सिडिओ सा’बको इतिहास–साधना « Nagarik Khabar

सिडिओ सा’बको इतिहास–साधना



 

  • राजकुमार दिक्पाल

सेवानिवृत्त जीवन । कामैकामबाट हिजो उत्पन्न शारीरिक र मानसिक थकानलाई आज बिसाउनुपर्ने समय । ‘हरे कृष्ण… हरे राम…’ गाउँदै परत्र सुधारका लागि तिर्थव्रत गर्ने सेवानिवृत्तहरु प्रशस्तै पाइन्छन्, हाम्रो नेपालमा ।

उर्वर वय राष्ट्रसेवामा समर्पण गरेर सेवानिवृत्त भगिराज इङ्नामको जीवनको शब्दकोशमा सायद ‘वानप्रस्थ’ शब्द, न थकाई शब्द नै छ । त्यसैले भजनकीर्तन र तीर्थव्रत गर्ने समय पनि छैन, उहाँसँग । राष्ट्रसेवाको ३४ वर्ष आठ महिनाको समयभन्दा बढी वेफुर्सदी बन्नुभएको छ, उहाँ । शारीरिक बेफुर्सदी त छ नै, झन् मानसिक बेफुर्सदीको चटारोले उत्पात मच्चाउँछ । फेरि पनि लोभलाग्दो छ, उहाँको पछिल्लो कर्म । भन्न मन लाग्छ, जीवन त भगिराज इङ्नामको जस्तो हुनुपर्ने, रिटार्यड बट् नट् टायर्ड !

कुनै बेलाको एउटा क्षण । दुई परिवारबीच सम्बन्ध गाँसिदै थियो । बौद्धिक व्यक्तित्व विष्णुदत्त आङबुहाङ (हालः क्यानडा) सामाजिक व्यक्तित्व विष्णुकुमार यक्सोको ललितपुर भैंसेपाटीस्थित घरमा दलबलसहित आइपुग्नुभयो । यता यक्सो परिवार पनि तयारी अवस्थामा थियो । यक्सो परिवारको दलको एउटा सदस्यका रुपमा म पनि भैंसेपाटीमा तैनाथ थिएँ ।
त्यसपछि एउटा परम्परागत सांस्कृतिक वातावरणबीच दुवै दलबीच एउटा सहमति भयो । सहमति थियो, विष्णुदत्त आङबुहाङज्यूको मागअनुसार उहाँको सुपुत्रलाई विष्णुकुमार यक्सोले आफ्नी सुपुत्री दिनुपर्ने । हिजो एउटै गाउँका गाउँले साथी विष्णुदत्त र विष्णुकुमार अब सम्धी–सम्धी हुँदै हुनुहुन्थ्यो । यसरी दुई परिवारबीच अनन्तसम्म रहने सुमधुर सम्बन्धको सुरुआत भएकोमा हामी दुवै दलका सदस्यले गम्भीरतापूर्वक हर्षोल्लास प्रकट ग¥यौं ।

विष्णुदत्त सम्धिसा’ब त्यो सम्बन्ध सुरुआतीलाई औपचारिकता दिलाउनका लागि समाजका लब्ध प्रतिष्ठित नातागोता र इष्टमित्रका साथ आउनुभएको थियो । उहाँको दलमा पूर्व माननीय दुर्गामणि देवान मुख्य भएर आउनुभएको थियो । उहाँको साथमा नेपाल सरकारका तत्कालिन उपसचिवहरु भगिराज इङ्नाम र प्रेम राई पनि उपस्थित हुनुहुन्थ्यो ।
हामी यक्सो परिवारको तर्फबाट अलि आलाकाँचा र बुढ्यौली भन्न पनि नसुहाउने ठिटाहरु थियौँ । त्यसैले हामीले अनन्तहाङ यक्सोलाई हाम्रोतर्फबाट सोतरित कस्ने अघिसरा बनाएका थियौँ । लिम्बु रितअनुसार उहाँले कसेर ल्याउँदा दुलाहा पक्षधर नेता देवानलाई निक्कै आच्छुआच्छु परेको थियो । हा…हा…हा…!

यसरी मगनी भएको केही सातापछि भब्यतापूर्वक वैवाहिक कार्यक्रम पनि सम्पन्न भयो ।

कलेज पढाएर फर्केपछि घरमा कपडा फेर्दै मात्र थिएँ, एक दिन फोन आयो । ‘भाई, एकछिन भेटौँ न, सानो काम छ’, भगिराज इङ्नामको फोन आयो । म उहाँलाई भेट्न कपडै नफेरि दौडिहालेँ ।
मेरो त्यो दौडको एउटै उद्देश्य थियो, पुस्तक प्राप्ती । उहाँले आफूले लेखेको पुस्तक मलाई दिन लाग्नुभएको रहेछ, त्यो पनि इतिहासको । त्यसैले मैले तत्कालै दौडिहाल्नुपर्ने भयो । उहाँ पनि हतारहतारमा कार्यालयतिर जान लाग्नुभएको रहेछ । पुस्तक हात प¥यो, ‘तेह«थुम जिल्लाको किपट प्रथा’।

त्यहीँ छोटो भेटमा उहाँले भन्नुभयो,‘मेरो बढुवा पनि भयो । अब जागिर खानु धेरै पनि छैन । चाडै सेवानिवृत्त हुँदैछु ।’

त्यसको केही एक दुई सातापछि उहाँ धनकुटाको प्रमुख जिल्ला अधिकारी भएर रवाना पनि भइहाल्नुभयो । संयोग पनि कस्तो, धनकुटा मेरो गृहजिल्ला ।

उहाँले दिनुभएको उहाँको त्यो पुस्तक पढेँ । सक्दो मेहनत गर्नुभएको रहेछ । त्यसबारेमा समीक्षा लेख्ने मन थियो । तर आँट गरिनँ । पुस्तक परिचय लेख्न सजिलो होला, तर समीक्षा गर्नेले सम्बन्धित विषयमा लेखकले भन्दा बढी पढेको हुनुपर्छ, भन्ने लाग्छ । त्यसैले समीक्षा गरिहाल्ने आँट जुटाउन सकिनँ मैले ।

नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको यस पुस्तकमा एउटा सानो गल्तीमा भने मेरो आँखा परिहाल्यो । एउटा शब्दको अर्थ अशुद्ध भएका कारण त्यसलाई सच्याइदिनु प¥यो भन्दाभन्दै राज्यले उठाउने ‘मेगजिन कर’का बारेमा एउटा लेख नै तयार भएछ । एक राष्ट्रिय दैनिकमा मैले त्यो लेख छपाएँ । त्यो लेख विदेश बसेर लेखेको थिएँ । लेख तयार पार्दा सक्दो सन्दर्भ सामग्री समेटेको थिएँ ।

लेखन एउटा जोखिमपूर्ण कर्म हो, लेखनले सम्बन्ध जोड्ने मात्रै होइन, तोड्ने काम पनि गर्छ । त्यति परिपक्व व्यक्तित्वले लेखेको पुस्तकको एउटा एउटा शब्दलाई लिएर एउटा सिंगो लेख लेख्नु एउटा ठूलो धृष्टता थियो । त्यो जोखिम मोलिसकेपछि सोचेँ, सीडियो सा’बले चित्त दुखाउनुभयो होला मसित !

म विदेशमै थिएँ । त्यताको रातको २ बज्न लागेको थियो । थोरै अध्ययन र लेखनपछि सुत्ने तरखरमा थिएँ । फेसबुक म्यासेन्जरमा कल आयो ।
एउटा शब्दार्थमा पाएको अशुद्धि औल्याउँदै एउटा लेख नै तयार पारी छपाउने मानिससँग उहाँले उल्टै मायालु पाराले पनि संवाद गर्नुभयो । भन्नुभयो,‘भाई, मैले लालमोहर तथा पुरानो कागजपत्र भेला गरिरहेको छु । भाईसँग केही कागजपत्र छन् भने पाऊँ न !’

सुरुमा त म आफू झस्केँ । विगत चार वर्षदेखि म आफैँ लिम्बु जातिसँग सम्बन्धित कागजपत्रहरु सङ्कलन गरी एउटा ऐतिहासिक पत्र सङ्ग्रहको तयारीमा लागेको मान्छे ।

मैले उहाँलाई एउटा सर्त तेस्र्याएँ, ‘मसँग भएजति हजुरलाई दिन्छु, बरु सहलेखन गरौँ । हामी दुई जनाको नाममा पुस्तक छापौँ ।’

‘हुन्छ, म तयार छु भाई’, उहाँले सहर्ष भन्नुभयो ।

उहाँले आफूसँग भएको पुराना अभिलेखहरु धमाधम पठाउन थाल्नुभयो । त्यसको अर्थ लगाइमाग्नुभयो । मैले कनिकुथी अर्थ लगाउने प्रयास गरेँ ।
त्यो दिन मैले आफ्नो परियोजना परित्याग गर्ने निर्णय गरेँ, जुन दिन उहाँले मलाई एउटा अभिलेख पठाइदिनुभयो । पृथ्वीनारायण शाहअघि नै कामदत्त सेनले लिम्बुहरुलाई सेन राजाले दिएको स्याहामोहरको सक्कल थियो त्यो । यति महत्वपूर्ण अभिलेख फेला पार्ने साधकसँग मैले सहकार्य नगर्ने निर्णय गरेँ । मैले उहाँलाई निवेदन गरेँ, ‘मैले अब आफूले लेख्ने भन्ने परियोजना त पूर्ण रुपमा परित्याग गरेँ नै, हजुरसँग सहकार्य पनि गर्दिनँ अब । बरु के कसरी हजुरलाई सघाउनुपर्ने हो, त्यो म इमान्दारिता गर्छु । मसँग भएका सबै अभिलेखहरु पनि हजुरलाई नै समर्पण गर्नेछु ।’ मैले आफ्नो वाचाअनुसार उहाँलाई आफूसँग भएको सबैजसो अभिलेखहरु पठाइदिएँ । उहाँले नै प्रयोग गर्नुहुँदैछ, ती सबै ।

पछिल्लो समय आफ्नो दोस्रो कृति ‘लिम्बु जातिको इतिहास’ नेपाली समाजलाई पस्किसकेपछि उहाँ गुप्तबासमा हुनुहुन्थ्यो । त्योभन्दाअघि गाउँगाउँ चाहार्नुभयो । राष्ट्रिय अभिलेखालय र परराष्ट्र मन्त्रालय लगायत सरकारीमा सुरक्षित पोकाहरु खोल्दै अभिलेखहरु सङ्कलन गर्नुभयो ।
मूल चासो लिम्बु जातिमाथि केन्द्रीत भए पनि तिनीहरुका लागि सहायक हुने अभिलेखहरुलाई अहिले तीन वटा भोल्यूमको ऐतिहासिक पत्रहरुको सङ्ग्रहलाई अन्तिम रुप दिएर उहाँ सन्तुष्टिको लामो सास फेरिरहनुभएको छ ।

निकट भविष्यमै प्रकाशनमा ल्याउने तयारी गरिएका ती भोल्यूमहरु बजारमा आइसकेपछि उहाँको सही मूल्याङ्कन गर्नेहरुले उहाँलाई भन्नेछन्, भगिराज इङ्नाम भनेको त केवल एउटा मानिस होइन, खासगरी लिम्बूहरुको सिंगो अभिलेखालय पो रहेछन् !

तेह«थुम आठराईमा एउटा सुवांगी विरासत लिएको परिवारमा जन्म हुनु । लिम्बूहरुले पाएको सुवांगी अधिकार र जिम्मेवारीबारे बाल्यकालमै परिचित मात्रै नभई ती कर्महरुमा सहायक भएर काम गर्नुले भगिराज इङ्नाममा इतिहासप्रतिको भोक जाग्यो । भोकले समर्पणतर्फ डो¥यायो, अनि समर्पणले साधनातर्फ । अहिले यी पूर्व सीडीओ सा’बको परिचय इतिहास साधकमा परिणत हुन पुगेको छ ।
उहाँको इतिहास–साधना देख्दा लाग्छ, उहाँले यस्तो कर्म आफ्नो ब्यक्तित्व निर्माण र प्रशिद्धिका लागि गरिरहनुभएको छैन । यो त सिंगो समाजका लागि समर्पित देखिन्छ ।
यहीँ समर्पणका क्रममा उहाँसँग केही तीता र मीठा क्षणहरु पनि छन् । कतिपयले दिइसकेको कागज अन्तिम समयमा आएर फिर्ता मागेको घटना, कतिपयले फोनकै भरमा कागजपत्रको फोटो पठाइदिएको घटना । यस्ता तीतामीठा अनुभवको संगालो छ, उहाँसँग ब्यक्तिगत सम्पतिको रुपमा ।

राष्ट्रिय अभिलेखालयको टोली लिएर पूर्वी नेपालका गाउँगाउँमा पुगेर पुराना कागजपत्रहरु सङ्कलन गरी अभिलेखालयको सुरक्षित राख्न सहयोग गर्नु, आफूसँग भएका सबै कागजपत्रहरु अभिलेखालयलाई समर्पण गर्नुले उहाँको काम व्यक्ति होइन, समाज र समाज मात्र होइन, राष्ट्रोन्मुख देखिन्छ । यसै कर्मका क्रममा उहाँले १५ सयभन्दा बढी कागजपत्र सङ्कलन गर्न राष्ट्रिय अभिलेखालयलाई सहजीकरण गर्नुभयो ।

अत्याधुनिक बन्दैछ, समाज । तर इतिहासको महत्व झन् बढिरहेछ । भोलिको पुस्ताले इतिहास खोजे भेट्न नसक्ने अवस्था आइरहेको छ । त्यसैले अहिले तिनीहरुलाई सुरक्षा गर्नुपर्ने दायित्व आजको पुस्ताको हो । त्यहीँ दायित्व निर्वाहका क्रममा सेवानिवृत्त सीडीओ सा’ब साधनामा निर्लिप्त हुनुहुन्छ ।

एक दिन भूगोलविद् प्रा. रामकुमार पाँडेको घरमा पुगेको थिएँ, एउटा समाचार सामग्री संकलनका लागि । उहाँले मलाई उहाँको पुर्खासम्बन्धी लेखिएको एउटा पुस्तक उपहार दिनुभयो । त्यहाँ लेखिएको थियो, इतिहास नपढ्नेले देश हाँक्दैन, भूगोल नजान्नेले देश चिन्दैन, सँस्कृति नबुझ्नेले सभ्यता जान्दैन ।

सात वर्षअघि आङबुहाङ परिवार र यक्सो परिवारबीच वैवाहिक सम्बन्ध सुत्रपातका लागि भैसीपाटीको यक्सो निवासमा भेला भएको त्यो क्षण । मूल विषयवस्तुको छिनोफानोपछि खानपिन र त्यहीँ क्रममा भएको सुन्य समय । सुन्य समयमा भएको छलफल र त्यसमा पनि इतिहाससम्बन्धी छलफल ।

त्यो गुणस्तरीय क्षणको उपलब्ध अब धमाधम देखिदैछ, ठोसमा देखिनेवाला छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: