सूर्य कर्पोरेशनको अवैध काम: जापान पुर्याउन १२ लाख, पुगेपछि शरणार्थी ! (अडियोसहित)


SHARES

काठमाडौं । भिसा कन्सल्टेन्सीका नाममा अनधिकृतरुपमा जापानमा मानिस पठाउने गरेको सूर्य कर्पोरेशनले नेपालबाट भिजिट भिसामा मानिस लैजाने र जापानमा शरणार्थी बनाउने गरेको खुलासा भएको छ । कर्पोरेसनले जापान लगेका व्यक्तिलाई शरणार्थी आवेदन दिन लगाउने र तोचिगी प्रिफेक्चरमा कृषि क्षेत्रमा काम लगाइदिने गरेको छ ।

नेपालमा २०७३ साल फागुनमा दर्ता भएको सूर्य कर्पोरेशनले जापानमा पनि यहीँ नामबाट कम्पनी सञ्चालन गरेर अवैध काम गरिरहेको छ । जापानमा यसका सञ्चालक शम्भुका आफ्नै दाई बासुदेव लामिछानेले समन्वय गर्छन् । जापानबाट अवैधरुपमा अमेरिका पठाउने काममा पनि कर्पोरेशन क्रियासिल रहेको आरोप लागेको छ ।

तीन महिनाअघि जापान पुगेका एक नेपालीले आफूले १२ लाखभन्दा धेरै रकम तिरेर जापान आएपनि शरणार्थी बन्नु परेको बताएका छन् । राई थरका ती व्यक्ति अगष्ट २ तारेखमा जापान पुगेका थिए । उनी अगष्ट ८ मा नेपाल फर्किनु पर्नेमा लामिछानेले नै शरणार्थी आवेदन दिन लगाए । जापानमा 'म मेरो देशमा जान सक्दिन, मलाई मेरो देशमा असुरक्षा छ' भनेर शरणार्थीको आवेदन दिएपछि उनी अहिले जापानमै काम गरेर बसिरहेका छन् ।

चितवनका खतिवडा थरका अर्का एक व्यक्तिले पनि लामिछानेलाई मोटो रकम बुझाएर जापानमा शरणार्थी बनेर वैधानिक हुने प्रकृया थालेका छन् ।

खतिवडा थरका ती व्यक्तिले आफूलाई नेपालमा असुरक्षा भएको बताएर शरणार्थीको रुपमा आवेदन दिएका थिए । नेपालमा पुतलीसडकमा रहेको कार्यालय र जापानमा पनि यहीँ नामको कम्पनीले अवैध तरिकाले काम गरिरहेको छ ।

 

उदयपुरका राई थरका ती व्यक्तिले भिजिट भिसाका लागि शम्भु लामिछानेलाई पटक पटक गरेर १० लाखभन्दा धेरै रकम बुझाएका छन् । राई थरका ती व्यक्तिले १० लाखभन्दा धेरै रकम बैंक मार्फत र बाँकी नगद तिरेका थिए ।

 

 

नागरिकखबरसँग १२ लाख ५० हजार लाग्ने लामिछानेको खुलासा

अनधिकृतरुपमा जापान मानिस पठाउने र लाखौँ रुपैयाँ असुल्ने सूर्य कर्पोरेशनका सञ्चालक लामिछानेले नागरिकखबरका संवाददातालाई ग्राहक बनेर फोन गर्दा जापान पठाउन सकिने उत्तर दिए ।

जापान पठाउनका लागि १२ लाख ५० हजार रुपैयाँ लाग्ने बताउँदै उनले जापानमा पनि इच्छाअनुसारको भिसा मिलाइदिने आश्वासन दिएका छन् ।

लामिछानेले हाम्रा संवाददातालाई जापानमा रहेका साथीसँग सल्लाह गरेर शरणार्थी वा अन्य वर्किङ प्रकृया के गर्ने भन्ने निर्णयमा पुग्न सुझाव दिएका छन् ।

सुनौँ हाम्रा संवाददाताले लामिछानेसँग गरेको कुराकानी



नेपालमा सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले जापानमा हुने विभिन्न कार्यक्रमका साथै अन्य समयमा पनि अनधिकृतरुपमा मानिस पठाउने गरेको तथ्य नागरिकखबरले सार्वजनिक गरेपछि पीडितहरु सम्पर्कमा आउन थालेका छन् ।

केही समयअघि खोटाङका राई थरका एक युवा हानेदा विमानस्थलबाटै अध्यागमनले फिर्ता गरेको नेपालस्थित अध्यागमन स्रोतले जानकारी दिएको छ ।

आफ्नो गाउँका तीन जना साथीहरु कर्पोरेसन मार्फत जापान गएपछि उनी पनि जापानका लागि लाखौँ रुपैयाँ लामिछानेलाई बुझाएर हानेदा विमानस्थलसम्म पुगेका थिए । तर त्यहाँको अध्यागमनले उनलाई फिर्ता पठायो ।

सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले आफूले जापानको भिसामा सहयोग गरेपनि कसैलाई पनि गैरकानुनी रुपमा जापान नपठाएको दावी गरेका छन् । कलाकार बाहेकका अन्य मान्छे नलगेको उनको भनाइ छ ।

यो पनि हेर्नुस्

सूर्य कर्पोरेशनले गर्यो भिसा कन्सल्टेन्सीका नाममा अवैध धन्दा

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV