कार्ड भुक्तानीमा भ्याट फिर्ता समस्या « Nagarik Khabar

कार्ड भुक्तानीमा भ्याट फिर्ता समस्या



काठमाडौं । बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ ।

विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

कार्ड भुक्तानीका लागि प्रयोग गरिने पोस मेसिनमा प्रयोग हुने सफ्टवेयर अन्तर्राष्ट्रिय मापदण्डको हुने तर त्यस्तो मेसिनबाट बिललाई परिमार्जन गरी पठाउन नसकिने भएकोले तत्कालका लागि यो प्रणाली व्यावहारिक नभएको निष्कर्षको टोलीको छ ।

अध्ययन टोलीले यही निष्कर्षसहितको प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयलाई पेस गर्ने प्रक्रियामा छ ।

प्रतिवेदनअनुसार भ्याटको दस प्रतिशत रकमले फिर्ता क्रेडिट कार्ड र प्रिपेड कार्डमा कुन खातामा फिर्ता गर्ने भन्ने समस्या छ । त्यस्तै बिक्रेताको बिलिङ प्रणाली र पोस मेसिनबीच कारोबार हुँदा त्यस्तो कारोबारको एकीकृत प्रणाली नभएकोले बैङ्कमा कारोबारसम्बन्धी विवरण नहुने अर्को व्यावहारिक समस्या प्रतिवेदनले देखाएको छ ।

पोस मेसिनबाट भुक्तानी गर्दा ग्राहकको खाताबाट रकम घट्ने मात्र प्रणाली प्रचलनमा रहेकाले भ्याट फिर्ताबापतको रकम उक्त मेसिनबाट जम्मा गर्न नसकिने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: