‘पाश्चात्य दर्शन नै होइन , पूर्वीय दर्शनले बाँच्न सिकाउँछ’ (भिडियोसहित) « Nagarik Khabar

‘पाश्चात्य दर्शन नै होइन , पूर्वीय दर्शनले बाँच्न सिकाउँछ’ (भिडियोसहित)



काठमाडौं । पूर्वीय दर्शन संसार भरका विज्ञले स्वीकार गरेको र अनुशरण गरेको दर्शन हो । अहिले पाश्चात्य र पूर्वीय दर्शन बीच लडाइँ देखिएको छ । पूर्वीय दर्शन भनेको के हो ? किन पाश्चात्य दर्शन पूर्वीय दर्शनमाथि हावी भइरहेको छ ? दर्शन किन मान्ने ?

यस बिषयमा वेदान्तचार्य एवं प्राध्यापक हरिशरण उपाध्याय र समाजशास्त्री एवं प्राध्यापक उद्धव सिग्देलसँग नागरिकखबरकर्मी सञ्जय श्रेष्ठले कुराकानी गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

पूर्वीय दर्शन

पूर्वीय दर्शन भनेको प्रकृति र आत्मा, चेतन र अचेतन बिचको भिन्नताको बिश्लेषण हो । यो चेतन पदार्थ हो, त्यो अचेतन पदार्थ हो भन्ने कुरा जान्नु नै पूर्वीय दर्शन हो । चेतनको ज्ञान नै ज्ञान हो । हाम्रो शरीरमा विभिन्न कुराहरु छन् । जस्तो म मेरो हात भन्छु । मेरो खुट्टा भन्छु । म भन्ने कुरा नै चेतन हो । शरीर नाशवान हुन्छ । आत्मा सत्य हो भन्ने कुुरा विश्लेषण गर्नु नै पूर्वीय दर्शन हो । हामी एउटै हो भन्ने ज्ञान गराउनु नै दर्शन हो । दर्शन नभए विश्व खतम हुन्छ । भौतिक पदार्थ र आत्मा बीचको सम्बन्धको बिष्लेषण नै पूर्वीय दर्शन हो । दर्शन भनेको ओभर अल नलेज, रहन सहन, धर्म, संस्कृति, परम्परा हो । यी सबै दर्शनको जगमा अडेको हुन्छ ।

यदि दर्शन भएन भने जीवन जीवन नै होइन । जीवन शुन्य हुन्छ । दर्शन ज्ञान प्रणालीको रुट हो । अहिले ज्ञान प्रणाली २ किसिमको छः पूर्वीय ज्ञान प्रणाली र पाश्चात्य ज्ञान प्रणाली छ । पूर्वीय दर्शनको ज्ञान प्रणाली एकिकृत छ । धर्म, संस्कृति, परम्परा, रितीरिवाज, रहन सहन बीच कनेक्सन हुन्छ । त्यही अनुसारको जीवन पद्धति हुन्छ । पाश्चात्य भनेको व्यक्तिवादी हुन्छ । त्यहाँ व्यक्ति नै सर्वेसर्वा हुन्छ । दर्शनमा आधारित समाज उत्तम समाज हो । पूर्वीय दर्शन भनेको समाज र मानिससँग प्रत्यक्ष जोडिएको दर्शन हो । मानिसको कृयाकलाप र कामसँग जोडिएको कुरा हो ।

पूर्वीय दर्शनको पश्चिामाहरुमा प्रभाव

हामी भित्र रहेको चेतन पदार्थ एउटै हो । त्यसको कारण हामी बीचमा बन्धुत्व बढाउँछ । पश्चिमाहरुले अर्थ प्रधान मान्छन् । अर्थ प्रधान भएकाले त्यहाँ अर्थलाई नै सबैकुरा ठान्दछन् । उनीहरुबीचमा दर्शनको प्रभाव शुन्य प्राय छ । आर्थिक रुपमा सम्पन्न भएको कारण उनीहरु पैसामा आफ्नो प्रभाव खोज्दछन् । उनीहरु पैसाको आडमा सबै कुरा परिवर्तन गर्न खोज्छन् । भगवनको नाम लिएर उनीहरु आफ्नो धर्म प्रचारमा लागेका छन् । हाम्रो कमजोरी उनीहरुले बुझेका छन् । त्यही भएर हामी माथि हावी भएका छन् । पूर्वीय दर्शनमा धेरै उदारता छ । सबै खुसी तथा सुखी रहनु पर्दछ भन्ने पूर्वीय दर्शनको मान्यता र सिद्धान्त हो ।

पश्चिमाहरुमा पूर्वीय दर्शनको प्रभाव कति छ, भन्ने कुरा भ्यालेन्टाइन डेको उदारण हेर्न सकिन्छ । हामी भ्यालेन्टाइन डेको दिन प्रेम दिवस भनेर मनाउछौं तर त्यो होइन । भ्यालेटाइन डे भनेको उसको स्मृती हो । यसलाई रोमका राजा काल्उडेसले मारेको दिन सम्झेर भ्यालेन्टाइले के दियो भनेर सम्झिएका हुन् । भ्यालेन्टाइनले विवाह गरेर बस्नु पर्दछ, परिवारमा बस्नु पर्दछ भने पछि उसलाई प्श्न गरियो, यो कुरा कहाँबा सिक्यो भनेर । उनले यी कुरा पूर्वीय दर्शनबाट सिकेको भनेर जवाफ दिए त्यसपछि उनलाई मारिएको हो । त्यसकारण भ्यालेन्टाइनडे सबैले सम्झन थालेका हुन् । भ्यालेन्टाइन डे प्रेम दिवस होइन ।

दर्शन परिवर्तनको उदेश्य

आफ्नो पहुँच भित्र राख्न खोज्नु, आफ्नो साम्राज्य बिस्तार गर्नु पश्चिामाहरुको उदेश्य हो । गाईको मुख, बाघको नङग्रा लिएर उनीहरु आएका छन् । पश्चिमाहरु मुलत अर्थ प्रदान भएकाले उनीहरु आर्थिक रुपमा प्रभावमा पारेर हाम्रो संस्कार, संस्कृतिलाई आफूतिर आकर्षण गर्न चाहन्छन् । उनीहरुले सोझा साझा मान्छेलाई फकाएका छन् । संस्कृति देशको प्राण हो । पहिले पश्चिमाहरुको देशमा सुर्यास्त हुँदैन थियो । अहिले पनि उनीहरु त्यही चाहन्छन् । आफ्नो प्रभुत्व कायम गर्नका लागि ५ वटा तरिका प्रयोग गरे । वार, क्रिष्चियानिटी, उपनिवेशवाद, आधुनिकीकरण र कम्युनिजम हो । अहिले आएर सभ्यताको लडाइँमा उनीहरु रहेका छन् । मानिसहरु अहिले तत्काल फाइदाको लागि लागिरहेका छन् । आफ्नो अधिकार जमाउनका लागि उनीहरु जे पनि गर्न तयार छन् ।

दर्शनको भिन्नता

पाश्चात्य खासमा दर्शन नै होइन । उनीहरुको संस्कार र संस्कृति भनेको छाडा हो । जस्तो हामी गाई–बस्तुमा देख्दछौं । उनीहरुले हामी अरु मानिस भन्दा फरक मानिस हौं, भन्ने कुरा स्थापित गर्न चाहान्छन् । सवैले हामीलाई मान्नु पर्दछ भन्ने मान्यता राख्छन् । सबै खुसी र सुखी हुनु आवश्यक छैन भन्ने उनीहरुको मान्यता हो । पूर्वीय दर्शन मूल्यमा आधारित हुन्छ । तर, पाश्चात्यमा विज्ञानमा आधारित हुन्छ । पूर्वीय दर्शनले मेरो पिता मेरो लागि महान हो भनेर सिकाउँछ भने पाश्चात्यले केही पनि हैन भन्ने कुरा सिकाउँछ । हाम्रो दर्शन भनेको वैद्धिक कालदेखि नै एक रफ्तारमा आएको छ । यसमा कही समस्या छैन । पाश्चात्य दर्शन नै होइन । ब्रम्हाण्डको रुट नै वेद हो ।

दर्शन किन मान्ने ?

दर्शन जीवनको आधार हो । दर्शन बिना हामी रहन सक्दैनौं । मान्छेहरु अहिले स्वेच्छाचारी भएका छन् । दर्शनमा आधारीत समाज निर्माण गर्नको लागि शिक्षा प्रणलीमा परिवर्तन गर्न आवश्यक छ । दर्शन तथा संस्कृति बिना मानिस लामो समय बाँच्न सक्दैन । अबको ४० बर्षपछि हरेक मानिसले सोच्नको लागि चिप्स प्रयोग गर्नुपर्छ । यो संस्कार संस्कृतिको स्खलितको कारण हो ।

अर्थसँग जोडिएको पूर्वीय दर्शन

पूर्वीय दर्शन अर्थ उपार्जनसँग जेडिएको हुन्छ । हामीलाई ज्ञान र अर्थसँग जोडिदिएका छन् । त्यसैले हामीलाई आफू केही होइन भन्ने लाग्छ । हाम्रो धर्मसँग अन्तरनिहित अर्थ र अर्थसँग जोडिएको जीवनशैली हो । हाम्रो दर्र्शनले आचरणयोग्य, नैतिकवान, असल हुनु पर्दछ भन्ने सिकाउँछ । तिमी स्वस्थ हुनु पर्दछ अनि मात्र तिमीले सम्पती कमाउन खोज्नु पर्दछ । पश्चिमाहरुको संस्कृति हाम्रो भन्दा उल्टो छ । त्यो उनीहरु मान्न चाहँदैनन् ।

हाम्रो देशका केही विज्ञहरुलाई किनेर उनीहरुको अनुकुल दर्शनको व्याख्या गर्न लगाएर हामीलाई नै भ्रममा पारिरहेका छन् । हाम्रो समाज अर्थतन्त्रमा मजबुद नभएको समाज भएकाले आर्थिक रुपमा सम्पन्न मुलुकले यहाँको धर्म, संस्कार र संस्कृति माथि प्रहार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: