फेवातालमा राष्ट्रपति हमिद सरर…(फोटो फिचर) « Nagarik Khabar

फेवातालमा राष्ट्रपति हमिद सरर…(फोटो फिचर)



पोखरा । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ ।

नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आएका उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता एवं उच्चपदस्थ अधिकारीले स्वागत गरे ।

राष्ट्रपतिको स्वागतार्थ विमानस्थलको अतिविशिष्ट कक्षबाट उनी सवार हेलिकप्टरसम्म नै रातो कार्पेट बिच्छ्याइएको थियो ।

हेलिकप्टरबाट झर्नासाथ क्रमशः नेपाली परम्परागत पोशाकमा सजिएका पञ्चकन्या, प्रदेश प्रमुख, कावा मुख्यमन्त्रीलगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्दा राष्ट्रपति हमिद प्रफुल्लित देखिन्थे । विमानस्थलमा उनको स्वागतार्थ पञ्चैबाजा पनि बजाइएको थियो ।

विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहनुभएका राष्ट्रपति हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुगेका थिए ।

उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उनको भव्य स्वागत गरेका थिए ।

यस्ता अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको पर्यटन व्यवसायी एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए ।

“राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ”, उनले भने, “अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्नेछ ।” पोखराको प्राकृतिक सुन्दरता र यहाँबाट देखिने रमणीय हिमाली दृश्यले जो कोहीलाई पनि लोभ्याउने गरेको बताउँदै उनले मौसमका कारण आज भने आशातित हिमाल खुल्न नसकेको बताए ।

फेवाताल किनारमा पुगेका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गरेका थिए । जलविहारका क्रममा उनले ठाउँठाउँमा सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरको थिए ।

जलविहारपछि राष्ट्रपति हमिद फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरे ।

रुपाकोटको दृश्यावलोकनपछि उनी सीधै काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: