युद्धमा लागेर उत्पिडनमा परेकालाई सहयोग गर्नुपर्छ भनेर जोड गरेपछि म युद्धमा लागेको हुँ ।

जनयुद्धको अनुभव ?

म घरमा कसैलाई पनि थाहा नदिएर युद्धमा लागेको हुँ । युद्ध जटिल काम हो । त्यो बेलाका कुरा धेरै कठिन छ । युद्धमा हामीले सैदान्तिक राजनीतिक कुराको पनि प्रशिक्षण दिन पर्थ्यो । त्यो बेलामा कति दिन भोकै बसियो । कति पटक रोइयो पनि । कति पटक ठूला ठूला झडपमा पनि परियो । कहिलेकाहीँ घर जाउँ जस्तो पनि लाग्थ्यो । तर मुख्यतः सैद्धान्तिक राजनीतिक रुपमा लागेपछि सबै कुरालाई चिरेर अगाडी बढ्नुपर्छ भन्ने कुराले जित्यो र आज यो अवस्थामा आइपुगियो ।

तपाइँलाई पार्टीबाट के कस्ता जिम्मेवारी आए ?

युद्धमा लागेको एक बर्ष पछि सदस्यता पाएँ । बिशेषगरी सैन्य भन्दा पनि राजनीति र जनताको बीचमा जाने भूमिकामा रहेर काम गरेँ । चार बर्षमा जिल्ला सदस्य बनेँ । दुई बर्षपछि इलाका कमिटीमा पुगेँ । पछि केन्द्रीय आयोजक कमिटी र संविधानसभा सदस्य भएर भुमिका निर्वाह गरेँ । अहिले पार्टी संगठनमा नै रहेर निरन्तर लागिरहेको छु ।

कुनै पनि व्यत्ति, राजनीतिमा होमिइसकेपछि जनतासँगको सम्बन्ध कस्तो हुनुपर्छ ? किन गरिन्छ राजनीति ?

राजनीतिकमा लाग्नु नै जनताको सेवा गर्ने उदेश्य लिनु हो । जनताको सेवाका निम्ती विभिन्न कुराहरु गर्दै आएका छौं । हामीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । मैले गरेको पनि त्यही हो । मेरो राजनीतिक उदेश्य भनेको नै जनसेवा हो । १५–१६ बर्ष राजनीतिमा पूर्णकालीन भएर हिँडियो । आफ्नो उदेश्यबाट बिचलित नभइ लागिरहेपछि जनताले साथ दिन्छन् । पार्टीले दिएको जिम्मेवारी इमान्दारीतापुर्वक निर्वाह गर्नुपर्छ । कति नेताहरु जनतालाई बिर्सने पनि छन् र सम्झिने पनि छन् । त्यो व्यक्तिमा भर पर्दछ । म चाहीँ यही कुरामा अगाडि बढेर लागेको छु र लाग्नुपर्छ । अवसर पाएको बेला र नपाएको बेलामा पनि जनतालाई उत्तिकै महत्व दिएर अगाडि बढ्नुपर्छ ।

१० बर्षसम्म देशमा जनयुद्ध भयो । आजसम्म आइपुग्दा देशमा धेरै परिवर्तन भए । जनयुद्ध र परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?

हामीले समग्र र अंशको रुपमा यसलाई लिनुपर्छ । १० बर्षे जयुद्धको जगमा देशमा परिवर्तन आएको हो । सबै कुरा जनयुद्धको कारणले भएको भए पनि यो परिवर्तन र संविधान निर्माण युद्धले मात्र भएको भने होइन । फेरि जनयुद्ध गर्ने शक्तिले दुईतिहाइ पाएको पनि होइन । सबैको साथ र सहयोगका कारण देशमा परिवर्तन आएको हो । तर सबै कुरा भयो र पुग्यो भन्ने होएन । सबैलाई मिलाएर लैजाने बिषयमा केही छुटेको छ । तर पनि यो संबिधान यो धर्तीकै उत्कृष्ट संविधानको रुपमा आएको छ । धेरै लामो समयसम्म राज गरेकाले केही गर्न नसकेको अवस्थामा एउटा नयाँ राजनीतिक शक्तिले नेतृत्व गर्दैमा सबै पूरा हुन्छ भन्ने कुरा गलत हो ।

कुल र मुल रुपमा कुरा आएको छ । धेरै परिवर्तन भएको छ । केही भएकै छैन भन्ने होइन । नियम कानुनहरुको निर्माण हुँदैछ । संघ, प्रदेश र स्थानीय तहको सरकार बनेको छ । जनताको हित र अधिकारको लागि तीन तहको सरकार निर्माण भएको छ । नागरिकले धेरै अधिकार पाएका छन् । सबै जातजाति तथा महिलाले अधिकार पाएका छन् । आधारभुत आवश्यकताका कुराहरु पूरा हुँदै छन् । स्वास्थ्य र शिक्षाको कुरा ग्यारेन्टी भएको छ । सबै कुरा परिपर्वन हँुदैछ, प्रकृयामा छ । नागरिकहरुले आ–आफ्नो स्थान नजिकैबाट सरकारी सेवा लिन पाएका छन् । सिधा हेर्दा केही नभएको जस्तो देखिए पनि कुल रुपमा हेर्दा धेरै प्रगती भएको छ । हरेक कुराको बोरमा अहिले सबैले जानकारी पाउने गरी काम भएको छ । सबै कुरा मिलाएर लाने क्रममा केही नमिलेको जस्तो, कता बिजाए जस्तो भएको त छ । बिरोधीहरुले परिवर्तनको बिरोध त गर्छन् तर सबै कुरा हेर्दै जाँदा अन्तमा विरोध गर्ने ठाँउ पनि हुँदैन ।

सबै जनप्रतिनिधि जनताप्रति किन उत्तरदायी र इमान्दार हुँदैनन् ?

जनप्रतिनीधि जनताप्रति उत्तरदायी नभएका केही सन्दर्भ छन् । तर यो निर्वाचन प्रकृयाको कारण केही समस्या भएको छ । खुल्ला निर्वाचनमा आइसकेपछि जसले चुनाव जित्नसक्छ त्यसैलाई टिकट दिनुपर्ने हुन्छ । त्यसो गर्दा राजनीतिक भन्दा पनि गैर राजनीतिक व्यक्तिको हाबी हुने गर्दछ । इमान्दार, निष्ठावान र राजनीतिक व्यक्तिलाई चुनावमा टिकट दिँदा अनुशासनमा नबस्ने, जथावाबी गर्ने पनि छन् । कतिपय अवस्थामा नेकपाले त्यस्ता व्यक्तिलाई काबाही पनि गरेको छ । अब त्यसमा पत्रकारहरुको पनि भूमिका शसक्त हुनुपर्छ । गलत गर्नेको विरुद्धमा पत्रकारले निडर भएर कलम चलाउन आवश्यक छ । फेरि यस्तो विशाल पार्टी र संगठन भएको नाताले नेकपा भित्र सबै सङ्लो छ भन्ने होन यहाँ पनि केही दलालहरु छन्, फटाहाहरु छन्, भ्रष्ट्राचारीहरु छन् ।

पैसा र पावरको आधारमा जनप्रतिनिधि चुनिनु, राजनीतिकभन्दा पनि गैरराजनीतिक व्यक्तिहरुले चुनाव जित्नु, पार्टीको निर्देशन नमान्ने र आफ्नो इच्छा अनुसार चल्ने अवस्थाका कारण यो भएको छ । यसको पीडा सबै राजनीतिक दलले भोगेका छन् । पार्टीले जनप्रतिनिधिलाई जनताप्रति इमान्दार भएर लाग्नका लागि स्कुलिङ गर्नुपर्छ । यो काम पार्टीले गर्न ढिलो भएको छ । केही जनप्रतिनिधि लोभ र लालचमा पनि लागेका छन् । सबै जनप्रतिनिधिले राम्रोसँग काम गर्न पनि सकेका छैनन् । पारदर्शी नभएका ठाँउमा पत्रकार लगायत सबै जना बोल्नै पर्छ । त्यसैले केही बेरुजु पनि आएका छन् । केही बेरुजु आउनु ठूलो कुरा पनि हाइन । यो समान्य कुरा हो । नियम कानुनहरु नमिलेको कारण पनि यो भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV