पत्रकार ङेसुरको ‘तामाङ भाषा र लिपि’ पुस्तक सार्वजनिक



काठमाडौं । पत्रकार प्रतीक ङेसुर तामाङको ‘तामाङ भाषा र लिपि’ पुस्तक सार्वजनिक भएको छ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकमा तामाङ भाषा लेखनमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध संघलगायत संस्थाले प्रचलनमा ल्याएको ‘तामयिग’ तथा बौद्ध धर्म संस्कारमा प्रयोग हुने ‘सम्बोटा (उछेन)’ लिपिको प्रयोग कति व्यावहारिक छ भन्ने विषय समेटिएको छ। दुवै लिपिको प्रयोग गर्नेबारे वर्षौंदेखि चल्दैआएको विवाद अन्त्यका लागिसमेत पुस्तकमार्फत लेखकले सरोकारवालाई सुझाएका छन्।

‘तामाङ समुदाय विगत २६ वर्षदेखि लिपिको विवादमा अल्झिरहेको छ,’ पुस्तक लोकार्पण समारोहमा लेखक तामाङले भने, ‘यही विवादका कारण विद्यालय तहका बालबालिकालाई अध्यापन गराउन आवश्यक पाठ्यपुस्तक तयार पार्न सकेका छैनौं। यसले तामाङ भाषाको संरक्षण र पुस्तान्तरण गर्ने कार्यमा ठूलो समस्या सिर्जना गरेको छ।’

‘तामाङ भाषा अलग्गै भएकाले जुनसुकै लिपिमा लेखन अभ्यासमा जाँदा पनि सरल र मौलिक लेखनशैली हुनुपर्छ भन्ने मान्यतालाई विकास गरिनुपर्छ। उछेन लिपिलाई आधार मान्दैमा तिब्बती भाषाको व्याकरणलाई हुबहु अनुकरण गर्ने गराउने प्रवृत्तिले तामाङ भाषाको विकासमा सघाउ र्पुयाउँदैन। यति दुई कुरामा सहमति गरेर अगाडि बढेमा भाषाका लागि नयाँ फड्को हुनसक्छ,’ पुस्तकको निष्कर्षमा उनले उल्लेख गरेका छन्।

पूर्वमन्त्री तामाङले तामाङ भाषा आफैंमा समृद्ध भाषा भएको बताए। पछिल्लो समय भाषा पुस्तान्तरणको क्रम घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसले भाषा लोप हुने खतरा बढेको बताए। तामाङ भाषा संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा पूर्वमन्त्री तामाङले जोड दिए।

नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले नेपाल र भारतका संस्थाले संयुक्त निर्णय गरेर तामयिक लिपि प्रचलनमा ल्याएको बताए। लेखकले पुस्तकमार्फत प्रस्तुत गरेको सुझाव सैद्धान्तिक रुपमा सकारात्मक भए पनि संस्थागत निर्णयबाट पछि हट्न सहज नहुने उनको तर्क छ। यद्यपि, घेदुङलाई अबको बाटो तय गर्न पुस्तकले सहज बनाइदिएको उनले बताए।

लेखकद्वय रवीन्द्र तामाङ र दुपवाङगेल मोक्तानले तामाङ समुदायमा वर्षौंदेखि रहेको लिपि विवाद अन्त्य गरी नयाँ सहमतिको मार्गमा लैजान पुस्तकले भूमिका खेल्नसक्ने बताए। तामाङ भाषाको संरक्षण र विकासका लागि पुस्तक महत्वपूर्ण हुने उनीहरूको भनाइ छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV