१० करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा « Nagarik Khabar

१० करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा



काठमाडौं । काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले नौ करोड ९५ लाख ६२ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको भन्दै विभागले गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ छ करोड ३५ लाख ६३ हजार रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै रु २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: